धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकास्थित विभिन्न सामुदायिक विद्यालयमा कानुनी व्यवस्थाविपरीत कार्यरत शिक्षकलाई हटाउन लागिएको छ।
अध्यापन अनुमतिपत्र बिना कार्यरत शिक्षकलाई धनगढी उपमहानगरपालिकाले शिक्षण सेवाबाट हटाउन लागेको हो। त्यस्ता शिक्षकलाई आवश्यक प्रक्रिया पूरा गरेर सेवाबाट अवकाश गराई यथाशीघ्र शिक्षा विकास तथा समन्वय एकाइमा जानकारी गराउनू भन्दै धनगढी उपमहानगरपालिकाले विद्यालयलाई पत्र पठाएको छ।
अध्यापन अनुमतिपत्र नभएका व्यक्तिलाई शिक्षक नियुक्ति कार्य शिक्षा ऐन २०२८, (संशोधनसहितको) दफा ११ ड को उपदफा १ मा भएको कानुनी व्यवस्थाविपरीत भएको भन्दै धनगढी उपमहानगरपालिकाले अध्यापन अनुमतिपत्र नभएका शिक्षकलाई हटाउन लागेको हो।
अध्यापन अनुमतिपत्र नभएका शिक्षक १३ वटा सामुदायिक विद्यालयमा कार्यरत रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले जानकारी दिनुभयो। उहाँका अनुसार प्राप्त तथ्य र प्रमाणका आधारमा थप कारबाही हुने गरी अवकाश गराउने कार्य हुनेछ।
शिक्षा सम्बद्ध ऐन, कानुन विपरीत अध्यापन अनुमतिपत्र बिनै सामुदायिक विद्यालयमा पढाउँदै आएका शिक्षकहरुलाई नियमानुसार कारबाही गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनगढी उपमहानगरपालिकालाई पत्र पठाएको थियो। सोही पत्रानुसार धनगढी उपमहानगरपालिकाको कार्यालयले अध्यापन अनुमतिपत्र नभएकाहरुलाई हटाउन लागेको हो।
यसैगरी, शिक्षा ऐन र नेपालको प्रचलित कानुनविपरीत हुने गरी कर्मचारी, शिक्षक भर्ना नगर्न धनगढी उपमहानगरपालिकाले आग्रह गरेको छ। त्यसो गरेको पाइएमा संलग्न पदाधिकारीहरुले नै त्यसको जिम्मेवारी लिनुपर्ने र कानुनबमोजिम कारबाहीको भागीदार हुने जनाइएको छ।
दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...