२०८० चैत्र ६, मंगलवार
March 19, 2024, Tuesday

विद्यालयलाई कम्प्युटर, प्रशिक्षार्थीलाई सिलाइ मेसिन


डोटी– आदर्श गाउँपालिकाका दुई वटा विद्यालयलाई कम्प्युटर र प्रिण्टर वितरण गरिएको छ । आदर्श गाउँपालिका वडा नं. ४ देहिमाण्डौंको प्रभात मावि र वडा नं. ५ तलाराको भगवती माविलाई १२ थान कम्प्युटर दुई थान प्रिण्टर वितरण गरिएको हो ।

मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल) ले केयर एण्ड रिलिफ परियोजना अन्तरगत उक्त सामग्रीहरु वितरण गरेको हो । आइतबार प्रभात माविमा एक कार्यक्रमको आयोजना गर्दै साइन नेपालले विद्यालयलाई कम्प्युटर प्रिण्टर र सिलाइ कटाइ तालिम सिकेका महिलाहरुलाई सिलाइ मेसिन वितरण गरेको हो । संस्थाले सो वडाका २० जना महिलाहरुलाई तीन महिने सिलाइ कटाइ तालिम दिएको थियो । तालिममा सहभागी सबैलाई सिलाइ मेसिन उपलब्ध गराएको संस्थाका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिए ।

विद्यार्थीहरुको सिकाइ प्रविधि मैत्री होस् भन्ने उद्येश्यले कम्प्युटर प्रिण्टर वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए । तीन महिनाको तालिम सहित महिलाहरुलाई उद्यमी बनाउने, स्वरोजगार बनाउने लक्ष सहित वितरण गरिएका सिलाइ मेसिन र सिपको सहि सदुपयोग गरेर उद्योग सुरु गरे थप सहयोग गर्ने उनले बताए ।

संस्थाले पटक–पटक गरेको सहयोगले स्थानीय सरकारलाई सहज भएको आदर्श गाउँपालिकाका उपाध्यक्ष कमला ओझाले बताईन् । गाउँपालिकामा कोरोना महामारी रोकथाम, छाउपडी प्रथाको अन्त्य, शिक्षा, स्वास्थ्य, स्वरोजगार लगायतका क्षेत्रमा संस्थाले ठुलो सहयोग गरेको उनले बताइन् ।


यो सागै संस्थाले सायल गाउँपालिका, शिखर नगरपालिका गरी थप ४० जनालाई तीन महिने तालिम सहित सिलाइ मेसिन उपलब्ध गराएको थियो ।

संस्थाले प्रदान गरेका कम्प्युटरले विद्यालयको कामकाज र विद्यार्थीको सिकाइमा थप सहयोग पुग्ने भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकबहादुर सिंहले बताए । कार्यक्रममा लोक तथा डेउडा गायक शेर साउदले गीत मार्फत संस्थाका गतिविधि बारे जानकारी गराएका थिए ।

केयर एण्ड रिलिफ परियोजना सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरका गरी १२ वटा स्थानीय तहमा सञ्चालनमा रहेको छ । संस्थाले डोटी लगाएत सुदूपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा आबस्यकता र माग अनुसार स्वास्थ्य, शिक्षा, कृषि, कु प्रथा, आपातकालीन, महामारीको अवस्था, विपत् जोखिम न्युनिकरण लगाएतका क्षेत्रमा काम गर्दै आएको छ ।

Related News

१० हजारको बिमाबाट प्राप्त भयो ५ लाख
१० हजारको बिमाबाट प्राप्त भयो ५ लाख
  • २०७७ चैत्र २९

दिपायल – शिखर नगरपालिका- ६ कोटकी चन्नरी देवी लुहारले २०८०...

TOP