दिपायल- तीन वर्ष अघि विमानस्थलको निरक्षणका लागि डोटी प्ुग्नुभएका तत्कालिन पर्यटन, नागरिक तथा उड्ययन मन्त्री योगेश भट्टराईले दिपायल विमानस्थलबाट नियमित उडान हुने प्रतिवद्धता व्यक्त गर्नु भयो । विमानस्थलको स्तरोन्नति र कालोपत्रे भएपछि २०७७ असोज १७ गते समिट एअरको परीक्षण उडानमा डोटी पुग्नु भएका उहाँले हप्ताको तीन दिन उडान भर्ने गरि व्यवस्था मिलाइने बताउनु भएको थियो ।
डोटीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रेम बहादुर आले मगर र प्राविधिक टोली सहित दिपायल विमानस्थलमा पुग्नुभएका मन्त्री भट्टराईको भव्य स्वागत गरियो । समिट एअरले केही समय उडान भरेर पछि हट्यो । त्यस पश्चात प्रेम बहादुर आले मगर पनि पर्यटन, नागरिक तथा उड्ययन मन्त्री बन्नु भयो । उहाँ पनि नेपाल एअरलाइन्सको विमान चढेर डोटी पुग्नु भयो र भन्नु भयो,“दिपायल विमानस्थलको थप स्तरोन्नतिसँगै धनगढी– दिपायल नियमित उडान हुन्छ ।” तर, नियमित उडान भने हुन सकेन । उसो त २०२६ सालमा स्थापना भएको यो विमानस्थल पटक–पटक सञ्चालनमा आउँदै बन्द हुँदै गरेको थियो ।
हाल दिपायल विमानस्थल उच्चस्तरीय नेताहरु सवार हेलिकप्टर पार्किङ्ग गर्ने स्थल मात्रै भएको छ । नेताहरु यसै विमानस्थलमा हेलिकप्टर अवतरण गर्छन र उड्छन् । विमानस्थल सञ्चालनमा भने कसैको ध्यान जाँदैन । गत निर्वाचनको समयमा आमसभालाई सम्बोधन गर्न डोटी पुगेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान प्रधानमन्त्री पुष्प कमल दाहल (प्रचण्ड) सवार हेलिकप्टर पनि यही विमानस्थलमा अवतरण भएको थियो ।
२०५८ सालदेखि पूर्ण रुपमा बन्द रहेको यो विमानस्थल गौचरण र खेलमैदानमा परिणत भएको थियो । विमान स्थलका भवन र संरचना जिर्ण बनिसकेका थिए । २०७३ सालमा नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिको काम अगाडी बढाएको थियो । ६ करोड ८० लाख लागतमा स्तरोन्नति गरिएको उक्त विमानस्थल २०७७ सालमा पुनः सञ्चालनमा आएको थियो ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरुकै सबैभन्दा पुरानो र सुरक्षित मानिएको यो विमानस्थल अहिले विमानको पर्खाइमा छ । विमान स्थलको धावनमार्ग चार सय ९० मिटर लम्बाईसहित कालोपत्रे भएको छ । यहाँ १८ सिटे टुइनेटर विमानले सहजै उडान भर्न सक्ने यस अघि निरीक्षणमा आएको प्राविधिक टोलीले बताएको थियो ।
विमानस्थलको स्तरोन्नति भएको दुई वर्षसम्म पनि विमान उडानले निरन्तरता पाएको छैन । सुविधा सम्पन्न विमानस्थल हुँदाहुँदै एरलाईन्सले अनेक बाहाना बनाएर सेवा दिनबाट पञ्छिएको स्थानीयको आरोप छ । “मन्त्रीहरुको आगमनसँगै विमानस्थलमा केही दिन विमान देख्न पाइया तर, यात्रु बोकेर सेवा दिएको पाइएन,“उद्योग वाणिज्य संघ डोटीका महासचिव दिपक बहादुर खड्काले भन्नु भयो,“हप्तामा दुई पटक उडान गर्ने निर्णय गरेको एरलाईन्सले कहिले कोभिड, कहिले यात्रु छैन भन्दै आलटाल गर्दै आफू अनुकूल महिनामा २ पटक १ पटक जहाज उडाउँदै थियो तर पछिल्लो समयमा पाँच महिना यता उडान पूर्ण रूपमा बन्द रहेकोे छ ।”
विमानस्थल नियमित सञ्चालनमा आए यहाँको उद्योग तथा पर्यटन व्यवसाय फस्टाउने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विजय खड्काले बताउनु हुन्छ । “डोटीमा खप्तड, शैलेश्वरी, तेलेलेक, लगायतका थुप्रै धार्मीक एवं पर्यटकीय स्थलहरु छन्,“उहाँले भन्नु भयो,“यस्ता क्षेत्रको भ्रमणका लागि आउने पर्यटकहरुलाई सहजरुपमा आवत–जावत गर्नसक्ने वातावरण भयो भने डोटी जिल्लाको आर्थिक एवं पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुग्छ । तसर्थ एअरपोर्ट सञ्चालनमा आउन जरुरी छ ।”
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा भए पनि प्रदेशसँग जोडिएका अधिकांश सरकारी कार्यालयहरु दिपायलमै छन् । मन्त्रालय र कार्यालयको कामले पटक–पटक ओहरदोहर गरिरहनु पर्ने हुन्छ,“पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलका कर्मचारी गणेश धामीले भने,“ उडान नियमित नहुँदा समस्या हुने गरेको छ ।”
नेपाल एरलाईन्सले १८ सिट भएको नेपाल एयरलाइन्सको विमानले धनगढीबाट डोटी, अछाम, बाजुरा र बझाङमा उडान भर्दै आएको थियो । हाल दिपायल विमानस्थलमा विमान नआएको पाँच महिना वितेको छ । नेपाल एअरलाइन्सले गत भाद्र ६ गते अन्तिम उडान भरेको थियो । त्यस यता विमानस्थल सञ्चालनमा आउने नआउने बारे कुनै जानकारी छैन । विमान अभावका कारण दिपायलका लागि उडान भर्न नसकिएको नेपाल वायु सेवा निगम धनगढीका स्टेसन इन्चार्ज विमल विक्रम शाहीले बताउनु भयो । “हामीसँग दुई वटा मात्रै विमान छ,“उहाँले भन्नु भयो,“केन्द्रले विमान पठाउँदैन । भएका विमान नेपालगञ्जसम्म मात्र आउँछन् । सुदूरपश्चिममा विमान नभएका कारण उडान भर्न सकिएको छैन ।” सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा नेपाल एयरलाइन्सले उडान भर्ने वा नभर्ने भन्ने बारे केही भन्न नसकिने उहाँले बताउनु भयो ।
स्तरोन्नति भएर सफल परीक्षण भइसक्दा पनि विमानस्थल सञ्चालनमा नआए पछि स्थानीयले विमानस्थलको अवस्था पहिलेजस्तै हुनेमा संका व्यक्त गर्दै आउनु भएको छ । “केही समय प्लेन चलेको देखियो तर, चढेर सेवा लिन नपाउदै बन्द भयो,“होटेल व्यवसायी संघका केन्द्रीय सदस्य राजेद्र शाहीले भन्नु भयो,“गौचरणमा परीणत भएको विमानस्थलको अवस्था फेरी उस्तै हुने जस्तो छ ।”
डोटी नागरिक उड्डयन कार्यालय दिपायल कार्यालय प्रमुख विहिन छ । कार्यालय प्रमुख विजय पटेल पुस ४ गते अछाम जिल्ला सरुवा भएर गइसक्नु भएको छ । उड्डयन कार्यालयले हालसम्म कार्यालय प्रमुखको जिम्मेवारी कसैलाई तोकेको छैन । विमानस्थल पाँच महिना देखि बन्द रहे पनि नयाँ भौतिक संरचना निमार्ण कार्यले निरन्तरता पाएको छ । दिपायल विमानस्थल आयोजना अन्तरगत विमानस्थलको टर्मिनल भवन र टावर निमार्ण कार्य सुरु भएको डोटी नागरिक उड्डयन कार्यालय दिपायलका पूर्व प्रमुख पटेलले बताउनु भयो । टर्मिनल भवन र टावर निमार्ण गर्न ५ करोड ९ लाखको लागतमा २०७९ असार बाट निमार्ण कार्य सुरु भएको उहाँले बताउनु भयो ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...