२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

छ रेक्टर स्केलको भूकम्पले हल्लायो नेपाल : खोटाङमा क्षति

काठमाडौं । देशमा लामो समयपछि ठूलो भूकम्प गएको छ । आज बिहान ८ः१३ बजे खोटाङको साकेला गाउँपालिका–५ मात्तिम विर्ता केन्द्रबिन्दू भएर ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

यसको असर देशभर नै परेको छ । यो भूकम्पले देशभरमै असर गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ठूलो भूकम्प गएकाले त्यसको महसुस जताततै परेको हो । 

यो भूकम्प नयाँ हो वा २०७२ सालको गोरखा भूकम्पको पराकम्पन हो भन्ने अझै खुलेको छैन । केन्द्रले यसलाई पछि छुट्याउने जनाएको छ । 

लामो समयपछि ठूलो झड्का दिएकाले त्रास बढाएको छ । यसको क्षतिको विवरण भने आउन बाँकी नै छ । 

भूकम्पबाट खोटाङमा केही घरमा क्षति पुगेको छ। साकेला-५ का वडाध्यक्ष जीवन न्यौपानेले मात्तिमबिर्तामा एक घर चर्किएको बताए। ‘अहिलेसम्म हामीले एक घर चर्किएको र एक घरको टायल खसेको खबर पाएका छौं,’ उनले भने।

हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईले वडा कार्यालयमार्फत क्षतिको विवरण उपलब्ध गराउन सूचना जारी गरिएको बताएकी छन्। यस्तै, हलेसी तुवाचुङ–७ महादेवस्थानमा केही घरको पर्खालको ढुंगा खसेको वडाध्यक्ष कमल गिरीले बताए।

प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले हालसम्म मानवीय क्षतिको विवरण नआएको जानकारी दिएका छन्। ‘मानिस आत्तिएका थिए। घरबाहिर निस्किएर मानिसको भागाभाग भएको थियो। अहिले अवस्था सामान्य छ,’ उनले भने।

खोटाङस्थित पत्रकार दमन दाइले अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको बताएका छन्।

पूर्वी नेपालमा भूकम्प गए पनि काठमाडौं उपत्यकासहित सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, धादिङलगायतका जिल्लामा पनि धक्का महसुस गरिएको थियो।

Related News

राष्ट्रपति भेट्न शीतलनिवासमा प्रचण्ड
राष्ट्रपति भेट्न शीतलनिवासमा प्रचण्ड
  • २०७९ श्रावण १५

काठमाडौं– आफू नेतृत्वको सरकार ढलेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति...

TOP