२०८२ जेष्ठ ३०, शुक्रबार
June 13, 2025, Friday

कालापानी क्षेत्रको लागि हिडेको सशस्त्र प्रहरी लिपुलेक भन्दा १२ किलोमिटर वरै बस्ने

दार्चुला– भारतले सीमा अतिक्रमण जारी राखेको बेला दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी इन्सपेक्टरको नेतृत्वमा २५ जनाको टोली आज खटाइँदै छ । सीतापुरमा रहेको सई नेतृत्वको नेपाल प्रहरीको टोलीलाई पनि छाङरूमा लगिँदै छ ।

छाङरू भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकभन्दा करिब १०–१२ किलोमिटर वरै पर्दछ ।

बन्दोबस्ती, खाद्यान्न र हातहतियारसहित उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरले छाङरूमा पुर्याउने छ । त्यसका लागि बुधबार बिहान गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापासहितको टोली नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंबाट दार्चुला प्रस्थान गरेको छ । सो हेलिकोप्टर दार्चुलाबाट इन्सपेक्टरसहितको टोलीलाई लिएर आजै छाङरू पुग्ने छ ।

छाङरूसम्म पुग्ने बाटो नभएकाले सेनाको हेलिकोप्टरबाट सशस्त्रको टोलीलाई लैजान लागिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । यसअघि गृह मन्त्रालयले सशस्त्रको टोली लैजान सेनाको हेलिकप्टर माग गरेको थियो ।

सीतापुर प्रहरीको टोलीलाई पनि स्थानान्तरण गरिने

प्रजिअ पौडेलले सशस्त्रको टोली राख्न छाङरूमा एउटा घर भाडामा लिइएको जानकारी दिए । उनले भने, ‘छाङरूमा बीओपी राख्न जग्गा लगायतको निर्णय पहिले नै क्याबिनेटबाट भएको थियो तर लकडाउनका कारण घर बनाउन सकिएन । घर नबनुन्जेलसम्मका लागि एउटा घर भाडामा लिएर काम चलाइएको छ ।’

सई नेतृत्वको १० सदस्यीय प्रहरी टोलीलाई पनि छाङरूमा लगिने छ । हाल सीतापुरमा बस्दै आएको प्रहरी टोलीलाई छाङरूमा स्थानान्तरण गर्न लागिएको हो ।

जाडोको बेला हिउँ परेर बस्न नसकिने भएकाले नेपाल प्रहरीको टोली छाङरूभन्दा तल सीतापुर भन्ने स्थानमा बस्दै आएको छ । अहिले हिउँ पग्लिएर बस्न केही सहज भएकाले सो टोलीलाई फेरि छाङरूमा स्थानान्तरण गर्न लागिएको प्रजिअ पौडेलले जानकारी दिए ।

लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आक्रोश बढेको छ ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ बैशाख ३१

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP