धनगढी । सुदूरपश्चिम प्रदेशमा मन्त्रालय थप्ने विषयमा सत्तारुढ दलभित्र सहमति हुन नसक्दा सरकार विस्तारमा ढिलाई भएको छ ।
सत्तारुढ दलहरुबिच मन्त्रालय बाँडफाँडमा सहमति भएपनि मन्त्रालय फुटाउने विषयमा सहमति हुन नसक्दा सरकार विस्तारमा ढिलाई भइरहेको हो ।
सत्तारुढ दलहरुमा मन्त्रालय भागबण्डामा सहमति भएपछि मुख्यमन्त्री सोडारीले मन्त्रालय फुटाउनेमा सहमतिको प्रयास जारी राखेका छन् । गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियूक्त सोडारीलाई एमाले र नेकपा माओवादीको सहयोग नहुँदा मन्त्रीमण्डल विस्तार गर्न कठिनाई भइरहेको थियो ।
नेकपा एमालेले तीन र नेकपा माओवादी केन्द्रले दुई मन्त्रालय लिने सहमति भएपछि मुख्यमन्त्री सोडारीले मन्त्रालय फुटाउने योजना लिएको जनाइएको छ । तर, सत्तारुढ दलभित्रका केही साँसदहरुले मन्त्रालय थप्दा आर्थिक भार बढ्ने भन्दै विमति राखेका छन् । सत्तारुढ दलमा मन्त्री बनेका नागरिक उन्मुक्ति पार्टीका भौतिक पूर्वाधार मन्त्री कैलाश चौधरीले आर्थिक भार बढाउने गरि मन्त्रालय थप्ने विषयमा सहमति नरहेको बताए ।
सत्तारुढ दललाईनै समर्थन गरेका स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशीले पनि मन्त्रालय फुटाएर सरकारमा जाने पक्षमा आफु नरहेको बताए । जोशीले आर्थिक मामिला मन्त्री बन्न इच्छा व्यक्त गरेका थिए । तर, सत्ता गठबन्धन दलभित्र अहिले सो मन्त्रालय नेकपा एमालेले लग्ने सहमति भएको छ ।
अहिले नेकपा माओवादी केन्द्रले सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने भएको छ भने तीन मन्त्रालय पाएको एमाले र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीलाई सरकारमा ल्याउन एक मन्त्रालय फुटाउनुपर्ने बाँध्यता रहेको छ ।
नेकपा एमालले आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउने छ भने भौतिक पूर्वाधार मन्त्रालयलाई फुटाएर सिंचाई, खानेपानी र उर्जा मन्त्रालय बनाइने भएको छ ।
एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा बीर बहादृर थापा, सुरेन्द पाल र हिरा सार्कीको चर्चा रहेको छ भने नेकपा माओवादी केन्द्रबाट ओमविक्रम भाट र अक्कल रावल मन्त्री हुने सम्भावना रहेको छ ।
माओवादीले पाउने सामाजिक विकास मन्त्रालयमा भाट र वन, पर्यटन र उद्योग मन्त्रालयमा रावललाई पठाउने तयारी छ । माओवादीबाट सरकारमा पठाउँदा पार्टीले एक जना महिलालाई मन्त्री बनाउने चर्चा गरिएको भएपनि अन्तिममा दुई जना पुरुषनै पार्टीले नाम टुङ्गो लगाएको छ ।
मन्त्रालय थप्ने विषयमा सहमति जुटेमा आजै प्रदेश सरकार विस्तार गर्ने सम्भावना रहेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सचिवालयका अनुसार अहिले सरकार बजेट तयारीमा जुटिरहेकाले सरकार विस्तारमा ढिलाई भइरहेको छ । सचिवालयले भन्यो –‘सरकार विस्तारमा कुनै समस्या छैन । सबै ध्यान बजेट तयारीमा रहेकाले केही ढिलाई हुन गएको हो ।’
दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...