२०८२ बैशाख १८, बिहीबार
May 1, 2025, Thursday

आज राति १२ बजेदेखि मौन अवधि, के गर्न पाइँदैन?

काठमाडौं- आजराति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ। मतदानअगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ। मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन।

मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिका सम्बन्धमा निगरानी राख्ने र मतदातालाई प्रभाव पार्ने गतिविधि भएको पाइएमा सुरक्षा निकायले तत्काल नियन्त्रणमा लिने निर्वाचन आयोगले जनाएको छ।

मौन अवधिभर निर्वाचन प्रचार प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न पाइँदैन। मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ।

कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार–प्रसार गर्न नपाइने निर्वाचन आचारसंहिता, २०७८ मा उल्लेख छ।

यस्तै, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा सेयर गर्न/गराउन नपाइने आयोगले जनाएको छ।

मौन अवधिमा पालना गर्नुपर्ने आचरण

– राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले मौन अवधिको पालना गर्नुपर्नेछ ।

– मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने ।

– मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने ।

– कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने ।

– सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट शेयर गर्न वा गराउन नहुने ।  

– स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ अनुसार आजै राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ।

–निर्वाचनका दिन आन्तरिक उडान र अत्यावश्यकबाहेक सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। 

मदिरा बिक्री वितरण र सेवनमा प्रतिबन्ध

स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ अनुसार आजै राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ।

मदिरा सेवनबाट झै-झगडा तथा मतदातालाई प्रभावित पार्न सक्ने भन्दै आयोगले मौन अवधिमा मदिराको बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

निर्वाचन सुरक्षालाई ध्यान दिँदै आजै राति १२ बजेदेखि देशका सीमानाका बन्द गरिए पनि अन्तर्राष्ट्रिय उडान भने रोकिएको छैन। आउँदो शुक्रबार देशभर एकै चरणमा बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान हुँदैछ।

निर्वाचनका दिन आन्तरिक उडान र अत्यावश्यकबाहेक सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। 

Related News

डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते
डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते
  • २०७९ बैशाख २७

दिपायल, वैशाख १७ गते ।  डोटीमा इभि हाइस दुर्घटना हुँदा...

TOP