नेपाली बजारमा सुनको मुल्य तोलाको दुई लाख आसपास पुग्ने अनुमान गरिएको छ । अहिले नेपालमा प्रतितोला एक लाख पाँच हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुनको मूल्य निर्धारणले नै नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ । नेपाली बजारको मागले मूल्यमा खासै भूमिका खेल्दैन ।
सिंगापुरमा मुख्यालय रहेको स्विस एसिया क्यापिटलका प्रबन्ध निर्देशक तथा चिफ इन्भेस्टमेन्ट अफिसर यर्ग काइनरले सन् २०२३ मा सुनको मूल्य प्रतिऔंस दुई हजार पाँच सयदेखि चार हजार डलरसम्म पुग्ने प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनबिसीले उल्लेख गरेको छ ।
सुनको तौल प्रतिऔंस बराबर ३१.१ ग्राम हुन्छ। सुनबाहेक अन्य वस्तुमा भने प्रतिऔंस बराबर २८.३४ ग्रामले हिसाब गरिन्छ। त्यस्तै प्रतितोला सुन ११.६६४ ग्राम बराबर हुन्छ । अहिले डलरको बिनिमयदर एक सय ३० रूपैयाँ छ ।
काइनरको प्रक्षेपण अनुसार प्रतिऔंस सुनको मूल्य साँच्चिकै चार हजार डलरसम्म पुगेमा नेपालमा प्रतिऔंस सुनको करिब पाँच लाख २० हजार रूपैयाँ पर्न आउँछ । यस आधारमा प्रतिग्राम सुनको नेपालमा १६ हजार सात सय २० रूपैयाँ पर्नेछ भने एक तोला सुन (११.६६४ ग्राम) को एक लाख ९५ हजार रूपैयाँ पर्नेछ । हाल सुन आयात गर्दा प्रति दस ग्राम आठ हजार पाँच सय रूपैयाँ भन्सार कर लाग्ने गरेको छ ।
दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...