धनगढी– हाँस्ने खेल्ने १० वर्षको कलिलो उमेरमै विवाह बन्धनमा बाँधिएकी हिरादेवीले १५ वर्षकै उमेरमा श्रीमान् गुमाइन् । जो कसैलाई सुन्दै काल्पनिक कथा जस्तो लाग्ने उनेको यो भोगाई स्वयम उनीलाई पनि सपना जस्तो लाग्दो रहेछ ।
न उनलाई राम्ररी बिहे गरेको सम्झना छ न राम्रो सँग श्रीमान् बितेको पलको सम्झना नै । तर, पनि उनले भोगेको यो वास्तविक पीडापछि पाएको चोटै चोटले उनका ती काल्पनिक जस्ता घटनाले मनमा चित्र कोरिसकेका छन् ।
डोटीको दिपायल सिलगढी नगरपालिका – ३ खैरेतोला घर भएकी हिरादेवी खड्का हाल कैलालीमा घुमन्ते जस्तै जीवन बिताइरहेकी छिन । ‘आफ्नो केही पनि छैन । यहाँ कहिले कसै बहिनीको घरमा कहिले कसै बहिनीको घरमा बसिरहेकी छु’ ७० दशक पार गरिसकेकी उनले भनिन् ‘सम्पत्ति पनि केही छैन । मेरो श्रीमान् बितेपछि देवरले सबै आफ्नै सम्पत्ति हो भनेर बेचेर खाए । बाकी आफ्नै नाममा राखे । मलाई केही पनि दिएनन् ।’
बालकालैमा श्रीमान् बितेकाले जान्ने बुझ्ने उमेर भएपछि सम्पत्तिको हक दाबी गर्न पनि उनलाई त्यति बेलाको सामाजिक संस्कारले बोल्न रोक्यो । ‘उतीबेला सम्पत्तिमा दाबी गरे राडी (श्रीमान् नभएकी) मान्छे भनेर जो कोहीले तान्ने गर्दथे । यसरी दाबी गरे कोलाई पो तनाउने हुन भन्ने डरले दाबी गरेन’ उनले भनिन् । उति बेला श्रीमान् नभएकी एकल महिलालाई जो सुकैले तानेर लग्ने डर हुने गरेको उनी बत्ताउँछिन् ।
उनले घरको सम्पत्ति नपाएपछि पहाडमै बहिनीको जग्गामा सानो कुँडो (घर) बनाएकी थिइन । तर, त्यहाँ बस्दा बिरामी भएर उपचार गर्ने अवस्था नभएपछि बहिनीहरू तराइमा बस्ने भएकाले यता आएको उनले बताइन् ।
शनिवार चार बहिनी मध्ये गोदावरी नगरपालिका – ३ मालाखेतीमा बस्दै आएकी बहिनीको घरमा भेटिएकी उनले उपचारको आशामा यता आएको बताइन । उनले भनिन ‘आफू बिरामी भए । उपचार गर्ने कोही भएन । कोही उपचार गरिदिन्छन् की भनेर यहाँ आएकी हुँ । अहिले यतै चहारिन लागेकी छु । न घर बास छ, न खाने ठेगान छ ।’
उनी अहिले मुटुको जटिल समस्या सँग जुधिरहेकी छिन । असह्य भएपछि डेढ वर्ष अघि दिदीको सहयोगमा काठमाण्डौंमा उपचार गर्न गए पनि पूर्ण उपचार नपाउँदा समस्या अहिले पनि उस्तै छ । ‘मुटुको बिरामी भएको १ वर्ष भयो । मेरी दिदीकी छोरीकी नातिनीले उपचारका लागि एक वर्ष अगाडि काठमाण्डौं बोलाएकी थिइन । यहाँबाट एक्लै गएकी थिए । वहाँ उपचार गराए । फेरी आउनु भनेका थिए । अब को लगिदिने । जाने पैसा पनि छैन’ उनले भनिन् ‘घर पट्टी देवर पनि बितिहाले भतिजा पनि बिते । दुई साना नाति छन् । तिनले वास्ता गर्दैनन् । माइतपट्टि आमा बुवा छैनन् । ४ बहिनी मात्रै हौ । भाइ पनि छैनन् । मेरो कोही छैन ।’
उनले पछिल्लो समय भत्ता आउने भए पनि त्यसले औषधी किन्न पनि नपुग्ने बताइन् । ‘उनले भनिन ‘अहिले कहिले कसैको घर कहिले कसैको घर बस्ने गरेकी छु । भत्ता आए पनि त्यो दवाईको लागि पनि पुग्दैन । २ महिना एक बहिनीको घर २ महिना एक बहिनीको घर बस्दै आएकी छु । पहाडमा जान घर छैन । कोही सहारा गरिदिन्छन् की भनेर अहिले हार गुहार गरिरहेकी छु ।’
उनले सहयोगको लागि स्थानीय सरकार गुहारे पनि सहयोग नपाएको बताइन् । ‘सहयोगका लागि सबैतिर भने कसैले हेरेनन् । स्थानीय सरकारका वडा अध्यक्ष, मेयर सबैलाई भेटी उनीहरूले तम जस्ता एकल महिला कति पो छन् भने’ उनले भनिन् ‘म जसि एकल महिला कोही नहोलान् जसको अगाडि पछाडि केही छैन ।अरूका छोरा, छोरी होलान्, माइततिर भाइ होलान् मेरा त कोही छैनन् ।’
डेढ वर्ष अघि नै उनले उपचार सहयोगका लागि वडा कार्यालय गुहार्दा वडा कार्यालयले धनगढी स्थित सामाजिक विकास मन्त्रालयमा सहयोगको लागि सिफारिस गरेको पत्र थमाएको थियो । त्यसपछि कहाँ कसरी सहयोग लिने अन्योलमा परेकी उनी अहिले राज्यको पनि साथ नपाउँदा बिचल्लीमा परेकी छिन ।
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...