२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

गौणा (राजधानी) गुमाएको सञ्चित पीडा डेउडामा


दिपायल – बाइसे-चौबीसे राज्यकाल देखाएको ऐतिहासिक र न्यायिक अड्डा रहेको “डोटी गौणा” गणतन्त्रमा गुमाएको सञ्चित पीडा पोखिएको डेउडा गीत सार्वजनिक भएको छ । पत्रकार पवन महराको शब्द सिर्जना रहेको उक्त डेउडा गीत बसिबियालो म्युजिक प्रालीको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

गीतमा गायक शेर साउँद र गायिका कृष्णा बजगाईंको आवाज रहेको छ ।  “गौणा लैग्यो, अड्डा लैग्यो” नामक उक्त गीतमा गायक साउँदकाे लय रहेको छ । गीतमा राज्य र नेताहरुले डोटीलाई अन्याए गरेको र अधिकार खोसेको उल्लेख छ। साविकको क्षेत्रीय सदरमुकाम समेत रहेको दिपायलबाट कैलाली राजधानी सारिएको घटनालाई गीतमा प्रस्तुत गरिएको छ।

२०७४ पुस देखि माघ महिनासम्म करिब दुई महिना सुदूरपश्चिमकाे राजधानी दिपायल कायम हुनुपर्ने माग राख्दै विभिन्न दबाबमुलक आन्दोलन चलेको थियो । सोही आन्दोलनका क्रममा पत्रकार पवन महराले छायांकन गरेका दृश्यहरु भिडियोमा समावेश गरिएको छ।

दिपायल राजधानी तोक्न दबाब दिँदै २०७४ पुस महिना देखि डोटीमा दबाबमुलक कार्यक्रम सञ्चालनमा रहेका थिए । सोही क्रममा २०७४ माघ ३ गते तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले कामकाज गर्न सहज हुने भन्दै कैलालीको धनगढीमा अस्थायी मुकाम तोकेको थियो। त्यस लगत्तै आन्दोलन कडाइका साथ चर्किएको थियो ।
पत्रकार एवं साहित्यकार पवन महराले २०७४ पुस ३ गते प्रदेश राजधानी तोक्न ‘रचनात्मक’ दबाब दिन साहित्यकारहरू भेला गरेर “सडकमा साहित्य” नामक कार्यक्रम सञ्चालन गरेका थिए। त्यस पश्चात डोटी उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष नरेन्द्र खड्काले आन्दोलनको नेतृत्व गरेका थिए ।

डोटीबाट माओवादीका तर्फबाट प्रदेश सभा “ख” बाट विजयी भएर तत्कालिन सरकारमा मुख्यमन्त्री पद सम्हालेका त्रिलोचन भट्ट नेतृत्वको सरकारले प्रदेश सभाको ४६औं बैठकबाट बहुमत जुटाई स्थायी राजधानी कैलालीको गोदावरी तोकेपछि आन्दोलनले उग्र रुप लिएको थियो । त्यस क्रममा दर्जनौं व्यक्तिहरू घाइते भएका थिए। तत्कालीन प्रदेश सरकारले राजधानी तोकेको गोदावरीमा हालसम्म राजधानीका लागि कुनै संरचना निर्माण हुन सकेको छैन। हाल अस्थायी मुकाम तोकिएको धनगढीबाटै प्रदेश सरकार सञ्चालनमा छ।  पछिल्लो समय प्रदेश सभामा राजधानी अन्यन्त्र सार्नु पर्ने विषय उठ्दै आएको छ। डोटी प्रदेश सभा “ख” बाट निर्वाचित शिव सिंह ओलीले प्रदेश राजधानी दिपायलमै तोक्नु पर्ने माग राख्दै आएका छन् ।


गीतकोे एरेन्ज, रेकर्डिङ तथा मिक्सिङ्ग कृष्ण बाजुरालीको रहेको छ। द ऐरा रेकर्डिङ्ग स्टुडियो र कुसुम डिजिटल रेकर्डिङ्ग स्टुडियोमा अडियो रेकर्ड गरिएको थियो । म्युजिक भिडियोमा हेमन्त राईले कैद गरेका ड्रोन दृश्य समावेश छन् । भिडियो सम्पादन बाबा स्टुडियोका फिल बाबा र अमित नेपालीले गरेका हुन् ।

गौणा गुमाउँदाका सञ्चित पीडा, इतिहास मेटिएको इतिहास र डोटीमा संचालित आन्दोलनलाई इतिहासका रूपमा सुरक्षित राख्न देउडा गीत सार्वजनिक गरिएको गायक साउँदले बताए ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० चैत्र ३

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP