२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

उत्तराखण्ड पहिरोमा परे एकै घरका ७ जना, अधुरै रह्यो नयाँ घरमा बस्ने त्यो जुम्लेली परिवारको सपना

भारतको उत्तराखण्डस्थित गौरीकुण्डमा ठूलो वर्षासँगै खसेको पहिरोमा बेपत्ता नेपालीमा एकै घरका सात जनासम्म परेका छन्।

जुम्लाको पातारासी गाउँपालिका–३ चौरगाउँ घर भएका अमर बोहोराको परिवारका सातै जना उक्त पहिरोमा बेपत्ता भएका हुन्।

यही साउन १८ गते राति करिब ११ बजे उत्तराखण्ड राज्यस्थित गौरीकुण्डमा गएको पहिरोमा परी ३० वर्षीय अमरसँगै उनका २९ वर्षीया श्रीमती अनिता, छोरीहरु ११ वर्षीया सलिता, ९ वर्षीया पिंकी, ७ वर्षीया प्रिती र छोराहरु ४ वर्षका जटिल र २ वर्षका ओकिल बोहोरा बेपत्ता भएका हुन्।

एउटै परिवारका सात जना बेपत्ता भएको खबरले जुम्लामा रहेको बोहोरा परिवार शोकमा डुबेको छ। अमरका ठूलो बुबा ताराबहादुर बोहोराका अनुसार पातारासी गाउँपालिका–३ चौरमा बोहोरा परिवार २२ घरधुरी छन्। यतिबेला उक्त परिवार मात्रै नभई सिंगो चौरगाउँ भावविह्वल बनेको छ।

यसअघि पनि अमर रोजगारीका लागि भारत जान्थे। यसपटक भने जुम्लाकै गाउँमा घर बनाएपछि सपरिवार उनी रोजगारीका लागि भारत पसेका थिए।

अमरका ठूलोबुबा ताराबहादुरले गत मंसिरमा अमरले आफ्नो सबै परिवार लिएर भारत गएको बताए।

उनले नेपालखबरसँग भने, ‘ऊ (अमर) पहिलादेखि नै रोजगारीको लागि त्यहाँ (भारतको उताराखण्ड) नै जाने/आउने गरिरहन्थ्यो। गत साल आएर पातारासी गाउँपालिका–३ मै ससुरालीले दिएको जग्गामा नयाँ घर लगाएको (बनाएको) थियो। त्यसपछि गत मंसिरमा सबै परिवार लिएर गएको हो। यस्तो घटना घटना पुगेछ।’

२०८० सालको दसैँमा नयाँ घरमा बस्ने गरी गत मंसिरमा अमर परिवारका साथ भारत गएका थिए।

अमरका ठूलो बुबा ताराबहादुरकाअनुसार भारतमा काम गरेर कमाएको पैसाले पहिलो पट्क गाउँमा घर बनाएका थिए। उनको सबै परिवार गाउँमा घर बनाइसकेपछि गत सालको दसैँ तिहार मानेर मंसिरमा मात्रै भारत गएको ताराबहादुरले जानकारी दिए।

अमरले ससुरालीले दिएको जग्गामा तीनतलाको कच्ची घर बनाएका छन्। अमर यसअघि भारत जाने गरे पनि सबै परिवार लगेर गएको भने पहिलोपटक थियो।

ताराबहादुरकाअनुसार अमरले सुर्खेतमा पढ्न बसेकी जेठी छोरी सलितासहित सात जनाको परिवार लगेर उत्तराखण्डस्थित गौरीकुण्डमा आफ्नै व्यवसाय गर्ने योजना बनाएका थिए।

‘पहिला पनि रोजागरीका लागि भारत गए पनि एक्लै जाने गरेको थियो। यो चोटि सबै परिवारलाई नै लगेर गयो। त्यहाँ घर भाडामा लगेर होटेल गरिरहेको थियो। पहिला पनि अमरले अन्य व्यपार गर्ने गर्थ्यो’, ठूलोबुबा ताराबहादुरले भने, ‘अब अमरको सबै परिवार पहिरोमा परी बेपत्ता भएछ। बनाएको नयाँ घरमा बस्ने सपना अधूरै रह्यो।’

स्थानीयका अनुसार चौरगाउँका ५० घरपरिवार अहिले मौसमी कामको खोजीमा उत्तराखण्ड पुगेका छन्। जुम्लाका पाटनमा पाइने जडीबुटी लोप हुन थालेपछि कामको खोजीमा भारत जाने गरेका छन्। गाउँका २ सय १९ घरधुरीमध्ये एकतिहाइ भारतमै रहेको पातारासी गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार भारतमा कुल्ली, स्याउ टिप्ने, बगैंचा रेखदेख गर्नेलगायत दैनिक ज्यालादारी कामको खोजीमा भारत पस्ने पुरानै चलन हो। अमरको कान्छा बुबा, दाजुभाउजू र कान्छो भाइको परिवार पनि उत्तराखण्डमै बसेर व्यवसाय सञ्चालन गरिरहेका छन्।

सास भेटिने आश मरेपछि कुशको पुत्ला बनाएर दाहसंस्कार

अमरको परिवारका कोही पनि जिउँदो भेटिने आश मरेपछि जुम्लामा कुसको पुत्ला बनाएर दाहासंस्कार समेत गरिएको छ।

‘हामीले बेपत्ता भएको खबर पाएपछि दुई दिन कुर्‍यौं। सास भेटिने आश मरेपछि कुसको काठेपुत्ला (शरीर) बनाएर घाटमा लगेर हिन्दू परमपरागत रुपमा जलाइसकेका छौँ’, ताराबहादुरले भने, ‘चोखो माटोले शुद्ध बनाएर कपडाहरु मसानघाटमा लगेर जलाइसक्यौं। छोरी चेलीलाई दान दक्षीणा दिएर साउन २० गतेबाट नुन समेत बार्ने काम गरिसकेका छौँ।’

भारतको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डमा नेपालीहरुले सञ्चालन गरेको होटल नै पहिरोले बगाएर मन्दाकिनी नदी बेपत्ता भएपछि सास भेटिने आश मारेर आफन्तले अन्तिम संस्कार गरेका हुन्।

उत्तराखण्ड पहिरोमा जुम्लास्थित पातारासी गाउँपालिकाका जम्मा ११ जना बेपत्ता भएका हुन्। उनीहरुका आफन्तले जीवित भेटिने सम्भावना नभएपछि शनिबार पुत्ला बनाएर अन्त्येष्टि गरेको पातारासी गाउँपालिका–३ का वडाध्यक्ष गोविन्द रावतले जानकारी दिए।

बेपत्ता हुने अन्यमा पातारासी गाउँपालिका–३ बस्ने ३८ वर्षीय बम बोहोरा, ४६ वर्षीय शुकराम रावत, पातारासी २ नम्बर वडाको पेरे गाउँका २५ वर्षीय चन्द्र कामी र ५५ वर्षीय धर्मराज बुढा छन्। अस्थायी प्रहरी चौकी तल्की जुम्लाका अनुसार धर्मराज बुढाको शव भेटिएको छ।

यस्तै हुम्ला र कालीकोटका नागरिक पनि बेपत्ता भएका छन्।

उत्तराखण्ड पहिरोमा जुम्लाका ११ जनासहित जम्मा १९ जना परेको अनुमान गरिएको छ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०८० श्रावण २२

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP