धनगढी– सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्कीले प्राकृतिक विपद् विस्थापितहरूलाई पुनःस्थापना गर्ने गरी सरकारले दीर्घकालीन योजना ल्याउने बताएका छन् ।
‘बाढी पीडित जनताका लागि आवश्यक राहत तथा अन्य कार्यक्रममार्फत सरकार जनताको समस्या समाधान गर्न प्रतिबद्ध छ’, सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशनमा बुधबार मन्त्री सार्कीले भने ।
उनले विपद् पीडितको राहत उद्धारका लागि संघीय सरकार, स्थानीय सरकार र विकास साझेदारसँग मिलेर काम गरिरहेको जानकारी दिए ।
‘राहत, उद्धारका लागि हामीसँग रहेको स्रोत, सामग्री जिल्ला विपद् व्यवस्थापन समितिमार्फत वितरण गर्दै आएका छौं’, विपद् विषय हेर्ने विभागीय मन्त्रीको हैसियतमा उनले भने, ‘विपद् पूर्वतयारी र प्रतिकार्य सम्बन्धमा भएका काम, कारबाही र आगामी योजनाका बारेमा जानकारी गराउने उद्देश्यले सीओपी बैठक नियमित रुपमा सञ्चालन हुने गरेको छ ।’
नेपाली कांग्रेस र नेकपा एमालेका एक तिहाइ बढी सांसदहरूले सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशन माग गरेपछि ८ साउनमा विशेष अधिवेशन प्रारम्भ भएको थियो ।
अधिवेशन प्रारम्भको सुरुवातमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रम सिंह धामी, नेकपा माओवादी केन्द्रका सांसद शिवसिंह वली, नागरिक उन्मुक्ति पार्टीका सांसद घनश्याम चौधरीले विपद्को बेवास्ता गर्दै सरकार सदन छलिरहेको आरोप लगाएका थिए ।
बुधबार नै अधिवेशनको अन्त्य भएको छ । आजको बैठकमा एमालेका तर्फबाट सांसद धर्मराज पाठक, कांग्रेसका तर्फबाट प्रमुख सचेतक विक्रम धामी र बेलबहादुर रानालगायतले विपद्मा परेका प्रदेशवासीलाई तत्काल राहत र उनीहरूलाई सुरक्षित आवास व्यवस्थापनको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री सार्कीले त्यसको जवाफ दिएका थिए । सभामुख भीमबहादुर भण्डारीले बाढी पीडितहरूलाई तत्काल राहत दिन र उनीहरुको यथोचित व्यवस्थापनमा ध्यान दिन सरकारलाई निर्देशन दिएका थिए ।
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...