२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

मनसुन देशभर फैलिन कति दिन लाग्छ ?

काठमाडौं– मौसमविद्का अनुसार बर्खायाम लगाउने मौसम प्रणाली ‘मनसुन’ नेपाल भित्रिसकेको छ तर पूर्वी क्षेत्रमा मात्र।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार मनसुन सोमबार कोसी प्रदेशको पूर्वी क्षेत्रमा प्रवेश गरेको हो। अहिले त्यसयता पश्चिमतर्फ मनसुनी प्रणालीको प्रभाव छैन।

मौसम महाशाखाका अनुसार हाल पूर्वी भेगमा मात्र मनसुनी प्रणालीको प्रभाव छ भने देशका बाँकी स्थानमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ।

नेपालमा मनसुन जहिले पूर्वबाट भित्रिन्छ र बिस्तारै पश्चिमसम्म फैलिन्छ। अहिले मनसुन कोसी प्रदेशको पनि पूर्वी भागमा मात्र सीमित भएकाले त्यसयता मौसम बदली र वर्षाको सम्भावना कमै देखिएको छ। जसका कारण पश्चिम तराईमा अत्यधिक गर्मी भइरहेको मौसमविद् झा बताउँछन्।

त्यसो त काठमाडौँ उपत्यकामै पनि गर्मी भइरहेको छ। सोमबार यहाँको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस मापन भएको छ।

‘मनसुनको प्रभाव परेकाले विराटनगरमा भने तापक्रम कम भइसकेको छ’, मौसमविद् झाले भने, ‘त्यहाँ सोमबार अधिकतम तापक्रम काठमाडौँको भन्दा कम ३३.६ डिग्री सेल्सियस मापन भएको छ।’

उनका अनुसार मनसुनी प्रणालीको प्रभाव नआउँदासम्म पश्चिमी तराईमा भने अझै केही दिन गर्मी नै रहने अनुमान छ।

मौमसविद् झा भन्छन्, ‘ठ्याक्कै यति दिनमा भन्न त गाह्रो हुन्छ तर विगतका वर्षको तथ्यांक हेर्ने हो भने ५ दिनदेखि ७ दिनसम्ममा मनसुन देशभर फैलिएको पाइन्छ। तर यसभन्दा केही अघिपछि पनि हुनसक्छ। मनसुन थप क्षेत्रमा विस्तार हुनासाथ हामी बुलेटिन जारी गरेर जानकारी गराइहाल्छौँ।’

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ जेष्ठ २९

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP