२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

विद्यालयमा शिखर सरकार : समस्या माथि प्रतिबद्धता

केदारेश्वर माविमा आयोजित अभिभावक भेला तथा शैक्षिक विमर्श मेला

दिपायल, जेठ २२ गते । “हाम्रो विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीहरुको सङ्ख्या धेरै छ, त्यो अनुसारको विद्यालय भवन, शौचालय र छात्रावासको व्यवस्था छैन । भएका केही संरचनाहरु जीर्ण छन्, चुहिने कक्षा कोठा भित्र बसेर पढ्नु पर्ने वाध्यता रहेको छ ।”

“हाम्रो विद्यालयको पढाई स्थर निकै राम्रो छ । गुरुहरुले एकदमै मेहनतका साथ पढाउनु हुन्छ । केही भौतिक संरचनाहरु पनि राम्रै छन्, केही भने अपुग छन् । साइन्स ल्याब, पुस्तकालय व्यवस्थित गर्न सकिएको छैन, खेल मैदानको अति आबस्यकता छ ।”

शिखर नगरपालिका – १ कपल्लेकीमा अवस्थित केदारेश्वर माध्यमिक विधालयमा अध्ययनरत छात्र रोशन आउजी र छात्रा शुभेच्छा शाहीले “अभिभावक भेला तथा शैक्षिक विमर्श मेला“मा राखेको समस्या हो यो । विद्यार्थीहरुले नगरपालिकाका नगर प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधि, अभिभावक र शिक्षकसहितको भेलामा विद्यालयको टड्कारो समस्या राखेका हुन् ।

जनप्रतिनिधि सहितको उपस्थितिमा राखिएको उक्त भेलामा अभिभावक तथा विद्यालय प्रशासनले पनि विद्यालयको टड्कारो समस्या राख्नु भयो । भेलामा विद्यालयको भौतिक समस्यासँगै शैक्षिक गुणस्तर सुधारका सम्बन्धमा छलफल भयो र समस्या साधनको बाटो पहिचान गरियो । जनप्रतिनिधिहरुले समस्या समधान गर्न प्रतिबद्धता व्यक्त गर्नु भयो ।

विद्यालयले शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायर, उपप्रमुख सुनिता रावल जोराको उपस्थितिमा शैक्षिक सत्र २०८२ को पहिलो अभिभावक भेला आयोजना गरेको हो । भेलाले विद्यालयका समस्या, शैक्षिक गतिविधिको यथार्त चित्रण गर्ने र तिनको समाधानका लागि मदत पुग्ने प्रधानाध्यापक गगन सिंह कार्कीले बताउनु भयो । समस्या र समस्या समाधान गर्ने निकाय एक ठाउँमा उभिए पछि विद्यालयको भौतिक तथा शैक्षिक स्थरसँगै विद्यार्थीहरुको क्षमतामा समेत सुधार हुने उहाँको विश्वास छ ।

बालबालिकाहरु अझै पनि चुहिने कक्षा कोठामा पढ्नु पर्ने बाध्यता रहेको भन्दै अभिभावक मन्नीराम नागरीले स्थानीय सरकारका जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउनु भयो । अर्का अभिभावक राधा भुत्यालले विद्यालयको घेरबार, छात्रावास, खेलमैदान, अधूरा भवनको निर्माण, पर्खाल निर्माण, पुस्तकालय, साइन्स ल्याब जस्ता थुप्रै समस्या रहेको बताउँदै तिनको समाधानका लागि विद्यालय व्यवस्थापन समिति, प्रशासन र स्थानीय सरकार जिम्मेवार भएर लाग्नु पर्ने बताउनु भयो ।

विद्यालय शिक्षक, अभिभावक, विधालय व्यवस्थापन समिति र विद्यार्थीहरुले विद्यालयको सर्वाङ्गीण विकास लागि नगर सरकारको ध्यानाकर्षण गराउनु भयो । सोही अवसरमा जनप्रतिनिधि सहितको टोलीले विद्यालयको अवलोकनसँगै समस्या समाधान तथा शिक्षक गुणस्तर सुधारका विषयमा गम्भीर छलफल गर्नु भयो । जनप्रतिनिधिहरुले विधालयको शैक्षिक गुणस्तर माथि उठाउन विद्यालय परिवार लाग्नु पर्ने बताउँदै अन्य सतहमा देखिएका स्मस्याहरुको समाधान तथा व्यवस्थापनका लागि आफूहरु तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नु भयो ।

नगर प्रमुख दीर्घ बहादुर बलायरले नगरको सबै भन्दा बढी लगानी शिक्षामा लगाउँदै आएको र शैक्षिक गुणस्तर सुधार पहिलो प्राथमिक रहेको बताउनु भयो । “शैक्षिक गुणस्तर सुधार हाम्रो पहिलो प्राथमिकता र अहिलेको आवश्यकता हो ।, तसर्थ हामीले निर्वाचित भए लगत्तै शिक्षालाई विशेष प्राथमिकतामा राखेका छौं,“उहाँले भन्नु भयो,“नगरलाई शैक्षिक हबका रूपमा विकास गर्ने हाम्रो लक्ष छ । नगरका २ वटा विद्यालयमा नमूना विद्यालयमा पर्न सफल भएका छन् । हामीले विद्यालय स्थरमै पुगेर शैक्षिक सुधारमा योजना लागू गर्दै आएका छौं त्यसै अन्तर्गतको यो एउटा कार्यक्रम हो । हामी अन्य विद्यालयमा पनि यसै गरी कार्यक्रम गर्दै आएका छौं ।“

शिखर नगरपालिकाको शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको नगर उपप्रमुख सुनिता रावल जोरले बताउनु भयो । उहाँले विद्यालय समायोजन, शिक्षक दरबन्दी मिलान, शिक्षक सम्मेलन, विद्यालय शैक्षिक सुधार कार्यक्रम, विद्यालयमा जनप्रतिनिधि, विद्यार्थी, अभिभावक, शिक्षकसँग जनप्रतिनिधि लगायतका थुप्रै कार्यक्रम गर्दै आइरहेको बताउनु भयो ।

शिखर नगरपालिकाले विद्यालयको समस्या पहिचान गर्दै समाधानको उपाय खोज्दै आइरहेको छ । विकास निर्माणको काम आज गर्यो भोलि भत्किन्छ तर, शिक्षामा लगाएको लगानी कहिले पनि खेर जाँदैन । त्यसैले हामी शिक्षालाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेका छौं,“उपप्रमुख रावलले भन्नु भयो ।

 

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०८२ जेष्ठ २२

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP