२०८१ असार ३०, आईतवार
July 14, 2024, Sunday

गाउँपालिकाको गाडीमा वडाध्यक्षको रजाइँ : व्यक्तिगत कामका लागि हुइँकिदा दुर्घटना


दिपायल- बोगटान फुड्सिल गाउँपालिकाको जीप शुक्रबार दुर्घटना भएको छ । गाउँपालिकाका अध्यक्षले प्रयोग गर्दै आएको बा २ झ ३८७३ नम्बरको जीप जोरायल गाउँपालिकास्थित रूवसकाँडामा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार डोटीबाट धनगढीतर्फ गइरहेको गाउँपालिकाको जीप र विपरीत दिशाबाट आइरहेको कुखुरा बोकेको जीप एकआपसमा ठोक्किएपछि दुर्घटना भएको हो । दुर्घटनामा चालक सहित जीपमा सवार पाँच जना सकुशल रहेका छन् भने गाडीमा क्षती पुगेको छ ।

गाडीमा वडाध्यक्षको रजाइँ

सरकारी कार्यालयका सवारीसाधनहरु कार्यालय समय, कार्यालयको काम बाहेक अरु समय सञ्चालन गर्न पाइदैन । काम विषेश सार्वजनिक विदाको दिन गाडी चलाउनु परेमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनु पर्ने हुन्छ । सरकारी गाडीहरु जिल्ला बाहिर लग्नुपर्ने अवस्थामा सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य अनुमति पास लिनुपर्ने व्यवस्था गरेको छ ।

तर, दुर्घटना भएको बोगटान फुड्सिल गाउँपालिकाको जीप प्रशासनबाट अनुमति नै नलिएर सञ्चालन गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले सबै पालिका र कार्यालयलाई कार्यालय समय बाहेक अन्य समय सवारी चलाउनु पर्ने भएमा वा जिल्ला बाहिर जानुपर्ने भएमा अनिवार्य पास लिन परिपत्र गरिसकेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रशासकीय अधिकृत दीपा जोशीले बताइन् । दुर्घटना भएको बोगटान फुड्सिल गाउँपालिकाको जीप सञ्चालनका लागि कुनै अनुमति नलिएको उनले जानकारी दिइन् ।

गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिला जिल्ला बाहिर रहेका छन् । उनले आफु चढ्ने गाडी दुर्घटना भएको बारे जानकारी नभएको बताए । उता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत बहादुर चन्दले गाडी कुन कामका लागि धनगढी गएको हो भन्ने विषयमा ठोस जानकारी दिन सकेनन् ।

दुर्घटना भएको गाडीमा वडा नं. ७ का अध्यक्ष चन्द्रभान सुनार, जीप चालक सहित पाँच जना सवार थिए । वडा अध्यक्ष सुनारले आफु व्यक्तिगत कामका लागि गाडी लगेर गएको बताएका छन् । शिखर समाचारसँगको कुराकानीमा उनले आफन्तसँगको भेटघाट तथा औषधि उपचारका लागि गाउँपालिकाको गाडी लगेर गएको बताए । गाडीका चालक सहित पाँच जना रहेको बताएका उनले बाँकी तीन जना को को थिए भन्ने बारे बताउँन चाहेनन् । ‘गाडीमा सवार अन्य मेरा साथीभाईहरु हुन्,‘तपाईसँग के ढाँट्नु ।’ उनले छोटो जवाफ दिए ।

गाडी कार्यालयको प्रयोजनका लागि प्रयोग भए नभएको बारे आफुलाई कुनै जानकारी नभएको गाउँपालिकाका उपाध्यक्ष बिष्ना देवी बमले बताइन् । उनले भनिन्,‘आफन्तहरुसँग भेटघाट नभएको धेरै भयो भेटघाट गर्न जानु छ भनेर भन्दै हुनुहुन्थ्यो ।’

गाउँपालिकाबाट बिहीबार नै गाडी धनगढीका लागि हिँडेको थियो । एक हप्ता अघि मात्रै चालकको नियुक्ति पाएका देव बहादुर गड्सिलाले चलाएको उक्त गाडी शुक्रबार दुर्घटना भएको हो ।
बिहीबार गाउँपालिकाबाट धनगढीका लागि निस्किएको बताउँदै वडा अध्यक्ष सुनारले हिजो साँझ भातकाँडामा बास बसेर बिहानै हिँडेको बताए । आफु धनगढीबाट केही दिन ढिला निस्किने गाडी एक दुई दिनमा पठाउने उनले बताए ।

पछिल्लो समय जिल्लामा सरकारी सवारीसाधनको दुरुपयोग बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय डोटीले सरकारी नम्बर प्लेटका सवारीसाधनहरु कार्यालय समय बाहेक अन्य समय नचलाउन र चलाउनै परे अनिवार्य पास लिन भनि पटक–पटक सचेत गराउँदै आएको छ । तर, जिल्लामा सरकारी नम्बर प्लेटका सवारीसाधनहरु कार्यालय समय बाहेक अन्य समयमा पनि सञ्चालन हुँदै आएका छन् । स्थानीय तहहरुले अनुमति विना आफुखुसी सवारसाधनहरु प्रयोग गर्दै आएका छन् ।

Related News

सिमलताल पहिरो: तीन वटै शवको पहिचान
सिमलताल पहिरो: तीन वटै शवको पहिचान
  • २०७९ भाद्र ३

चितवन– नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ...

TOP