२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई पालिकाबाटै डिजिटल परिचयपत्र वितरण

अपाङ्गता भएका व्यक्तिलाई डिजिटल परिचयपत्र वितरण गर्दै शिखर नगरपालिकाका नगरप्रमुख दीर्घ बलायर र उप प्रमुख सुनिता रावल


दिपायल- अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकले नगरपालिकाबाटै डिजिटल परिचयपत्र प्राप्त गर्न थालेका छन् । डोटीको शिखर नगरपालिकाले बुधबारबाट अपाङ्गता र जेष्ठ नागरिक परिचयपत्र वितरण गर्न थालेको हो ।

यस अघि नमुना परिचयपत्रमा हातले नाम, ठेगाना र विवरण भरेर परिचयपत्र वितरण गरिदै आएको थियो । नगरपालिकाले परिचयपत्र बनाउने डिजिटल मसिन राखेर नगरपालिकाबाटै परिचयपत्र लिन सकिने व्यवस्था मिलाइएको महिला तथा बालबालिका शाखाका साहयक महिला विकास निरीक्षक कमला खड्काले बताउनु भयो । यसअघि परिचयपत्र लिइसकेका सेवाग्राही र नयाँ सेवाग्राहीले आवश्यक कागजात र विवरण उपलब्ध गराएको खण्डमा आधा घण्टा भित्र डिजिटल परिचयपत्र उपलब्ध गराउन सकिने उहाँले बताउनु भयो ।

हातले बनाएका परिचयपत्रहरु पानीमा भिज्ने, अक्षर र फोटो मेटिने, च्यातिने समस्या रहेको थियो । यस्तो समस्या ल्याएर धेरै सेवाग्रहीहरुले गुनासो गरेपछि डिजिटल परिचयपत्र नगरपालिकाबाटै उपलब्ध गराउने व्यवस्था मिलाइएको नगर प्रमुख दीर्घ बलायरले बताउनु भयो । “परिचयपत्रका आधारमा अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकहरुले नगरबस, सार्वजनिक यातायात, स्वास्थ्य सेवा, बैंक, सामाजिक सुरक्षा भत्ता लगायतका सेवा र क्षेत्रमा सहुलियत तथा सुविधा पाउँदै आएका छन्,“उहाँले भन्नु भयो,“सो सहुलियत र सुविधा लिन अनिवार्य परिचयपत्र चाहिन्छ । परिचयपत्र टिकाउखाले भयो भने नागरिकलाई झण्जेट हुँदैन । तसर्थ, डिजिटल परिचयपत्रको व्यवस्था गरिएको हो ।”

अपाङ्गता भएका व्यक्तिहरुका लागि वर्ग अनुसारको रातो, निलो, पहेँले र सेतो परिचयपत्र र जेष्ठ नागरिकहरुका लागि पूर्ण विवरण सहितको डिजिटल परिचय पत्रको व्यवस्था गरिएको सूचना तथा सञ्चार प्रविधि अधिकृत नवराज भट्टले जानकारी दिनु भयो । शिखर नगरपालिका अपाङ्गता भएका व्यक्तिहरु र जेष्ठ नागरिकलाई डिजिटल परिचयपत्र वितरण गर्ने देशकै पहिलो पालिका भएको उहाँको दावी छ । डिजिटल परिचयपत्रले परिचयपत्र लिएका नागरिकहरुको महत्वपूर्ण विवरण डिजिटल रुपमा नगरपालिकामा रहने भट्टले बताउनु भयो ।

हाललाई परिचयपत्र परिवर्तन गर्ने र नयाँ लिने सेवाग्राहीलाई नगरपालिकाबाटै डिजिटल परिचयपत्र लिन सकिने व्यवस्था गरिएको छ । निकट भविष्यमै यो सेवालाई वडा कार्यालयसम्मै विस्तार गर्ने लक्ष रहेको नगर प्रमुख बलायरले बताउनु भयो । वडाबाट तथ्याङ्क र निवेदन संकलन गरेर परिचयपत्र बनाइ सम्बन्धित वडाबाटै वितरण गर्न सकिने उहाँले बताउनु भयो ।

नगरपालिकाले डिजिटल परिचयपत्र वितरण गरेसँगै अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई सेवा लिन सहज हुने स्थानीय डबल बहादुर शाहीले बताउनु भयो । “परिचयपत्र देखायर सार्वजनिक यातायातमा यात्रा गर्दा, कार्यालयमा सेवा लिन जाँदा नाम देखिएन, फोटो राम्रोसँग देखिएन भनेर फर्काइने गरिन्थ्यो,“उहाँले भन्नु भयो,“पटक पटक परिचयपत्र बनाउन नगरपालिका आउनु परेको थियो अब डिजिटल परिचयपत्र पाएकाछौं सेवा लिन सहज हुनेछ ।”

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०७९ भाद्र ९

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP