२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

शव व्यवस्थापन कार्यविधि बन्यो : कोराेनाबाट मृत्यु भएका व्यक्तिको शव नजिकबाट छुनसमेत नपाउने

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट कसैको मृत्यु भएमा शवलाई नजिकबाट छुन नपाइने भएको छ।

शवमा रहेको भाइरस अन्य व्यक्तिमा सर्न सक्ने भन्दै सावधानीका लागि यस्तो व्यवस्था गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट मृत्यु भएका व्यक्तिको शवको दाहसंस्कारसम्बन्धी कार्यविधि बनाएको छ।

नेपालमा हालसम्म १६ जनामा यसको संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। भारतमा यसको संक्रमण बढ्दो अवस्थामा छ। कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण कसैको मृत्यु नभए पनि भविष्यमा आइपर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै शव व्यवस्थापन कार्यविधि बनाइएको मन्त्रालयले जनाएको छ।


मन्त्रालयले तयार पारेको कार्यविधिको प्रारम्भमा भनिएको छ, ‘कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिको संसर्गबाट उक्त रोग अर्को व्यक्तिमा सरेको प्रमाण हालसम्म फेला नपरे पनि शव सदगतको क्रममा सावधानी अपनाई शव व्यवस्थापन कार्य गरिनेछ।’


‘कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६’ मा शवको अन्तिम संस्कारसम्बन्धी व्यवस्था गरिएको छ। उक्त १९ बुँदे कार्यविधिमा कुलधर्मअनुसार शवको अन्तिम संस्कार गर्न सकिने भए पनि सावधानी अपनाउनुपर्ने उल्लेख गरिएको छ।

मन्त्रालयले तयार पारेको कार्यविधिको प्रारम्भमा भनिएको छ, ‘कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिको संसर्गबाट उक्त रोग अर्को व्यक्तिमा सरेको प्रमाण हालसम्म फेला नपरे पनि शव सदगतको क्रममा सावधानी अपनाई शव व्यवस्थापन कार्य गरिनेछ।’

कार्यविधिअनुसार, शव लिन जानुपूर्व शववाहनका चालक तथा कर्मचारीले पिपिईको प्रयोग गर्नुपर्दछ। त्यस्तै मृतकको कुलधर्मअनुसार शवको सम्मान गर्दै निजका उपस्थित आफन्तहरू समेतलाई सुरक्षित राख्नु पर्दछ।

कार्यविधिमा कोभिड-१९ का कारण मृत्यु भएका शव जथाभावी सदगत गर्न नहुने उल्लेख छ। त्यस्तै शवलाई अस्पताल/घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगत गर्ने व्यक्ति र सदगतमा सहभागी हुने मृतकका आफन्तजनले पञ्जा, चश्मा, टोपी, मास्कसहितको पिपिई प्रयोग गर्नुपर्दछ।

शवको व्यवस्थापन कार्यमा खटिने व्यक्तिमा भाइरसको संक्रमण नसरोस् भनेर यस्तो व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। उनले अहिलेसम्म शवबाट अन्य व्यक्तिमा भाइरस सरेको नभेटिए पनि सावधानी अपनाउन यस्तो व्यवस्था गरिएको प्रस्ट पारे।

कार्यविधिमा शवलाई कमभन्दा कम चलाउनुपर्ने उल्लेख गरिएको छ। त्यस्तै शवमा लागेका पाइपलगायतका सामग्री हटाइदिनुपर्ने, शवको कुनै भागबाट रक्तश्राव भइरहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गर्नुपर्ने र शव अन्तिम संस्कार गर्ने स्थलतर्फ लैजान साधारण शववाहनको प्रयोग गर्न सकिने उल्लेख छ।

कार्यविधिमा ‘शवलाई डिसइन्फिक्ट (किटाणुरहित)गर्नु आवश्यक छैन,’ भनी उल्लेख गरिएको छ। त्यस्तै शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पुर्‍याउनुपर्ने, शवको कुनै भागबाट श्राव भएमाबाहेक शव राख्न विशेष ब्यागको आवश्यकता नपर्ने उल्लेख गरिएको छ।

कोभिड-१९ ले मृत्यु भएको व्यक्तिको सामान्यतया पोस्टमार्टम गर्नु नपर्ने, तर यदि, गर्नुपरेमा मृतकको फोक्सो तथा अन्य अंगहरूमा जीवाणु जिउँदै हुनसक्ने हुनाले थप होसियारी अपनाउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ। 

कार्यविधिमा ६० वर्ष माथिका व्यक्ति र दीर्घरोगीलाई शवको नजिक जानबाट रोक्नुपर्ने उल्लेख गरिएको छ। त्यस्तै सदगत गर्नुपूर्व आफ्नो कुल वा परम्पराअनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउने जस्ता क्रियाकलाप गर्न सकिने उल्लेख गरिएको छ। तर, मृतकका आफन्तले शव हेर्न चाहेमा शवलाई नछोइकन कम्तीमा एक मिटर टाढाबाट एक/एकजनालाई पालैपालो गरी मात्र हेर्न दिने उल्लेख गरिएको छ।

कोभिड-१९ ले मृत्यु भएको व्यक्तिको सामान्यतया पोस्टमार्टम गर्नु नपर्ने, तर यदि, गर्नुपरेमा मृतकको फोक्सो तथा अन्य अंगहरूमा जीवाणु जिउँदै हुनसक्ने हुनाले थप होसियारी अपनाउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ।

त्यस्तै पोस्टमार्टम गर्दा यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा न्यून स्वास्थ्यकर्मीको उपस्थितिमा मात्र आवश्यक पिपिई प्रयोग गरेर पोस्टमार्टम गर्नुपर्ने उल्लेख गरिएको छ। त्यस्तै, कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिको शव रहेको शवगृहमा उपयुक्त प्रकाश भेन्टिलेसन र सरसफाइको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।

कार्यविधिमा पोस्टमार्टम सकिनेबित्तिकै प्रयोग गरेका सामग्रीहरू डिसइन्फिक्ट (किटाणुरहित)गर्नुपर्ने र त्यस समय प्रयोग गरिएका रासायनिक पदार्थहरूको सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ।

चीनको उहानमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण विश्वका २ सय १० मुलुकमा फैलिइसकेको छ। यो भाइरसबाट हालसम्म १८ लाख ६६ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने १ लाख १५ हजार बढीको मृत्यु भइसकेको छ। गत डिसेम्बरमा पहिलोपटक देखिएको यो भाइरसले विश्वभर महामारीको रूप लिइसकेको छ। विश्वका शक्ति राष्ट्र मानिएका विकासित देशहरू नै यसको संक्रमणबाट बढी प्रभावित भएका छन्।

यो भाइरसको संक्रमणका कारण सबैभन्दा बढी अमेरिकामा २२ हजारभन्दा बढीले ज्यान गुमाएका छन्। त्यस्तै इटालीमा १९ हजार ९ सय, स्पेनमा १७ हजार ५ सय, फ्रान्समा १६ हजार ३ सय र बेलायतमा १० हजार ६ सयभन्दा बढीको ज्यान गइसकेको छ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ बैशाख २

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP