बाजुरा – मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत पर्ने विभिन्न खोलामा पुल नहुँदा बर्खा लागेसँगै खोलामा बाढी बढेपछि स्थानीयलाई आवतजावत गर्न तथा सवारीसाधन सञ्चालनमा समस्या भएको छ । दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि सकस हुन हुन थालेको छ ।
मार्तडी–कोल्टी सडकको दानसाँगु र कर्णाली कोरिडोर सडकखण्ड अन्तर्गत पर्ने बड्डीगाड, पिलुचौर, कवाडीलगायतका खोलामा पुल छैन । सडक भए पनि खोलामा पुल नहुँदा स्थानीयलाई आवतजावत गर्न र यातायातका साधन सञ्चालन गर्न समस्या भएको हो ।
पिलुचौर बड्डीगाड खोलामा बर्खा लागेसँगै पानीको बहाव बढ्दै गएपछि वारपार गर्न समस्या भएको जगनाथ गाउँपालिका–१ का स्थानीय व्यापारी मीनबहादुर कार्कीले बताए ।
खोलामा पानीको बहाव बढेसँगै गाडी खोलाबाट तार्न समस्या छ । खोलामा बाढी बढेपछि भरिया लगाएर सामान ढुवानी गर्नु परेको उनले बताए । केही वर्ष पहिला भेडा र च्याङ्ग्राको भरमा सामान ढुवानी गर्दै आएका स्थानीयले पछिल्लो समय गाडीबाट सामान ढुवानी गर्दै आएका छन् ।
तर बर्खा लागेपछि खोलामा बाढी र सडकमा पहिरो खस्ने भएकाले यातायातका साधन नियमित सञ्चालन हुन नसक्दा दैनिक उपभोग्य सामग्री ढुवानीमा पनि समस्या हुने गरेको गुनासो उनको छ ।
सडक भए पनि बर्खाको समय खोलामा पुल नहुँदा त्यसमा चल्ने गाडी बिच बाटोमा नै रोकिने गर्छ । गाउँबाट भरिया खोजेर सामान ढुवानी गर्नु परेको व्यापारी भण्डारी बताए ।
बर्खाको समय मार्तडी–कोल्टी सडकखण्डमा पर्ने सुक्खा खहरे खोला पनि बाढी उर्लेर आउने भएकाले गाडी बिच सडकमै रोक्नु परेको चालक रमेश थापाले बताए । खोलाले सडक समेत भत्काउने भएकाले पुनः मर्मत नगरेसम्म गाडी चलाउन सक्ने अवस्था हुँदैन उनले भने, “कतिबेला सडक मर्मत होला भनेर कुरेर बस्नुपर्ने अवस्था छ ।” उनले मार्तडीबाट कोल्टी–जगनाथसम्म जान पानी परेको छ वा छैन दिन हेरेर मात्र जाने गरेको बताए । खोलामा पुल नहुँदा बर्खा त के हिउँदमा समेत खोला तर्न समस्या हुने गरेको छ ।
जगनाथको खुलालुदेखि हुम्लाको हिल्सा कर्णाली कोरिडोर सडकको बिचमा रहेका उक्त खोलामा पुल निर्माण हुन सकेको छैन । कर्णाली कोरिडोर अन्तर्गत पर्ने बुढीनन्दा र जगनाथको सिमाना तथा पिलिचौरको बड्डीगाड खोलामा पुल नहुँदा सवारीसाधन रोकिँदै आएका छन् ।
खोला तर्नका लागि मानिसलाई झोलुङ्गे पुल सहज बने पनि यातायातका साधनका लागि भने पक्की पुल नहुँदा समस्या हुने गरेको चालक थापाले बताए । स्थानीय सरकारको बजेटले मात्र विभिन्न खोलामा पुल निर्माण गर्न नसकिने भएकाले प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गर्दै आएको जगनाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए ।
मार्तडी–कोल्टी सडक अन्तर्गत पर्ने बाउली खोलामा पुल निर्माणका लागि करिब एक करोड रुपियाँ रकम विनियोजन भएर काम सुरु भइरहेको सडक डिभिजन कार्यालय अछामले जनाएको छ । प्रमुख दिवस बस्नेतका अनुसार, “बुढीगङ्गा नगरपालिका–१ को रिन्टे खोला, ताँप्रिसेरा, बाउली खोलामा पुल निर्माणका लागि दुई करोड रुपियाँ विनियोजन भएको छ ।”
दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...