२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

शिखरमा नसर्ने रोगहरुको पहिचान गर्न एक महिने अभियान सञ्चालन

दिपायल- शिखर नगरपालिकामा नसर्ने रोगहरुको पहिचान गर्नका लागि एक महिने अभियान सञ्चालन गरिएको छ । शुक्रबार बारपाटा स्वास्थ्य चौकीबाट अभियानको सुरुवात गरिएको हो ।

शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले अभियानको सुरुवात गरेका हुन् । नसर्ने रोगहरुको रोकथाम, प्रारम्भिक पहिचान, र व्यवस्थापनका लागि अभियान सञ्चालन गरिएको हो । शुक्रबारबाट सुरु भएको अभियान एक महिना सम्म सञ्चालन हुने छ ।

शिखर नगरपालिका अन्तरगतका ९ वटा स्वास्थ्य चौकी, २ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र, २ वटा सहरी स्वास्थ्य क्लिनिकबाट रोगहरुको परीक्षण सुरु गरिएको हो । नगरका ११ वटै वडाहरु एक महिनासम्म अभियान सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख बल बहादुर खत्रीले बताए ।

नगरका ३० वर्ष माथि उमेर भएका सबै व्यक्तिहरुले पायक पर्ने स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराउन सक्नेछन् । अभियानका क्रममा नसर्ने रोगहरू(मधुमेह, उच्च रक्तचाप र मृगौला रोग) को पहिचान, स्वास्थ्य परामर्श दिइनुका साथै आवश्यकता अनुसारको औषधी उपलब्ध गराइने छ ।
अभियानको थालनी गर्दै नगर प्रमुख बलायरले नगरवासीहरुलाई यो अभियानलाई अवसरकारुपमा लिएर आ–आफ्नो स्वास्थ्य जाँच गराउन अनुरोध गरेका छन् । “स्वास्थ्य स्वस्थ भयो भने परिवारमा सुख, सहज हुन्छ । परिवारमा शान्ती हुन्छ,‘उनले भने,‘ नजिकको स्वास्थ्य संस्थामा गएर सबैले पटक–पटक स्वाथ्य जाँच गराउन जरुरी छ । यस पटकको अभियान देखि स्वास्थ्य परीक्षण गर्ने बानीको विकास गरौं ।”

नगर प्रमुख बलायरले शिखर सरकारले जनस्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेको बताउँदै स्वास्थ्य सेवा लाई थप प्रभावकारी बनाउन स्वास्थ्य संस्थाहरुमा थप सेवा विस्तार गर्दै आइरहेको बताए ।

यस अभियानले स्वास्थ्य संस्थाहरुमा विद्यमान स्वास्थ्यकर्मी र औषधि– उपकरणहरुको समुचित प्रयोग गरी मधुमेह, उच्च रक्तचाप र मृगौला सम्बन्धि रोग एबम शरीरको उचाई र तौलको अनुपात समयमा नै पहिचान गरि उल्लेखित नसर्ने रोगहरुको रोकथाम तथा समयमै व्यवस्थापन गर्ने उद्देश्य राखेको छ । त्यसैगरि यो अभियानले सबै स्वस्थ रहन स्थानीय समुदायमा नसर्ने रोगको प्रमुख जोखिम तत्वहरु जस्तै मोटोपना, धुम्रपान तथा मध्यपान नियनत्रण र नुनको अत्याधिक प्रयोगमा कमि ल्याउन मद्दत गर्ने आशा गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थाहरुबाट यो अभियान सञ्चालन गर्न निर्देशन गरेको छ ।

 

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०८१ फाल्गुन ९

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP