२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

पहिरोको त्रास : बाइस परिवारको विद्यालयमा बास

डडेलधुरा – आलिताल गाउँपालिका–१ स्थित मालागाउँ र भोकागाउँका बासिन्दा पहिरोको त्रासका कारण नजिकको विद्यालय भवनमा रात बिताउन बाध्य भएका छन् ।

मालागाउँ र भोकागाउँका गरी २२ परिवार जनज्योति आधारभूत विद्यालय सियलामा बस्दै आएका छन् । गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले दुइटै गाउँ पहिरोको जोखिममा रहेकाले यस्तो अवस्था आएको जानकारी दिए ।

उनका अनुसार उक्त बस्तीमा वर्षाका कारण माथिबाट पहिरो झर्ने गरेको छ । पहिरोबाट घरसँगै आफू पनि पुरिने डरले ज्यान जगाउन स्थानीयवासी नजिकै रहेको विद्यालयमा बस्न थालेका हुन् ।

स्थानीय जनप्रतिनिधि र प्रहरीले नै उनीहरुलाई यही साउन ८ गते साँझदेखि सो विद्यालयमा बस्न लगाएको हो । गाउँबस्तीमाथिबाट ढुङ्गा खसिरहेकाले सुरक्षाका लागि विद्यालयमा राखिएको बताइएको छ ।

यहाँका २२ परिवारका १२८ जनालाई राहत स्वरूप चामल, दाल, तेल, तरकारी नुनलगायत खाद्य सामग्री वितरण गरिएको आलिताल–१ का वडाध्यक्ष यज्ञबहादुर देउवाले बताए । सो गाउँ पहिरोको उच्च जोखिम रहेकाले सबैलाई समयमै सुरक्षित स्थानमा सारिएको भनाइ उनको छ । वर्षायामका कारण विद्यालय केही दिनका लागि बिदा गरिएकाले स्थानीयलाई सोही विद्यालय भवनमा राख्न सजिलो भएको वडाध्यक्ष देउवाले बताए । विद्यालय सञ्चालनमा आएपछि भने समस्या हुने देखिएको छ ।

विद्यालय सञ्चालनपछि भने स्थानीयलाई राष्ट्रिय वनको खुला क्षेत्रमा राख्ने विषयमा छलफल भइरहेको उनले बताए । जिल्ला विपत् व्यवस्थापन समितिले पीडित परिवारलाई सोही वडाको पोखरीस्थित राष्ट्रिय वनको खुला क्षेत्रमा बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

डडेलधुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले पहिरोपीडितका लागि गृह मन्त्रालयसँग २२ थान चाइनिज टेन्ट, एक सय थान त्रिपाल र एक सय थान ब्ल्याङ्केट उपलब्ध गराइदिन अनुरोध गर्ने निर्णय भएको बताए ।

एनका अनुसार अन्य आवश्यक राहत र उद्धारका सामग्रीका लागि प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग अनुरोध गर्ने निर्णयसमेत भएको जनाए । दुइटै गाउँको माथिल्लो क्षेत्रबाट पहिरो खस्न थालेको छ । हालसम्म मानवीय क्षति नभए पनि केही घरमा क्षति पुगेको छ ।

यस जिल्लाका अन्य स्थानीय तहमा पनि पहिरोको समस्या देखिन सक्ने भएकाले पालिका प्रमुखसहितको उपस्थितिमा बैठक राखेर बाढी पहिरोबाट हुन सक्ने विपत्का सम्बन्धमा आवश्यक तयारी गरिएको प्रजिअ न्यौपानेले बताए ।

उनका अनुसार जिल्ला विपत् व्यवस्थापन समितिको बैठकबाट जिल्लामा अवरुद्ध सडक खोल्ने, राहत र उद्धारका सामग्रीको बन्दोबस्त मिलाउने, मनसुनजन्य पूर्वतयारी तथा प्रतिकार्य योजना लागु गरी जोखिमपूर्ण बस्तीको पहिचान तथा छनोट गरिएको उनले बताए ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० श्रावण १२

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP