२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

चिनियाँ सेनासँगको भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु

काठमाडौं- भारतको लद्दाखमा चिनियाँ सैनिकसँग भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको छ।

भारतीय सेनाले मंगलबार राति जारी गरेको वक्तव्यअनुसार चिनियाँ सेनासँग सोमबार राति भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकको मृत्यु भएको छ। शून्य डिग्री सेल्सिअसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा लागेका चोटका कारण उनीहरूकाे मृत्यु भएको बताइएको छ।

यसअघि मंगलबार गलवान क्षेत्रमा भएको भिडन्तमा एक कर्नेलसहित तीन भारतीय सैनिकको ज्यान गएको भारतीय सेनाले पुष्टि गरेको थियो। 

मृत्यु हुनेमा १६ बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्नेल बी सन्तोष बाबु, ८१ फिल्ड रेजिमेन्टका हवलदार के पलानी र १६ बिहार रेजिमेन्टका सिपाही सुनिलकुमार झा रहेको समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ। 

योसँगै उक्त घटनामा ज्यान गुमाउने भारतीय सैनिकको सङ्ख्या २० पुगेको छ।

चिनियाँ पक्षबाट भारतीय सेनासँग भएको हिंसात्मक भिडन्तमा आफ्ना कति सैनिक हताहत भए भन्नेबारे कुनै विवरण सार्वजनिक भएको छैन।

लद्दाखमा भारतले निर्माण गरेको एउटा सडकबारे चीनले आपत्ति जनाएपछि दुवै पक्षबीच विवाद उत्पन्न भएको हो।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सैनिकले सीमा नाघेर चिनियाँ सैनिकलाई आक्रमण गरेका कारण दुई पक्षबीच गम्भीर शारीरिक संघर्ष भएको बताएका छन्।

चीनले आफ्नो पक्षमा भएको क्षतिको पुष्टि नगरे पनि भारतीय सेनाले चिनियाँ सैनिक पनि हताहत भएको दाबी गरेको छ।

भारतीय पक्षले भने केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको दाबी गरेको छ।

चीनको ग्लोबल टाइम्स पत्रिकाका अनुसार चिनियाँ विदेश मन्त्रालयले विद्यमान विवाद वार्ताबाट समाधान गर्न दुवै देश तयार भएको जनाएको छ।

भारतीय सेनाको वक्तव्यमा गलवान इलाकामा अहिले संघर्षविराम भएको पनि उल्लेख छ।

विवाद कहिलेदेखि

भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव छ। सन् १९६२ मा भएको युद्धमा भारतले नराम्रो पराजय व्यहोर्नु परेको थियो । 

त्यसपछि सन् १९७५ मा अरुणाचल प्रदेशको सीमा क्षेत्रमा भएको झडपमा चार भारतीय सैनिक मारिएको घटनापछि चीन-भारत सीमामा भारतीय सैनिक मारिएको यो पहिलो घटना हो ।

चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र हडपेको भारतीय पक्षकाे आरोप छ। सीमा विवादबारे दुई देशबीच तीन दशकमा पटकपटक वार्ता भए पनि समाधान निस्किएको छैन।

गत मेमा दुई देशका सेनाबीच सिक्किमको सीमामा पनि भिडन्त भएको थियो।

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०७७ असार ३

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP