२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

तरकारीको व्यापार गर्दै गाउँपालिकाकी पूर्व उपाध्यक्ष

धनगढी- २०७४ को स्थानीय तहको निर्वाचनमा डोटीको बडीकेदार गाउँपालिकाको नेपाली काँग्रेसको तर्फबाट उपाध्यक्ष थिइन् इन्द्रा बोहरा। पाँच वर्ष गाउँपालिकाको उपाध्यक्षको कार्यकाल सफलतापूर्वक सम्हालेको र कुनै विवादमा नपरेको बोहरा बताउँछिन्। तिनै बोहरा अहिले धनगढीको वनदेवी हाटबजारमा तरकारी बिक्री गर्दै आएकी छन्।


गत वैशाख ३० मा भएको स्थानीय तहको चुनावमा गाउँपालिका अध्यक्षको टिकट दाबी गरेको बताउने बोहरा अब भने उम्मेदवार बन्ने पक्षमा छैनन्। उनले पहिलो चुनाव खर्च नगरिकन जितेको दाबी गरेपनि अब भने चुनाव निकै महङ्गो भएकाले लड्नै नसकिने भएको उनी बताउँछिन्।


सक्रिय राजनीतिबाट स्थानीय तहको चुनाव लगत्तै किनारा लागेर पूर्व उपाध्यक्ष बोहरा अहिले तरकारी व्यापारमा जमेकी छन्। तारानगरमा बस्दै आएकी बोहराले धनगढी उपमहानगर कार्यालय अगाडि सहकारी कार्यालयको भवनको सटर भाडामा लिएर थोक तथा खुद्रामा तरकारी बिक्री गरिरहेको बताइन्। तरकारी व्यापारमा रमाइरही उनले डोटीको बोगटान फुड्सिल गाउँपालिका, बडीकेदार, जोरायल र कैलालीको चुरे र मोहल्यालबाट तरकारी ल्याएर बिक्री गर्दै आएकी छन्।

पहाडी क्षेत्रका किसानले बोहरालाई आफैं तरकारी पठाइदिने गरेका छन्। तौलेर गाडीमा पठाइदिने र किसानहरूलाई उचित मूल्य पनि दिने भएकाले कारोबार गर्न सहज भएको उनले बताइन्। ‘मैले उपाध्यक्ष हुँदा पनि धनगढी आउँदा तरकारी लिएर आउने गरेको थिए, उनले भनिन्, ‘अहिले त पूरै व्यापारमा फोकस भएर काम गरिरहेकाले व्यवसाय ठिकै छ। तरकारी र फलफूलको सिजनमा मासिक १ करोडको कारोबार हुने गरेको छ।’

पाँच वर्ष जनप्रतिनिधि भएर पनि हाट बजारमा बसेर तरकारी बिक्री गर्दा अलि अफ्ठ्यारो लाग्दैन भन्ने प्रश्नमा बोहराले हाँस्दै कुनै समस्या नभएको जबाफ दिइन। उनले भनिन्, ‘गरेर खान पनि केको समस्या? मागेर अनि लुटेर खाए पो समस्या र लाज मान्नुपर्छ। मलाई दैनिक पसल खोल्नु र पहाडी क्षेत्रको ताजा तरकारी बिक्री गर्न पाउँदा निकै आनन्द लाग्छ।’

पूर्व उपाध्यक्ष बोहराका श्रीमान डोटीमै शिक्षण गर्छन्। उनी र दुई छोरा तारानगरमा रहेको आफ्नै घरमा बस्दै आएका छन्। जेठो छोराले भने समय मिलाएर व्यापारमा आमालाई सहयोग गर्ने गरेका छन्। व्यापार गर्नमा निकै आनन्द भएकाले सक्रिय राजनीति गर्ने इच्छा लगभग त्यागेको बोहराले बताइन्। साभार: दिनेश खबर

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०७९ चैत्र १७

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP