
दिपायल – खप्तड तथा सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि म्याराथन प्रतियोगिता हुने भएको छ । “सुन्दर सुदूरपश्चिम खप्तड – शैलेश्वरी म्याराथन २०७९” नाम दिइएको उक्त प्रतियोगिता गंगादशहरा पर्वको अवसरमा आयोजना गरिन लागिएको हो ।
गंगादशहरा पर्वको अवसर पारेर डोटी उद्योग वाणिज्य संघ, नेपाली सेनाको श्री भैरब प्रसाद गण सिलगढी र श्री नं. ५ बाहिनी अड्डा राजपुर डोटीले प्रतियोगिताको आयोजना गर्न लागेका हुन् । आईतबार दिपायलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले म्याराथनसँगै खप्तडमा भलिबल तथा डेउडा प्रतियोगिता र योग शिविरसमेत आयोजना गरिने जानकारी दिएको छ ।
भुस्वर्गका नामले चर्चित खप्तड राष्ट्रिय निकुञ्ज देखि डोटीको दिपायल सिलगढी नगरपालिका – ६ सिलगढीमा अवस्थित शैलेश्वरी मन्दिर सम्म ३२ किलोमीटरको म्याराथन प्रतियोगिता हुने आयोजकले जनाएको छ । खप्तड, बीचपानी, झिंग्राना, बगलेक, सिलगढी हुँदै शैलेश्वरी मन्दीर परिसरसम्म म्याराथन रुट कायम गरिएको छ ।
खप्तडमा जेठ २५ र २६ गते भलिबल प्रतियोगिता, २७ गते डेउडा प्रतियोता सहित अन्य कार्यक्रमहरु हुने आयोजक संस्था डोटी उद्योग वाणिज्य संघका उपाध्यक्ष खेमराज भण्डारीले जानकारी दिनुभयो । त्यस्तै ३२ किलो मिटरको म्याराथन प्रतियोगिता जेठ २८ गते हुने उहाँले बताउनु भयो ।
म्याराथनमा ४० जना प्रतियोगी धावक र अन्य ८० जना धावकहरु (रन फर फन) गरेर एक सय २० जना सहभागी हुने छन् । म्याराथन प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरुबाट दुई÷दुई जना र मध्यवर्ती क्षेत्रका दुई जना गरी २० जना सहभागी हुने छन् । त्यस्तै नेपाली सेनाको विभिन्न गुल्म तथा गणबाट २० जना प्रतियोगी सहभागी हुने भैरब प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताउनु भयो ।
कार्यक्रममा सहभागि प्रमुख अतिथि, अतिथि, नेपाली सेनाका प्रमुख तथा अन्य सहभागि गरेर ८० जनाका लागि दोस्रो खण्डको म्याराथन पनि राखिएको छ । उक्त म्याराथन खप्तडको त्रिवेणी देखि झिग्राानासम्म तोकिएको छ । ‘रन फर फन’ भनेर तय गरिएको उक्त म्याराथनको दुरी १६ किलो मिटर रहेको छ ।
कार्यक्रम सम्पन्न गर्न १५ लाख अनुमानित बजेट प्रस्ताव गरिएको छ । प्रतियोगिताको प्रायोजन डोटी स्थित ९ वटै पालिका र शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिले गरेको छ ।
म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुनेहरुको लागि पुरस्कारको राशी क्रमशः १ लाख, ७५ हजार, ५० हजार राखिएको छ । त्यस्तै ५ जनालाई १० हजारका दरले सान्वना पुरस्कार दिइने छ भने म्याराथन दौड पुरा गर्ने अन्य ३२ जनालाई प्रोत्साहन स्वरुप ३ हजारका दरले रकम उपलब्ध गराइने समेत व्यवस्था गरिएको छ । भलिबल र डेउडा प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेहरुलाई क्रमशः २५ हजार १५ हजार र १० हजार उपलब्ध गराइने छ ।
खप्तडको धार्मिक, साँस्कृतिक र पर्यटकीय महत्व दर्शाउने हेतुले सुदूरपश्चिमको पर्यटन प्रवर्धनलाई ध्यानमा राखी व्यापक प्रचार प्रसार गर्नुका साथै युवाहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने सोचका साथ कार्यक्रम गर्न थालिएको डोटी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्र खड्काले बताउनु भयो ।
खप्तडको धार्मिक र सांस्कृतिक महत्व सँगसँगै पर्यटकीय प्रवर्धन गर्नु पर्ने आवश्यकता देखे पछि छोटो समयमा प्रतियोगिता गर्ने योजना बनेको प्रमुख सेनानी जनमत कार्कीले बताउनु भयो । ‘खप्तड जस्तो प्रचुर सम्भावना बोकेको पर्यटकीय क्षेत्रको प्रवर्द्धन र यसको विज्ञापन कसरी गर्न सकिन्छ भन्ने सोचले हामीले यो कार्यक्रमको आयोजना गरेका हौं, उहाँले भन्नुभयो,‘हामीसँग एकातिर समय कम छ । अर्कोतिर बजेटको अभाव छ । यस बीचमा सबै तह र तप्काका संस्था र उदार मन भएका व्यक्तिहरुले हातेमालो गरिदिनु भयो र हामीलाई पनि साहश बढ्न गयो । े यो एक किसिमले ग्य्राण्ड इभेन्ट नै हो ।’
कार्यक्रम हेर्न र सहभागी हुन सुदूरपश्चिमका नौ वटै जिल्लाहरुबाट र बाहिरी जिल्लाबाट समेत गरी हजारौंको संख्यामा दर्शनार्थीहरु आउने अनुमान गरिएको छ । युवाहरुलाई लक्षित गरी भलिबल प्रतियोगिता हुन गइरहेको र युवादेखि बृद्घबृद्घा सबैको मन जित्न सफल सुदूरपश्चिको पहिचानकै रुपमा रहेको डेउडा प्रतियोगीताले झनै कार्यक्रमको रौनक बढाउने उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा ड्यौडीया खड्काले बताउनु भयो ।
योग शिविरलाई कार्यक्रमको मुख्य आकर्षण मानिएको छ । खप्तडको खुला चौरमा स्वच्छ वातावरणमा योगध्यान गराउने हेतुले योग गुरु डा. चिन्तामणि योगीलाई आमन्त्रण गरिएको छ ।
प्रतियोता पछि धार्मिक तथा पर्यटकीय स्थलको प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पुग्ने उद्योग वाणिज्य संघका पूर्व सचिव प्रेम भण्डारीले बताउनु भयो । कोरोना महामारी पछि थला परेको सुदूरपश्चिमको पर्यटन र धार्मीक क्षेत्रलाई बिउँताउने हाम्रो मुख्य लक्ष हो,उहाँले भन्नुभयो,‘खप्तड र यस क्षेत्रको धार्मीक पर्यटकीय क्षेत्र शैलेश्वरी बिउँतीयसँगै समग्र सुदूरपश्चिमको पर्यटन र धार्मीक क्षेत्रमा टेवा पुग्ने विश्वास सहित भु–स्वर्ग खप्तडमा पहिलो पटक म्याराथन प्रतियोगिताको आयोजना गरेका छौं ।’
प्रतियोगितामा सहभागी हुने खेलाडी, अतिथिहरुका लागि स्वास्थ्य परीक्षण, खान बस्नका लागि व्यवस्था, सामान ढुवानीको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ । खप्तडमा प्राथमिक उपचारका लागि ४ जना डक्टर सहितको व्यवस्था गरिएको छ । प्रतियोगिता तथा कार्यक्रममा सहभागीहरुले २५ गते श्री भैरब प्रसाद गण सिलगढीमा स्वास्थ्य परीक्षण गराउनु पर्ने छ ।
२२५ बर्ग कि.मी. क्षेत्रफलमा फैलिएको खप्तड समुद्र सतहबाट ३ हजार ५ सय मिटर सम्मको उचाईमा रहेको छ । खप्तड राष्ट्रिय निकुञ्ज भित्र ५ सय ६७ थरिका वनस्पतीहरु र नेपालमा पाइने ८ सय ५० किसिमका चराचुरुंगी मध्ये २ सय ६० भन्दापनि बढी चराचुरुंगीहरु पाईन्छन् । खस्रेभ्यागुता र बझांगे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर, बाघबुट्टे निगांलो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । विश्वकै दुर्लभ जातिको हरियो छेपारो यहाँ पाइन्छ । यस क्षेत्रमा बाह्रै महिना पानीको सतह एकै नासको हुने विशेषता रहेको १ सय ५० मिटर लम्बाई ५० मिटर चौडाई रहेको खप्तड दह छ भने ५२ वटा ताल(दह) रहेका छन् ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...