२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

कोरोना संक्रमित तीन भारतीयको ट्राभल हिस्ट्री पत्ता लगाउनै मुस्किल

वीरगन्जको छपकैयास्थित एक मस्जिदमा बसेका तीन भारतीयमा कोरोना भाइरसको संक्रमण देखिएको छ। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको दोस्रो परीक्षणमा उनीहरूमा कोरोना भाइरस भएको पुष्टि भएको हो। 

यसअघि हेटौंडामा गरिएको टेस्टमा उनीहरूमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको थियो। हेटौंडाको ल्याबले उनीहरूको स्वाब थप परीक्षणका लागि शनिबार नै काठमाडौं पठाएको थियो।

नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिरहेका तीन जना भारतीयको ट्राभल हिस्ट्री पत्ता लगाउन कठिन भएको छ।

‘हामीलाई तीन भारतीयलाई कोरोना पोजेटिभ भेटिएको सूचना आएको छ। लगत्तै मैले पर्साका सिडिओ, वीरगञ्जका मेयरसँग कुराकानी गरेको छु। उनीहरूको अवस्थाबारे नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसँग कुरा भएको छ,’ मुख्यमन्त्री राउतले भने,‘उनीहरू लक डाउनअघि नै आएका रहेछन्। उनीहरु मस्जिदहरुमा नमाज पढ्ने र पढाउने र प्रार्थनाको काम गर्छन्। त्यसैले उनीहरुको विषयमा सूचना संकलन गर्न हामीले पूरा तागत लगाएका छौं।’

मुख्यमन्त्री राउतले पूरा तागत लगाएर उनीहरूको ट्राभल हिस्ट्री पत्ता लगाउन लागेको भने पनि क्वारेन्टाइनमा राखिएको ४८ घन्टासम्म पनि उनीहरू कहाँकहाँ गए भन्ने विवरण प्रशासनले पत्ता लगाउन सकेको छैन।

‘उहाँहरूले कुरा राम्रोसँग भन्नुभएको छैन। हामी विभिन्न माध्यमबाट विवरण संकलन गरिरहेका छौं,’ पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले सेतोपाटीसँग भने।

प्रहरीसँग उनीहरूमध्ये केहीले आफूहरू गत डिसेम्बरमै नेपाल आएको र सप्तरीमा भएको इस्तेमामा सहभागी भएको बताएका छन्।

प्रहरीका अनुसार सप्तरीमा गत फेब्रुअरी १४, १५ र १६ तारिखमा इस्तेमा भएको थियो।  उक्त इस्तेमामा संसारका विभिन्न मुलुकबाट मुस्लिम धर्मालम्बीहरू आएका थिए।

उक्त इस्तेमामा आएका १३ जना इन्डोनेसियन गत चैत १९ गते काठमाडौं आइपुगेका थिए। लक डाउनका बेला प्रशासनले पास बनाएर उनीहरूलाई सप्तरीबाट काठमाडौं पठाएको थियो।

धुलिखेलको मस्जिदमा बस्न भनेर आएका उनीहरूलाई त्यहाँ बस्न नदिइएपछि ललितपुरको इमाडोलस्थित मस्जिदमा राखिएको थियो।

स्थानीयहरूले विरोध गरेपछि उनीहरूलाई त्यहाँबाट निकालेर प्रहरीले अन्तै लगेको छ।  उनीहरूलाई कुन ठाउँमा राखिएको थियो भन्ने प्रहरीले खुलाएको छैन।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०७६ चैत्र ३०

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP