२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

कोरोना: एक महिनाअघि भारत गएर आएकी महिलामा लक्षण छैन : नतिजा पोजेटिभ

बाग्लुङ काठेखोला गाउँपालिकाकी एक महिलाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा नतिजा पोजेटिभ देखिएको छ।

उनका कान्छो छोराले आमाको र्‍यापिड टेस्ट गर्दा नतिजा पोजेटिभ आएको र थप परीक्षण गर्न सल्लाह भइरहेको सेतोपाटीलाई जानकारी दिए।

‘स्वास्थ्यकर्मीले पोजेटिभ देखिएको छ, तर फेरि परीक्षण गरेर हेर्नुपर्छ भन्नुभएको छ,’ उनले भने।

आइतबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्नलाई स्वास्थ्यकर्मीको टोली काठखोला गाउँपालिका पुगेको थियो। आमा र दाजुभाउजू पनि एक महिनाअघि भारत तीर्थ गएर आएकाले परीक्षण गराउन पुगेको उनले बताए।

उनले आमाको नतिजा पोजेटिभ देखिएपछि कर्मचारीले देखाएको स्वभाव ठीक नभएको भन्दै गुनासो पोखे।

‘आमाको त्यस्तो नतिजा आएपछि त्यहाँ रहेका १० जना जति कर्मचारी छिटोछिटो काम सकेर जानुभो। कम्तिमा हामीलाई केही सम्झाएर जानुभएको भए हुन्थ्यो नी’ छोराले भने ‘अहिले आमाले कमजोर महसुस गरिराख्नु भएको छ।’

अन्तिममा दुईजना स्वास्थ्यकर्मीले नतिजाबारे सम्झाएको र गाउँपालिका निकायसँग सहकार्य गर्न सुझाएको बताए। ‘उहाँहरुले नै वडाअध्यक्ष र गाउँपालिका अध्यक्षसँग सहकार्य गर्नुपर्छ भनेर आँट दिनुभो,’ उनले भने।

र्‍यापिड टेस्ट गर्ने कर्मचारीलाई कम्तिमा आवश्यक तालिम र ज्ञान दिएर पठाउँदा विरामी वा सेवाग्राहीलाई सहज हुने उनी बताउँछन्। आमामा ज्वरो वा रुघाखोकी कुनै पनि लक्षण नरहेको उनले बताए।

‘अहिले वडाअध्यक्ष र स्वास्थ्यकर्मीको टोली आउनुभएको छ। के गर्ने भन्ने सरसल्लाह हुँदैछ,’ उनले भने।

काठखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले महिलालाई वडामै रहेको क्वारेन्टिनमा राख्ने तयारी भइरहेको जानकारी दिए। उनले गाउँपालिकामा विदेशबाट आएका ५७ जनाकै परीक्षण गरेको बताए। महिलाबाहेक बाँकीको भने नतिजा नेगेटिभ आएको छ।

बाग्लुङ स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले भने महिलाको स्वाब पुन परीक्षणको लागि भोलि पोखरा पठाइने जानकारी दिए। सरकारले चीनबाट ल्याएको र्‍यापिड डाइग्नोस्टिक किटबाट सबै जिल्लामा एन्टिबडी जाँच गरिरहेको छ। यो जाँचले कोरोनाविरुद्ध लड्ने तत्व शरीरमा विकास भयो, भएन भनेर पत्ता लाग्छ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७७ बैशाख १

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP