२०८१ कार्तिक २२, बिहीबार
November 7, 2024, Thursday

डोटीमा कांग्रेसका भातृ संगठनहरुको विरोध प्रदर्शन : कम्युनिष्ट चरित्र माथि प्रश्न

डोटी– संसद् विघटनविरुद्ध नेपाली कांग्रेसका भातृ संगठनहरुले डोटीमा पनि विरोध प्रदर्शन गरेको छ । जिल्ला सदरमुकाम सिलगढीमा प्रदर्शनसँगै जिल्ला प्रशासन कार्यालय अगडी विरोध सभाको आयोजना गरिएको हो ।

कार्यक्रममा विभिन्न भातृ संगठनका प्रमुख तथा प्रतिनिधि र पार्टीका नेताहरुको सहभागिता रहेको थियो । माघ १३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकाविरुद्धको तेस्रो चरणको आन्दोलनमा भातृ संगठन र शुभेच्छुक संगठनहरुलाई देशभर प्रदर्शनमा उतार्ने निर्णय गरेको थियो । मातृ पार्टीको निर्देशनअनुसार कांग्रेसका १३ भातृ संगठनहरुले जिल्लामा विरोध प्रदर्शन गरेका हुन् ।

विरोध सभालाई सम्बोधन गर्ने नेताहरुले कम्युनिष्टको चरित्र माथि नै प्रश्न खडा भएको बताए । कम्युनिष्टको चरित्र छताछुल्ल भएकोले जनता सचेत, सजक नभए मुलुक र जनताको भविस्य खतरामा रहेको उनिहरुको भनाई छ ।

विरोध सभामा बोल्दै नेपाली कांग्रेसका सभापति प्रदिप कुमार देउवाले सत्ता परिवर्तनका लागि मात्रै आन्दोलन केन्द्रित नभएको बताए । उनले यो आन्दोलन सत्ता परिवर्तनका लागि मात्रै नभएर विकृति विसंगती विरुद्धको आन्दोलन भएको बताए । सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक लगायतका विकृत्तिका विरुद्ध अबको आन्दोलन केन्द्रित भए मात्रै मुलुकमा परिवर्तन हुने र सुशासन कायम हुने उनको भनाई थियो ।

कम्युनिष्टहरुले केन्द्रमा कांग्रेससँग सहकार्य गरेर निर्वाचनमा जाने, सरकार चलाउने, आन्दोलन गर्ने प्रस्तावहरु ल्याएको बताउँदै सभापति देउवाले अर्को तिर कांग्रेसका नेता कार्यकर्तामाथि आक्रम गरिरहेको बताए । उनले हिजोका दिनहरु देखि सहकार्य गर्दै पटक–पटक धोका दिने कम्युनिष्टहरुसँग पार्टीले सहकार्य गरेमा जिल्लाले स्वीकार नगर्ने बताए ।

संसद विघटन रोकियोस् वा नरोकियोस्, निर्वाचन होस् वा नहोस् त्यसको प्रवाह नगरेर भातृ संगठनहरुले आफ्ना मागहरु पुरा नभए सम्म, मुलुकमा आमुल परिवर्तन नभए सम्म आन्दोलनलाई कायम राख्नु पर्ने सभापति देउवाको भनाई छ । भातृ संगठनहरुले अबका दिनमा आफ्नो पार्टीलाई ब्यक्तिलाई सत्तामा पु¥याउन मात्रै आन्दोलन नगरेर शैक्षिक सुधार, युवा रोजगार, महिला समानता, स्वास्थ्य सेवा, बर्गिय हकहित, पेशागत हकहित लगायतका मुद्धामा आन्दोलन केन्द्रित गर्नु पर्ने सभापति देउवाले बताए ।

नेपाल दलित संघका अध्यक्ष लाल बिकले कांग्रेसले सत्तामा जान आन्दोलन नगरेको बताउँदै कम्युनिष्ट र तिनको नेतृत्वको सरकारका गलत कदमका विरुद्ध आन्दोलित भएको बताए । सरकारले सत्ता सञ्चालनको सुरुवात भ्रष्टाचार, बलात्कार, अपराध, हिंसा, अन्याय, अत्याचार र निरंकुशताबाट गरेको बताउँदै उनले पछिल्लो समय संविधान माथि नै प्रहार गरेर मुलुकलाई अनिर्णयको बन्दी बनाएको बताए ।

कांग्रेसले कम्युनिष्टको विरोध गरिरहन आवस्यक नरहेको बताउँदै बिकले उनिहरुको चरित्र व्यवहार, भन्ने र देखाउने कुरा विभिन्न कित्तामा उभिएर आफै एक अर्काको खण्डन गरिरहेको बताए । बिकले माफिया, बलात्कारी, भ्रष्टाचारी, अपराधी को हो भन्ने कुरा उनिहरुले आफै बोलिरहेको बताए । कम्युनिष्टको चरित्र व्यवहार सडकमा छताछुल्ल भएको बताउँदै अब नेपाली जनाताले सोचबुचका साथ अगाडी बढेन भने जनता र देशको भविस्य नै खतारामा रहेको उनको भनाई छ ।

संसद विघटन पछि सत्तामा रहेका र सडकमा रहेका सबै कम्युनिष्टहरुको चरित्र, व्यवहार र उद्येश्य एउटै भएको महिला संघकी अध्यक्ष माया कुवँरले बताइन् । नेपाली कांग्रेसले जेल नेल गरेर, बलिदान त्याग दिएर बनाएको घर कम्युनिष्टहरुले भताभंग पारेको उनको आरोप छ । सत्तामा रहेको केपी ओली समुह र माधन प्रचण्ड समुहको झगडालाई अङ्कित गर्दै अध्यक्ष कुवँरले एउटा कुकुर बाहिर बाट र अर्को कुकुर भित्रबाट भुकिरहेको बताइन् । महिला, बालबालीकाहरुले समेत न्याय नपाएको बताउँदै उनले नेपालबाट कम्युनिष्टहरु पतनको बाटोमा रहेकाले तिनको कार्यशैली, नैतिकता, व्यवहार र चरित्रमा कसैले विश्वास नगर्न आग्रह गरिन् ।

तरुण दलका अध्यक्ष नारायण बलायरले आफुहरुले देशैभर गरेको आन्दोलन सांकेतिक मात्र भएको बताए । उनले अदालतको निर्णय पछि आन्दोलनलाई शशक्त बनाएर लग्ने र सर्वसत्ताबादी निरंकुश, असफल शासकलाई राणा, राजालाई फाले जस्तै गरी फाल्ने चेतावनी दिए । अध्यक्ष बलायारले प्रधानमन्त्रीले गरेको असंबैधानिक कदम पछि कम्युनिष्टको चरित्र प्रष्ट भएको बताउँदै कम्युनिष्टको प्वाख कम्युनिष्टले नै भाँचिहरेको बताए ।

नेवि संघका नेता सोपान सिंह बोहराले कम्युनिष्टहरुको हातमा सत्ता पुग्ने वित्तिकै उनिहरुले देशको दोहन गर्ने गरेको आरोप लगाए । वर्तमान सरकार र त्यो सरकारसँग जोडिया सबै कम्युनिष्टहरुले मुलुकलाई बबार्दिको बाटोमा पु¥याएको उनको भनाई छ । भ्रष्टाचारी, अपराधी, बलात्कारी, निरंकुशताबादी र तस्करका हातमा देश गएको कुरा प्रतिपक्षिले बोल्नै नपरेको बताउँदै नेता बोहराले कुन कम्युनिष्ट नेताहरु के हुन् भन्ने कुरा एक अर्काले पोल खोल्दै गरेकोले आफै प्रष्ट भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कांग्रेसले तेस्रो चरणको आन्दोलनमा छ । तेस्रो चरणअन्तर्गत कांग्रेसले माघ २४ गते शुभेच्छुक संस्थाहरुलाई ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा आयोजना गर्न निर्देशन दिएको छ ।
यस्तै कांग्रेसले जिल्ला कार्यसमितिहरुलाई माघ ३० गते जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन र सभा आयोजना गर्न भनेको छ ।

Related News

समस्याग्रस्त सहकारीका ६ हजारभन्दा धेरै बचतकर्ताको बचत रकम फिर्ता
समस्याग्रस्त सहकारीका ६ हजारभन्दा धेरै बचतकर्ताको बचत रकम फिर्ता
  • २०७७ माघ १९

दिपायल । समस्याग्रस्त सहकारीका ६ हजार धेरै बचतकर्ताको बचत फिर्ता...

TOP