२०८१ आश्विन १, मंगलवार
September 17, 2024, Tuesday

भु–स्वर्ग खप्तडबाट रक्तदान गर्न आह्वान

समुद्र सतहबाट ३२०० मिटरको उचाइमा रहेको खप्तड क्षेत्रमा रक्तदान गर्दै रक्तदाता


दिपायल, जेठ ५ गते । भु–स्वर्गका रुपमा परिचित पर्यटीयस्थल खप्तड राष्ट्रिय निकुञ्जबाट रक्तदान गर्न आह्वान गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजले खप्तडमा रक्तादान कार्यक्रमको आयोजना गर्दै १८औं वर्षको जन्मोत्सवसँगै रक्तदानको शुभारम्भ गर्न आह्वान गरेको हो ।

समाजले खप्तडमा शनिबार केन्द्रीय कार्यसमितिको पाँचौ बैठक आयोजना गरेको हो । डोटी शाखाको आथित्यतामा आयोजित उक्त बैंठकसँगै चार जनाले रक्तदान गर्नु भएको हो । समुद्र सतहबाट ३२०० मिटरको उचाइमा पहिलो पटक रक्तदान गरिएको समाजका केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक शतक रक्तदाता प्रेमसागर कर्माचार्यले बताए ।

“केन्द्रीय समितिको पाँचौ बैठकका अवसरमा हामीले भु–स्वर्ग खप्तडमा रक्तदान गरेका छौं । नेपालमा समुद्र सतहबाट ३२०० मिटरको उचाइमा गरिएको यो पहिलो रक्तदान हो,“अध्यक्ष कर्माचार्यले भने,“यहाँ गरिएको रक्तदानले स्वस्थ व्यक्तिले जुनसुकै ठाउँबाट पनि सहजै रक्तदान गर्नसक्छ भनेर प्रमाणित गर्दछ र रक्तदानका लागि सबैलाई प्रेरित गर्नेछ ।”

रक्तदान गर्नु प्रत्यक स्वस्थ व्यक्तिको सामाजिक दायित्व र कर्तव्य भएको बताउँदै अध्यक्ष कर्माचार्यले १८ वर्षको जन्मोत्सवकै दिनदेखि रक्तदान गर्न आह्वान गरे । निःशुल्क रगत पाउनु पीडितपक्षको नैसर्गिक अधिकार भएकाले आफुहरुले अभियान नै सञ्चालन गरेर दाताहरुलाई प्रेरित गरिरहेको उनले बताए ।

कार्यक्रममा समाजका केन्द्रीय सदस्यहरु गोविन्द वाग्ले, प्रेम लम्साल, विमल भित्रकोटी र शिखर नगरपालिकाका पूर्व नगरप्रमुख सिताराम जोशीले रक्तदान गर्नु भएको नेपाल स्वयंसेवी रक्तदाता समाज डोटीका अध्यक्ष शुशिल घर्तीले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेस डोटीका सभापति नरेन्द्र बहादुर सिंहले रक्तदाता समाजले ऐतिहासिक खप्तड क्षेत्रमा महत्वपूर्ण कार्यक्रम रक्तदान कार्यक्रम गरेर सुदूरपश्चिमको पर्यटकीय क्षेत्र प्रवर्द्धन गरेकोमा आभार प्रकट गरे ।

Related News

रास्वपाको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै
रास्वपाको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै
  • २०८१ जेष्ठ ५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला...

TOP