२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

सेती–३ आयोजना प्रभावितद्वारा प्रदर्शन

बझाङ – बझाङ सदरमुकाम चैनपुरनजिकै निर्माण हुने ८७ मेगावाट क्षमताको सेती–३ जलविद्युत् आयोजनाले मुआब्जा दिदा उचित मूल्यांकन हुनुपर्ने माग राखि प्रभावितहरूले बिहीबार सदरमुकाम चैनपुरमा प्रदर्शन गरेका छन् । चिलिमे हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको ८७ मेघावाट क्षमताको उक्त आयोजनाले जग्गा अधिकरण गर्दा स्थानीयको जिविकाको ख्याल राखेर मूल्य निर्धारण गरिनुपर्ने भन्दै प्रभावितहरूले प्रर्दशन गरेका हुन् ।

स्थानीयको जनजीविकाको एकमात्र आधारको खेतीयोग्य जमिन आयोजना निर्माणका क्रममा मासिने भएकोले आफूहरूको जिविकाको ग्यारेन्टी हुने गरी मुआब्जा निर्धारण गरिनुपर्ने उनीहरूको माग छ । अधिग्रहण गरिने जग्गा सदरमुकाम चैनपुर जोडिएको, तीन वर्षअघि नै प्रतिरोपनी ३६ लाखमा किनबेच भइसकेको, सडक र सडक पुलसँग जोडिएको तथा सिँचाइ सुविधासमेत पुगेको क्षेत्र भएकोले कम्तीमा ३० लाख प्रतिरोपनी मूल्य पाउनुपर्ने माग प्रभावितको छ ।

यसअघि फागुन तेस्रो साता आयोजना निर्माणका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रिया अगाडि बढाउन भनिआएका कम्पनीका बोर्ड सदस्यद्वय नारायणप्रसाद आचार्य र तुल्सीराम ढकालको टोली नगरपालिका र स्थानीयले जग्गाको मूल्य अस्वाभाविक दाबी गरेको भन्दै कामै नगरी फर्किएको थियो । जग्गा प्राप्ति ऐन २०३४ अन्तर्गत जग्गा अधिकरण गरी मुआब्जा निर्धारण गर्न बेलामा जयपृथ्वी नगरपालिकाले प्रतिरोपनी ७० लाख ५० हजारदेखि ७६ लाख ५० हजारसम्म मूल्य दिनुपर्ने निर्णय गरेर पठाएपछि उक्त रकम दिन नसकिने भन्दै टोली फर्किएको थियो ।

त्यसयता प्रभावितहरूले विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । गत मंगलबार पनि जिल्ला प्रशासन कार्यालयमा प्रभावितहरूले ज्ञापन पत्र पेस गरेका थिए । आयोजना प्रभावितहरूले भने आयोजना निर्माण हुने विषयले आफूहरू हर्षित भएको भन्दै कुनै पनि हालतमा निर्माण हुनुपर्ने बताएका छन् । आयोजना निर्माणका लागि स्थानीयको सहयोग रहने ज्ञापनपत्रमा उल्लेख छ । ‘जलविद्युत् आयोजना नाफामुखी कम्पनी भएकाले कम मूल्यमा जग्गा लिन खोज्नु र प्रभावितहरूले आफ्नो पैतृक सम्पत्तिलाई बढी मूल्यमा बेच्न खोज्नुलाई स्वाभाविक नै ठानिनुपर्छ,’ ज्ञापनपत्रमा उल्लेख छ ।

जग्गा अधिग्रहण हुँदा आयोजना प्रभावित क्षेत्रका कतिपय बासिन्दाले बसाइँसराइ नै गर्नुपर्ने अवस्था रहेकाले उचित पुनःस्थापना हुने गरी मुआब्जाको व्यवस्था गरिनुपर्ने प्रभावितहरूको माग छ । जग्गा अधिग्रहण गरेपछि कतिपय परिवारको केही पनि बाँकी नरहने अवस्था छ । ‘पुनःस्थापना हुने गरेर मुआब्जा दिइनुपर्छ भन्ने हाम्रो माग हो,’ आयोजना प्रभावितसमेत रहेका बालविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक केशबहादुर खातीले भने, ‘आफ्नै जग्गाको उब्जनीले वर्षभरि परिवार पालिरहेकाहरू भोलि सडकमा आउने अवस्था नहोस् भनेर सचेत गराउन ज्ञापनपत्र दिएका हौं ।’ उनले स्थानीयलाई चित्त बुझ्दो मुआब्जा दिएर ‘आयोजना प्रभावित क्षेत्रको बासिन्दा हुँ’ भन्दा गर्व गर्ने अवस्था निर्माण गरिनुपर्ने बताए ।

अधिग्रहण हुने जग्गा स्थानीयको जीविकाको आधार मात्रै नभएर भावनासँग जोडिएकोले प्रभावितहरू सन्तुष्ट हुने गरी मुआब्जा दिनुपर्ने आयोजना प्रभावित सरोकार समितिका संयोजक गौरीलाल उपाध्यायले बताए । ‘पुस्तौंदेखि जीविका चलाउँदै आएको जग्गामा मान्छेका भावना पनि जोडिएका हुन्छन्,’ उपाध्यायले भने, ‘प्रभावित क्षेत्रका स्थानीयको भावना आयोजनाले बुझिदियो भने भोलिका दिनमा पनि त्यहीअनुसारको सहयोग हुन्छ ।’ केही दिन अघि कान्तिपुरसँगको कुराकानीमा आयोजना निर्माण गर्न लागेको चिलिमे सेती हाइड्रोपावर कम्पनीका प्रारम्भिक अधिकृत विमल खड्काले स्थानीयले जग्गाको अस्वाभाविक मूल्य भनेको दाबी गरे । उनले यो आयोजनालाई थाति राखेर गोरखामा बन्दै गरेको आयोजनामा लगानी केन्द्रित गर्न सकिने बताएका थिए ।

यता बिहीबार बसेको मुआब्जा निर्धारण समितिको बैठकले भने प्रतिरोपनी अधिकतम २५ लाखका दरले मुआब्जा दिने निर्णय गरेको समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए । उनले जग्गाको प्रकृतिअनुसार न्यूनतम प्रतिरोपनी ११ लाख ५० हजारदेखि २५ लाखसम्म मुआब्जा दिने निर्णय गरिएको बताए । ‘नगरपालिकाका जनप्रतिनिधि, सरोकारवाला सबै पक्ष राखेर यो निर्णय गरिएको छ । यो निर्णयले प्रभावितको भावनाको सम्मान नै हुन्छ भन्ने हामीले विश्वास गरेका छौं,’ पाण्डेले भने, ‘यो निर्णयमा सबै खुसी नै हुनुहुन्छ । कोही असन्तुष्ट हुन्छ भने त्यो आयोजना नबनोस् भन्ने चाहनेहरू होला त्यसले फरक पर्दैन ।’

पाण्डे यो आयोजनाले जयपृथ्वी नगरपालिका मात्रै नभएर बझाङ जिल्लाकै विकासमा ठूलो अर्थ राख्ने भएकाले निर्विवाद रूपमा सम्पन्न गर्न सबै पक्षले भूमिका खेल्नुपर्ने बताए ।

२०७४ मा विद्युत् विकास विभागबाट सर्वेक्षण अनुमति पाएको यस आयोजना गत वर्ष मात्रै सम्भाव्यता अध्ययन र ईआईएको काम सम्पन्न गरेको थियो । त्यसलगत्तै निर्माणको प्रक्रिया सुरु भएको हो । यो आयोजनाको १४ मिटर अग्लो र ६७ मिटर लामो बाँध सदरमुकाम चैनपुरनजिक पानकोटमा रहनेछ । त्यहाँको पानी ४ हजार २ सय मिटर लामो सुरुङमार्गबाट जयपृथ्वी नगरपालिकाको सुतियामा पुर्‍याएर भूमिगत विद्युत् गृहबाट विद्युत् उत्पादन गरिने योजना छ । कुल लागत १९ अर्ब अनुमान गरिएको यो आयोजना ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको हो ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७९ चैत्र १०

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP