२०८१ आश्विन ४, शुक्रबार
September 20, 2024, Friday

संस्थागत विकासका लागि तत्पर छु : नगर प्रमुख खड्का

दिपायल – दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्का (विजय) ले जिल्लाका सामाजिक तथा व्यवसायिक संघ संस्थाहरुको संस्थागत विकासका लागि आफू सधै तत्पर रहेको बताएका छन् । होटल व्यवसायी संघ डोटीले दिपावलीको अवसर पारेर दिपायलमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

“व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर जिल्लाको नगरको र समाजको हित हुने काम गर्छु भन्ने व्यक्ति, समूह र संस्थालाई आर्थिक, नैतिक, भौतिक र व्यावहारिक सबैखाले सहयोग गर्न तयार छु,”नगर प्रमुख खड्काले भने ।”

होटल व्यवसाय जिल्ला र नगरको विकासे मेरुदण्ड हो,”उनले भने,” व्यवसायीले जोखिम मोलेरै भए पनि राज्यलाई कर तिर्नु भएको छ । पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पु-याउनु भएको छ । व्यवसायीक र सामाजिक संस्थागत विकास गर्नु हाम्रो पनि कर्तव्य हो । म संस्थागत विकासका लागि व्यक्तिगत र स्थानीय सरकारका तर्फबाट सक्दो सहयोग गर्न तयार छु ।”

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख खड्काले होटल व्यवसायी संघको कार्यालय भवन निर्माणका लागि जमीन उपलब्ध गराउने प्रतिवद्धता समेत गर्नु भएको छ । संस्थागत विकासका लागि व्यवसायीहरु एकबद्ध भएर आए भवन निर्माणका लागि जमीन उपलब्ध गराउनुका साथै आवश्यक अन्य सहयोग पनि गर्ने उनले बताए।

कार्यक्रमका विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी अर्यालले होटल व्यवसायीहरुलाई प्रशासनले सक्दो सहयोग गर्ने बताए । उनले प्रशासन र व्यवसायीहरु बीच समन्वय हुन जरुरी रहेको बताउँदै कानुनले बन्देज गरेका कार्यहरू नगर्न र नगराउन अनुरोध गर्नु भयो । डोटीका होटल व्यवसायीहरु कानुनले बन्देज गरेका कार्यहरूमा संलग्न भएको सुन्नमा आएको छैन । यहाँको होटल व्यवसायमा त्यस्ता समस्या देखा परेका छैनन्,”उनले भने,” त्यस्ता गतिविधि नगर्न र नगराउन अनुरोध गर्दछु । अन्य सवालमा हाम्रो पूर्ण सहयोग साथ र समन्वय रहने छ ।”

होटल व्यवसायी संघ डोटीका अध्यक्ष लोक बहादुर खड्काले पछिल्लो समय होटल व्यवसाय संकटमा रहेकोले सबैको सहयोग आवश्यक रहेको बताए । “जिल्लामा सबै भन्दा बढी होटल व्यवसायी हुनुहुन्छ । हामीले व्यवसायलाई सेवामुलक व्यवसाय बनाएर काम गरिरहेका छौं,”अध्यक्ष खड्काले भने,”पछिल्लो समय कोरोना महामारी र आर्थिक मन्दीको प्रतक्ष असर होटल व्यवसायमा परेको छ। व्यवसायीहरुलाई माथि उठ्न समस्या छ। जसो तसो सेवा गरिरहेका छौं। यस्तो बेला व्यवसायिक एकता र सहयोगको आवश्यकता छ।”

संघका अध्यक्ष खड्काले व्यवसायीक हकहित, सेवामा एकरूपता, व्यवसायिक र संस्थागत विकासका लागि व्यवसायीहरुको एकता आवश्यक रहेको बताए । जिल्लाका सबै व्यवसायीहरुलाई एकीकरण गर्ने, संस्थाको भवन निर्माण गर्ने, स्थानीय उत्पादनको खपत तथा व्यवसाय गर्ने देखि आफ्नै सहकारी सञ्चालन गर्ने लक्ष लिएको बताए ।

नेपाल पत्रकार महासंघ डोटीका सचिव पवन महराले होटल व्यवसायी संघ पछिल्लो समय सक्रियरूपमा काम गरिरहेको बताए । उनले पर्यटन प्रवर्धन देखि जिल्लाको समग्र विकासमा व्यवसायीहरुको महत्वपूर्ण योगदान रहेको बताए । उनले स्थानीय परिकार र अतिथि सत्कारमा विशेष जोड दिन सुझाव दिए ।

Related News

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
  • २०८० कार्तिक २४

कैलाली । धनगढी उपमहानगरपालिका-७ क्याम्पस चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही...

TOP