डोटी– डोटीको पूर्वीचौकी गाउँपालिका–१ सिर्मामा बेवारिसे अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ । मंगलबार दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिको सिमा क्षेत्रमा पर्ने स्वागत गेट नजिकको जङ्गलमा भेटिएको शवकोे पहिचान खुलेको हो ।
फेला परेको बेवारिसे शव आदर्श गाउँपालिका वडा नं. १ बाँझककानी सालगाउँकी ४२ वर्षीय बसन्ती लुहारको रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए । मृत महिलाका आफन्त घटना स्थलमा पुगेपछि शवको पहिचान खुलेको हो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ ।
घटना स्थलमा एउटा, चस्मा, झोला, सल र महिलाको सुनको गहना भेटिएको प्रहरीले जनाएको छ । मृत फेला परेकी महिला बैशाख २ गते घरबाट आँखाको उपचार गर्न भनि जिल्ला सदरमुकाम सिलगढी आएको र त्यही दिनबाट बेपत्ता भएको उनका आफन्त चक्र बिकले बताए । अस्पताल आएकी उनि सदरमुकाम भन्दा धेरै टाढाको जङ्गलमा मृत भेटिनु शंकास्पद रहेकोले हत्या भएको हुनसक्ने उनको भनाईछ ।
शव फेला परेको दिन मंगलबार ति महिलाको नम्बरमा फोन लागेको बिकले बताए । फोन उठाउने मान्छेले सो फोन कल दैलेख परेको र सिमकार्ड फालेको अवस्थामा बच्चाले फेला पारेर आफुलाई दिएको बताएका थिए । फोन उठाउने मान्छेले आफु १६ वर्ष उमेरको भएको बताएका थिए ।
मृतक महिलाका श्रीमानको १२ वर्ष पहिला निधन भैसकेको र उनका जेठा छोरा भारतमा रहेको बुझिएको छ । चार छोरीको विवाह भैसकेको छ । उनि घरमा एक्लै बस्ने गरेको उनका छिमेकी छोरो पर्ने चक्र बिकले बताए ।
घटना शंकास्पद भएकाले थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...