२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

लकडाउनमा जोरायल सरकारको “ठुम्का” (भिडियो सहित)

डोटी । जोरायल गाउँपालिका समय–समयमा विवादित बन्दै आएको छ । जोरायल सरकारका अध्यक्ष नै विभिन्न विवादित मुद्धामा मुछिदै आएका छन् । अध्यक्षको अनौठो हर्कतका कारण जोरायल सरकारको नै आलोचना हुनेगरेको छ ।

कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले आह्वान गरेको लकडाउनका कारण विवाह, व्रतबन्द, भोजभतेर, कर्मकाण्ड, बैठक गोष्ठी जस्ता कार्यक्रमहरु नै प्रभावित बनेका छन् । संघ सरकारले यस्ता कार्यक्रमहरु गर्नै परे पात्लो उपस्थिति, निस्चित मान्छेको सहभागिता हुनुपर्ने उल्लेख गरेको छ ।

यो बेला सुदूरपश्चिम कोरोना भाइरसको उच्च जोखिममा परेको छ । नेपालमा भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । छिमेकी मुलुक भारतमा समेत भएको लामो लकडाउनका कारण रोजगारीको सिलसिलामा रहेका नेपालीहरु ठुलो समस्यामा परेकाछन् । भारतमा रहेका प्रवासीहरु परदेशमा भोक र रागले मर्नुभन्दा भनेर जोखिमको वास्ता नगरी स्वदेश फर्किने क्रमजारी छ । भारतमा रहेका सुदूरपश्चिमेलीहरु धमाधम स्वदेश फिर्ता भैरहेका छन् । प्रदश सरकार यस बिषयमा बेवारिस छ । स्थानिय सरकार जुरमुराएको अवस्था छ । सीमानाकामा आएर उद्धारका लागि आह्वान गरिरहेका आफ्ना नागरिकहरुलाई स्थानिय सरकारले सम्बन्धित पालिका भित्र्याउने देखि क्वारेण्टाइनमा राख्ने गरिरहेका छन् । सुदूरपश्चिममा हजारौंको संख्यामा प्रवासीहरु भित्रिएका छन् ।

तर जोरायल सरकार नेपाल सरकारले आह्वान गरेको लकडाउनको धज्जी उडाउँडै गाउँभरीका मान्छे जम्मा गरेर भोजभतेर सहित ठुम्का डान्स गर्न व्यस्त भएको भिडियो नै सार्वजनीक भएको छ । जसको चौतर्फि बिरोध भैरहेको छ । भिडियोमा गाउँपालिकाका अध्यक्ष दुर्गा ओझा, उपाध्यक्ष जमुना बोहरा, घण्टेश्वर माविका प्रअ सुनलाल थापा लगायत गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, नेकपाका केही स्थानिय नेता तथा कार्यकर्ता र केही स्थानियहरु गीत बजाउँदै ठुम्का डान्समा रमेको प्रष्ट देखिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

लकडाउनको उल्लङ्घन गर्दै गाउँपालिकाको वडा नं. ४ एकान्त मगरबस्ती सिराडमा पुगेर भोतभतेर सहित नाचेको भिडियो सार्वजनिक भएको छ । भिडियो जेठ ९ गते खिचिएको छ । यो कार्यक्रम वडा नं ४ का अध्यक्ष नन्दराज भट्टको डोजरले निर्माण गरेको सडक सिराडमा पुगेपछि खुसीयालीमा आयोजना गरिएको स्थानीयले बताएका छन् । सिराडमा कार्यक्रमको आयोजना गरिएको दिन भारतबाट आएका गाउँपालिकाका दर्जनौ ब्यक्तिहरु त्रिनगरभन्सार नाकामा भोकभोकै अलपत्र परेका थिए तर उता जोरायल गाउँपालिकाका अध्यक्ष लगायत जनप्रतिनिधीहरुको टोली ठुम्का डान्स गरिरहेको थियो ।

गाउँपालिकाका अध्यक्ष ओझाले स्थानियहरुले बोलाएपछि कार्यक्रममा सहभागि भएको बताए । उनले सार्वजनिक भएको भिडियो सामान्य भएको भन्दै त्यो दिन सम्म गाउँपालिका ग्रिन जोनमा रहेकाले लकडाउनको उलंघनले खासै फरक नपर्ने बताए ।

२० लाख बजेटको सो सडक योजनामा आफ्नो डोजरले प्रति घण्डा २ हजार ५ सय लिएर ३ हजार ८ सय मिटरबाटो काटेको वडाध्यक्ष भट्टले बताए । आफु त्यो कार्यक्रममा सहभागी नभएको बताउदै उनले सडक निर्माणमा उपभोक्ता समितिको माग अनुसार आफ्नो डोजर प्रयोग भएको बताए । वडाध्यक्ष भट्टले स्थानियले खुसियालीमा बोका काटेर कार्यक्रम गरेको बताउँदै आफु त्यो दिन खाइगाड तिर भएको र कार्यक्रममा सहभागी नभएको बताए ।

जोरायल सरकारको यस्तो हर्कतबारे सामाजिक सञ्जाल मार्फत चौतर्फी बिरोध भैरहेको छ । जोरायल गाउँपालिकाका स्थानिय तथा नेबि संघ डोटीका पूर्व अध्यक्ष सोपानसिंह बोहराले जोरायल सरकारको यस्तो हर्कत गैर जिम्मेवारपनको पराकाष्ठा भएको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै उनले लेखेका छन् छन्,“केन्द्र सरकार नेकपाकै, गाउँपालिका सरकार नेकपाकै, स्काइभेटर नेकपाकै, उधारोमा स्काभेटर चलाउने पनि नेकपाकै र मोज, भोज र डान्सपार्टी पनि नेकपाकै तर आम जनमानस कोरोनाको सिकार बन्ने सम्भावना ।”

बोहराले लेखेकाछन्,“महाशय, तपाईहरुलाई बाँच्न रहर छ वा छैन थाहा भएन तर आम जनमानसलाई बाँच्न पाउने अधिकारबाट त बञ्चित नगरिदिनुस् ।” बोहरा जस्तै थुप्रै व्यक्तिहरुले सामाजिक सञ्जालमा यस्तो कार्यको बिरोध गरेका छन् ।

जोरायल गाउँपालिकाको यो चौथो आलोचित चर्चामा रहेको काण्ड हो । यस अघि गाउँपालिकाका अध्यक्ष ओझाले आफु अभिनय गर्ने सर्तमा बिराज भट्टको चलचित्र ‘साङ्लो’ लाई गाउँपालिकाबाट १० लाख दिएको घटना पहिलो काण्डका रुपमा आलोचित भयो । दोस्रो काण्डका रुपमा गाउँपालिकालाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य आनन्द विष्टको पहलमा उपलब्ध भएको एम्बुलेन्स गाउँपालिकाले नाम प्रिन्ट भएको भन्दै अस्वीकार गरेको घटना रह्यो । गाउँपालिकाका अध्यक्षले फेसबुक च्याट मार्फत युवतीलाई पठाएको आफ्नै नग्न तस्विर तेस्रो काण्डका रुपमा आलोचित भयो भने लकडाउनका बीच यसरी भोजभतेर सहित डान्स गरेको भिडियो चौथो काण्डका रुपमा आलोचित भैरहेको छ ।

यी केही बढी नै आलोचना भएका घटनाहरु हुन् । यस बाहेक जोरायल गाउँपालिका विभिन्न मुद्धाहरु, निर्णयहरु, योजनाहरुले जोरायल सरकार आलोचित बन्दै आएको स्थानियहरुको आरोप छ ।

Related News

नेपाल र चीनबीच १२ बुँदे सम्झौता
नेपाल र चीनबीच १२ बुँदे सम्झौता
  • २०७७ जेष्ठ ११

काठमाडौ – नेपाल र चीनबीच विभिन्न विकास परियोजनाअन्तर्गत १२ वटा...

TOP