२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

महोत्तरीमा १० दिनमै ११ जनाको मृत्यु, मृत्युको कारण नखुल्दा गाउँले त्रसित

महोत्तरी : महोत्तरीको बिजलपुरा र मेधनाथ गोरहन्नामा १० दिनमा ११ जनाको मृत्यु भएपछि त्रास फैलिएको छ। मृत्युको कारण भने खुल्न सकेको छैन। कोरोना भाइरसको महामारीको समयमा शनिबार राति २ बजेतिर भंगहा नगरपालिका-६ जमुनियाँका पल्ट साहको मृत्यु भएसँगै रहस्यमय तरिकाले मृत्यु हुनेको संख्या ११ पुगेको हो।

गाउँमा धमाधम मानिसहरुको मृत्यु भएपछि स्थानीयहरु त्रसित भएका छन् भने गाउँ शोकमा डुबेको छ। बैशाख १० गते यता बर्दिबास नगरपालिका -१२ स्थित बिजलपुराको जुरीटोल र अहिमान टोलमा ४ जनाको मृत्यु भएको छ। त्यसैगरी भंगहा नगरपालिका-६ हत्तिसर्वाको जमुनियाँ र  वडा नम्बर-७ को मेघनाथ गोरहन्नामा ७ जनाको मृत्यु भइसकेको छ।
कमाएर दैनिक गुजारा गर्दै आएका उनीहरुको के कारणले मृत्यु भयो ? भन्ने  प्रष्ट छैन। मृत्यु भएकाहरुमा अचानक पेट दुख्ने, श्वास लिन ग्राहो हुने, बान्ता र झाडापखाला लाग्ने लक्षण देखा परेको छ। कतिको राति ओछ्यानमै सुतेको अवस्थामा मृत्यु भएको छ भने कतिको उपचारकै क्रममा ज्यान गएको हो। 

लकडाउनका बेला अज्ञात रोगबाट मृत्यु भएको भन्दै गाउँले त्रसित बनेका छन्। स्थानीय केही व्यक्तिले बिषाक्त मदिरा पिएर मृत्यु भएको बताउँछन्। तर, मदिरा नपिएकाहरुको पनि ज्यान गएकोले अरु कुनै रोगको संक्रमण भएको हुन सक्ने  उनीहरु बताउँछन्। मृत्युको कारण खोज्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणी पोखरले गाउँ पुगेका छन्। उनको साथमा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, एसपी श्याककृष्ण अधिकारी,  जिल्ला अस्पताल जलेश्वरका डा. राजिब झा लगायत छन्। मन्त्री पोखरेलले स्वास्थ्य मन्त्रालयले जानकारी गराएर घटनाको अध्ययन गर्न टोलीसमेत घटनास्थल आएको बताए। मानिसहरुको मृत्युको कारण खोज्दैं गाउँ पुगेका शिक्षा मन्त्री।

‘सुरुका लासहरु जलाइसकेको कारणले अध्ययन हुन पाएको छैन। पछिल्ला मृत्यु भएका मानिसहरुको पोष्टमार्टम गरिएको छ,’मन्त्री पोखरेलले भने,‘भिसेरा परीक्षणका लागि पनि पठाइएको छ। स्वाब टेष्ट पनि भएको छ।’ कोरोनाको कहर बीच मजदुरको मृत्युको कारण नखुलेपछि काठमाडौंबाट जाँचबुझका लागि जिल्ला आएको उनले बताए।
पछिल्लो पटक ज्यान गएकाहरुको स्वाब र भिसेराको परीक्षण गरिदैं छ। रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक गिरेन्द्र झाले बताए। मलेरियाबाट पनि एक जनाको मृत्यु भएको उनले दाबी गरे।

 स्वास्थ्य सेवा विभागसँग समन्वय गरेर घटनाको अध्ययन गर्न काठमाण्डौंबाट डाक्टरहरुको टोली महोत्तरी आएको छ। मृत्यु भएका नागरिकका परिवारहरुसँग घरघर पुगेर घटनाको अध्ययन गरिने छ। 
‘वरिपरी पनि कुनै संक्रमण छ कि त्यो कोणबाट पनि जाँच गर्नुपर्छ। परिस्थितिलाई हेरेर हामी गम्भीर छौं,’मन्त्री पोखरेलले अन्नपूर्णसंग भने,‘ एकपछि अर्को मानिसको मृत्यु संयोग मात्र हो कि कुनै संक्रमण फैलिएको हो भन्ने कुराको पुष्टि अध्ययन नभइकन भन्न सकिदैंन।’ अध्ययनपछि पत्ता लगाउने र समाधानका उपायहरु खोजिने मन्त्री पोखरेलले बताए। http://annapurnapost.com


Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०७७ बैशाख २०

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP