उनले भनिन्, ‘ हामीले आजदेखि नै नेपालमा आइफोन १६ का सिरिजहरू नेपाली उपभोक्ताले देशभरका स्टोरहरूबाट किन्न पाउनेगरी उपलब्ध गराइसकेका छौं।’
उनका अनुसार काठमाडौंमा न्युरोडमा जोय स्टोर, इभोस्टो र बबरमहलमा रहेको ओलिभ स्टोरबाट आइफोन १६ का सिरिजहरू किन्न सकिनेछ भने उपत्यका बाहिर पोखराको एमएस ट्रेड, विराटनगरमा अरूण इलेक्ट्रोनिक्स र लक्ष्मी एपस्टोरबाट पनि आइफोन १६का सिरिजहरू किन्न सकिनेछन् ।
यस्तै बुटबलको गौरा र एभरेष्ट जेनेरेशन, बिर्तामोडमा रहेको क्वालिटी कम्प्युटर र श्रेष्ठ मोबाइल तथा बारामा रहेको एमएमएस जीतपुरस्टोरबाट पनि आइफोनका १६ सिरिजहरू किन्न सकिने जेनेरेशन नेक्स्टले जनाएको छ ।
आइफोन १६का सिरिजहरू इएमआई गरेर उपभोक्ताले नबिल बैंक र ग्लोबल आईएमई बैंकबाट किस्ताबन्दीमा लिन सक्ने भिमसरियाको भनाइ छ ।
एप्पलका म्याकबुक र आइप्याड किन्न हुलास फाइन्सबाट ईएमआई मार्फत उपलब्ध रहेकोउनले बताइन् ।
यो सिरिज अन्तर्गत कुल चार मोडेल (आईफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रोम्याक्स) रहनेछन्, जसको मूल्य मोडेल र क्षमता अनुसार फरक–फरक हुने उनले बताइन् ।
साथै नेपालमा आइफोन १६ सिरिजसहित एप्पल वाच सिरिज १०, एप्पल वाच अल्ट्रा २, इयरपड्स ४, इयरपड्स म्याक्स समेत ल्याइसकिएको छ ।
सन् २००७ मा सानफ्रान्सिस्कोमा आयोजित म्याकवर्ल्ड एक्सपोमा एप्पलका मालिक स्टिभ जब्सले पहिलो आइफोन सार्वजनिक गरेका थिए ।
पहिलो आइफोनको मूल्य ३ सय ९९ अमेरिकी डलर (हालको नेपाली रुपैयाँ साढे ५३ हजार) थियो । त्यतिबेला त्यसलाई हाँसोमा उडाइएको थियो । तर, अहिले एप्पल कम्पनी विश्वको सबैभन्दा धनी कम्पनीको सूचीमा पर्दछ । र, एप्पलले उत्पादन गर्ने आइफोन लगायत विद्युतीय सामानको लोकप्रियता बढ्दो छ ।
आइफोन १६ मा खास के छ ?
आइफोन १६ का विभिन्न विशेषता छन् । तीमध्ये एक हो आर्टिफिसियल इन्टिलिजेन्स (एआई) ।
एप्पल कम्पनी प्रमुख टिम कुकले सार्वजनिक समारोहमा एप्पल इन्टिलिजेन्स र यसको उत्कृष्ट क्षमतासाथ नयाँ डिजाइनमा आइफोनलाई ल्याएको बताएका थिए। गत जुनमा सार्वजनिक गरिएको एप्पल इन्टिलिजेन्सभन्दा शक्तिशाली र नयाँ पर्सनलन इन्टिलिजेन्स सिस्टम धेरै तरिकाले अलग छ ।
एप्पलका अनुसार अहिलेको नयाँ एआई सिस्टमबाट टेक्स्ट, पिक्चर र भिडियोमा सपोर्ट मिल्ने छ । यसबाट उत्पादन बढ्ने र सिरी पहिलेभन्दा अझै प्रभावकारी सावित हुने दाबी गरिएको छ । यद्यपि, एप्पल इन्टिलिजेन्स फिचर केही महिनापछि मात्र सुरु हुनेछ । पहिले यसलाई केही देशमा मात्र बिटा भर्सनमा मात्र सुरु गरिने छ ।
आइफोन १६ सिरिजमा क्यामरा एक्सन कन्ट्रोलका लागि साइड प्यानलमा एक बटन राखिएको छ । यसको प्रयोगबाट मोबाइल प्रयोगकर्ताले क्यामरा एप खोल्ने, फोटो खिच्ने, भिडियो बनाउने, जुम गर्ने गर्न सक्छन् ।
यस्तै एक्सपोजर, डेप्थ, फिल्ड कन्ट्रोल जस्ता काम पनि त्यही बटनबाट हुनेछ ।यसबाट फोटो खिच्न र भिडियो बनाउन अझै सहज हुने कम्पनीको दाबी छ । केही महिनापछि एप्पल इन्टिलिजेन्स सुरु हुनासाथ क्यामरा कन्ट्रोल मार्फत् भिजुअल इन्टिलिजेन्स पनि प्रयोगकर्ताले पाउने छन् ।
एक्सन बटन
आइफोन १६ सिरिजमा एक्सन बटन पनि राखिएको छ । प्रयोगकर्ताले यो बटनमा एकपटक थिचेर विभिन्न फङसनमा सजिलैसँग जान सक्छन् । उदाहरणका लागि फ्ल्यास लाइट, क्यामरा वा कन्ट्रोल यसैबाट खोल्न सकिन्छ । रिङ वा साइलेन्ट मोडमा पनि जान सकिन्छ । यसका अलावा अन्य नयाँ अप्सन पनि यसमा मिल्ने छ ।
ए १८ चिप
आइफोन १६ सिरिजमा एप्पल इन्टिलिजेन्सका लागि विशेषगरी ए १८ चिप प्रयोग गरिएको छ । यसबाट पावर क्षमतासँगै ब्याट्रीको लाइफ पनि बढ्ने कम्पनीको दाबी छ । यो विगतका आइफोन सिरिजभन्दा दुई जेनेरेसन अगाडिको चिप हो । आइफोन १५ मा ए१६ बायोनिक चिप प्रयोग गरिएको थियो ।
क्यामरा
आइफोन १६ मा ४८ मेगापिक्सेलको डुअल क्यामरा सिस्टम छ । साथै, टेलिफोटो लेन्स २ गुणा जुम क्षमताको छ । आइफोन १६ प्रोमा भने यो ५ गुणा जुम क्षमताको छ ।
ब्याट्री
आइफोन १६ एकपटक फुल चार्ज गरियो भने लगातार २७ घण्टासम्म भिडियो हेर्न सकिने ब्याट्री क्षमता रहेको दाबी कम्पनीले गरेको छ । आइफोन १६ प्रोमा भने यस्तो क्षमता ३३ घण्टाको छ ।
कलर, डिस्प्ले र क्यापासिटी
आइफोन(१६ र आइफोन १६ प्लस कालो, सेतो, गुलाबी, हल्का हरियो र निलो गरी पाँच रङमा उपलब्ध छ । आइफोन १६ प्रो र प्रोम्याक्स भने कालो, सेतो, क्रिम र हल्का सुनौलो गरी चार रङमा उपलब्ध छन् ।
आइफोन १६ को साइज ६.१ इन्चको छ । आइफोन १६ प्लस ६.७ इन्च र आइफोन १६ प्लसको साइज ६.७ इन्चको छ ।
यसैगरी आइफोन १६ प्रोको साइज ६.३ इन्च र आइफोन १६ प्रो म्याक्सको साइज ६.९ इन्च छ ।
आइफोन १६ र आइफोन १६ प्लस १२८ जीबी, २५६ जीबी र ५१२ जीबी गरी तीन भेरिएन्टमा उपलब्ध छन् ।
आइफोन १६ प्रोका १२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी गरी चार भेरिएन्टमा उपलब्ध छन् ।
आइफोन प्रोम्याक्स भने २५६ जीबी, ५१२ जीबी र १ टीबी गरी तीन भेरिएन्टमा उपलब्ध छन् ।