धनगढी – धनगढीमा आयोजना हुने ‘सातौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ अन्तर्गत वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको छ।
छनोट समितिका अनुसार पुरुषतर्फ राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी, राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर हेमन्त धामी र भारोत्तोलक अशोक भण्डारी मनोनयनमा परेका छन्।
महिलातर्फ दृष्टिविहीन क्रिकेट खेलाडी पुनम चौधरी, कबड्डी खेलाडी मानमती बिष्ट र फुटबल खेलाडी मीना देउवा मनोनयनमा परेका छन्।
दृष्टिविहीन क्रिकेट खेलाडी पुनम चौधरी पहिलो महिला टी–२० दृष्टिविहीन क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोलीकी सदस्य हुन्। कबड्डी खेलाडी मानमती बिष्टले चीनमा सम्पन्न छैटौं बीच एसियन गेम्समा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउने टोलीको कप्तानी गरेकी थिइन्।
यस्तै, फुटबलर मीना देउवाले साफ यू–२० महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा ७ गोल गरेकी थिइन्। उनले प्रतियोगितामा संयुक्त सर्वाधिक गोलकर्ताको कीर्तिमानसमेत बनाएकी हुन्।
यसअघि नै आयोजकले वर्ष प्रशिक्षक, वर्ष युवा खेलाडी तथा सुदूरपश्चिम आइकन (पुरुष र महिला) विधाका मनोनयन पनि सार्वजनिक गरिसकेको छ।
वर्ष प्रशिक्षकतर्फ क्रिकेटका धिरेन्द्र चन्द, कबड्डीका विष्णुदत्त भट्ट र भारोत्तोलनका जीवन गौतम मनोनयनमा छन्। वर्ष युवा खेलाडी विधामा एथलेटिक्सका वीरेन्द्र नाथ, कबड्डीका सुशील चुनारा र एथलेटिक्सकी संगीता बिक मनोनयनमा परेका छन्।
सुदूरपश्चिम आइकन पुरुष विधामा क्रिकेटका नारायण जोशी, भारोत्तोलनका अशोक भण्डारी र सुटिङका सुनिल चन्द मनोनयनमा छन्। आइकन महिला विधामा कबड्डीकी दीपा देउवा, एथलेटिक्सकी पूजा साउद र तेक्वान्दोकी दीपा जैसी मनोनयनमा परेका छन्।
सातौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) रहेको छ भने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवर्द्धकका रूपमा रहेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ।
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...