२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025, Friday

सुदूरपश्चिममा बन्दको प्रभाव : चार ठाउँमा शङ्कास्पद् वस्तु फेला, आठ जना पक्राउ


दिपायल- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित विभिन्न चार दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि देखिएको छ । सुदूपश्चिममा मंगलबार बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन बन्द छन् भने जिल्ला सदरमुकाम बाहेकका शैक्षिक संस्था, कार्यालयहरु ठप्प रहेका छन् ।


चार ठाउँमा शङ्कास्पद् वस्तु फेला

यसैबीच सुदूरपश्चिम प्रदेशका चार ठाउँमा शङ्कास्पद् वस्तु फेला परेका छन् । कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल–अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले बताए । उक्त शंकास्पद वस्तु बम नभएको प्रहरीले जनाएको छ ।

त्यस्तै बैतडीका दुई ठाउँमा शंकास्पद वस्तु भेटिएको छ । जिल्लाको सतबाँझस्थित भण्डारी आयलस्टोर नजिकै सडक किनारमा प्रेसर कुकरमा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको र सतबाँझ–गोकुलेश्वर सडकखण्डको बीचमा पनि शंकास्पद वस्तु भेटिएको जोशीले बताए ।

आठ जना पक्राउ

सुदूरपश्चिमका विभिन्न जिल्लाहरुबाट बन्द गराउँदै हिँडेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । डोटीबाट दुई जना, कञ्चनपुरबाट तीन जना र बाजुराबाट तीन जना गरी आठजना नेता कार्यकर्ता पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बजार बन्द गराउँदै गरेको अवस्थामा डोटीको पिपल्ला बजारबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य मोहन कठायत र अखिल क्रान्तिकारीका डोटी अध्यक्ष प्रकाश कठायतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र प्रशाद धमलाले बताए ।

त्यस्तै कञ्चनपुरमा बन्द गराउँदै हिँडेका नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ जना नेता पक्राउ परेका छन् । मंगलबार बिहान बजार बन्द गराउँदै हिँडेका अखिल क्रान्तिकारी केन्द्रीय सदस्य ललित एसके, अखिल क्रान्तिकारीकै जिल्ला संयोजक भरत विक र कोषाध्यक्ष अनिल घरेडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उता बाजुराको सदरमुकाम मार्तडीबाट तीन जनालाई पक्राउ गरिएको छ । नेकपाका जिल्ला सचिव भुपेन्द्र विक, केन्द्रीय सदस्य मानबहादुर रावत, जिल्ला कमिटी सदस्य सुक नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले बताए ।

सरकारसँग भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता÷कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने, असमान सन्धि सम्झौता खारेज, महंगी भ्रष्टाचार नियन्त्रण लगायत माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले आज देशव्यापी बन्दको घोषणा गरेको थियो ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७९ भाद्र ७

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP