
धनगढी – नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशबाट सभापतिसहित १७ जना केन्द्रीय समितिमा विजयी भएका छन् ।
नेपाली काँग्रेसको केन्द्रीय समितिमा सुदूरपश्चिमबाट सबैभन्दा धेरै प्रतिनिधित्व भएको यो पहिलो पटक हो ।
सुदूरपश्चिमबाट सभापतिसहित एक पदाधिकारी, खुला केन्द्रीय सदस्यमा चार जना, खुला महिला केन्द्रीय सदस्यमा दुई जना, प्रदेश भूगोलबाट तीन जना, थारु महिलाबाट एक जना, थारु खुलाबाट एक जना, पिछडिएको क्षेत्रबाट एक जना, दलितबाट दुई र खस आर्यबाट एक जना निर्वाचित भएका हुन् ।
१३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा (डडेल्धुरा) १४ औं महाधिवेशनमा पनि सभापतिमा निर्वाचित भएका छन् ।
बाजुराका बद्रिप्रसाद पाण्डे सह–महामन्त्रीमा निर्वाचित भएका छन् । यसअघि केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य रहेका पाण्डे सह–महामन्त्रीमा पिछडिएको क्षेत्रबाट निर्वाचित भएका हुन् । पाण्डेय शेखर कोइराला पक्षका हुन् ।
खुला केन्द्रीय सदस्यका लागि सुदूरपश्चिम प्रदेशबाट १३ जनाले उम्मेदवारी दिएकोमा चार जना निर्वाचित भएका छन् । खुला केन्द्रीय सदस्यमा एनपी साउद (कञ्चनपुर), रमेश लेखक (कञ्चनपुर), दिलेन्द्रप्रसाद वडू (दार्चुला) र नैनसिंह महर (डडेल्धुरा) विजयी भएका छन् । साउद, लेखक र महर देउवा पक्षिय हुन् भने वडू कोइराला पक्षका हुन् ।
साउद, लेखक र वडू यसअघि केन्द्रीय सदस्य भइसकेका हुन् भने नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य महर भने पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
खुला महिला केन्द्रीय सदस्यमा कैलालीकी डाक्टर आरजू राणा ‘देउवा’ र ईश्वरी न्यौपाने निर्वाचित भएका छन् । संविधान सभा सदस्य डाक्टर राणा गएको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचन लडेकी थिइन् । कैलाली क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि न्यौपाने भने यस अघि पनि केन्द्रीय सदस्य भइसकेकी उनी प्रतिनिधि सभा सदस्य पनि भइसकेकी छिन् । न्यौपाने पनि देउवा पक्षका हुन् ।
प्रदेश भूगोलबाट महिलातर्फ कैलालीका सुशीला मिश्र ‘भट्ट’ र कैलालीकै डाक्टर रणबहादुर रावल तथा कञ्चनपुरका यज्ञराज जोशी निर्वाचित भएका छन् । डाक्टर रावल सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेस संसदीय दलका नेता हुन् । सुशिला मिश्र ‘भट्ट’ धनगढी उप–महानगरपालिकाकी उप–प्रमुख हुन् भने जोशी महेन्द्रनगरका पूर्व नगर प्रमुख हुन् । मिश्र, रावल र जोशी देउवा पक्षका हुन् ।
महिला थारुतर्फ कैलालीका जीवन राना र थारु खुला केन्द्रीय सदस्यमा कैलालीकै रामजनम चौधरी निर्वाचित भएका छन् । चौधरी यसअघि केन्द्रीय सदस्य भइ पटक पटक मन्त्री समेत भइसकेका छन् भने राना गएको निर्वाचनमा प्रदेश सभा सदस्य उठेकी थिइन् । राना र चौधरी देउवा पक्षका हुन् ।
पिछडिएको क्षेत्रबाट देउवा पक्षका अर्जुनजंगबहादुर सिंह (बझाङ) केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सांसद, राज्यमन्त्री तथा राजदूत समेत भइसकेका सिंह नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा पहिलो पटक पुगेका हुन् ।
केन्द्रीय सदस्य दलित खुल्लाबाट देउवा पक्षका धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड र कोइराला पक्ष प्रतिनिधि सभा सदस्य प्रकाश स्नेही रसायली (वझाङ) निर्वाचित भएका छन् ।
खस आर्यबाट पनि देउवा पक्षका पूर्व सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाह निर्वाचित भएका छन् ।
दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...