पोखरामा आज भएको यती एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ।
आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। यसअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्यान गुमाइसकेका छन्।
आइतवार दुर्घटनामा परेको विमानमा ७२ यात्रु सवार थिए। दुर्घटनामा परी मृत्यु भएका ६२ जनाको शव निकालिएको छ । अहिले पनि उद्धार जारी छ ।
पछिल्लो पटक १५ जेठ २०७९ मा तारा एयरको जहाज दुर्घटनामा परेको थियो । यो दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाको निधन भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आइतबार भएको दुर्घटना ५८औं हो ।
यसअघि नेपालमा ५७ वटा दुर्घटनामा परिसकेका थिए, जसमध्ये दुई वटा इन्जिन भएका जहाज ४९ वटा दुर्घटनामा परिसकेका छन् । ८ वटा जहाजमा सिंगल इन्जिन थियो ।
नेपालको आन्तरिक उडानतर्फ पहिलो दुर्घटना विसं २०१८ सालमा भएको थियो । भैरहवामा भएको ९-एन एएडी जहाज दुर्घटनामा ४ जना यात्रुले ज्यान गुमाएका थिए ।
नेपालको हवाई इतिहासमा हेलिकप्टर दुर्घटनाको संख्या ३६ पुगिसकेको छ । नेपालमा पहिलो हेलिकप्टर दुर्घटना सन् १९७९ मा लाङटाङमा दुर्घटनामा परेको थियो । यो हेलिकप्टरमा भीभीआई सवार थिए । पछिल्लो पटक सन् २०१९ मा मनाङ एयरको एनएन-एएलसी हेलिकप्टर दुर्घटनामा परेको थियो ।
पहिलो एटीआर दुर्घटना, धेरै मृत्यु
एटीआर जहाज, नेपालमा सबभन्दा सुरक्षित मानिन्छ । नेपालमा बुद्ध एयरसँग सबभन्दा धेरै १४ वटा र यति एयरलाइन्ससँग ६ वटा एटीआर जहाज छन् । यो एटीआर ७२-५०० विमान थियो ।
तर आइतबार त्यही जहाज दुर्घटनामा पर्यो । यसले मृतकको संख्या पनि धेरै भएको छ । नेपाली सेनाका अनुसार विमानमा सवार ७२ मध्ये अहिलेसम्म ६२ जनाको मृत्यु पुष्टि भइसक्यो भने अरुको उद्धार चलिरहेको छ ।
नेपालको आन्तरिक उडानमा भएको दुर्घटनामा मृतकको यो संख्या अहिलेसम्मकै ठूलो हो ।
दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...