२०८० मंसिर १९, मंगलवार
December 5, 2023, Tuesday

यी हुन नेपालमा सबै भन्दा बढी बिक्री हुने उत्कृष्ट क्यामेरा भएका मोबाइल

काठमाडौँ- पछिल्लो समय आम मानिसले स्मार्ट जीवन बिताउन चाहान्छन् । आधुनिक युगको सुरुआतसँगै मानिसका आवश्यकता थपिँदै गएका छन् ।

अहिले सूचना प्रविधि अनिवार्य आवश्यकताभित्र पर्न थालेको छ । प्रविधिमध्ये पनि मोबाइल सबैभन्दा छिटो र सजिलो सञ्चारको माध्यम बनेको छ । आफन्तसँग कुराकानी गर्न होस्, कार्यालयको काम होस् वा समाचार हेर्न, सुन्न सबै मोबाइलकै प्रयोगबाट गर्न सकिन्छ ।

नेपालमा मोबाइल सेवाको इतिहास त्यति लामो नभए पनि प्रविधि विकाससँगै यसको प्रयोग बहुआयामिक हुँदै गएको छ । नेपाल टेलिकमले सर्वसाधारणलाई पोस्टपेड र प्रिपेड सिमकार्ड वितरण गर्न थालेसँगै नेपालीको सूचना प्रविधिमा पहुँच बढ्दै गएको हो ।

कुनै समय नोकिया फोनले एकछत्र राज गरेको नेपाली बजारमा अहिले धेरै उत्कृष्ट ब्राण्डले राज गरेका छन् । केही कम्पनीबीच प्रतिस्पर्धाको होडबाजी नै चलिरहेको छ । यतिबेला सामसङ, रेडमी एमवानका सेरिज, रियल मी, वानप्लस, ओप्पो, नोकिया, टिटिएललगायतका ब्राण्ड बिक्री हुने ताम्राकार कप्लेक्सस्थित वेस्ट टिच सेन्टरका म्यानेजर कृष्ण महतले बताउनुभयो ।

उहाँका अनुसार रेड्मी पछिल्लो समय सबैभन्दा राम्रो बिक्री हुने गरेको छ । उहाँले भन्नुभयो, “रेड्मीका सबैभन्दा कम मूल्यका रु १३ हजारदेखि धेरै रु ९५ हजारसम्मका मोबाइल अहिले बजारमा उपलब्ध छन् ।” सामान्य विशेषता भएका मोबाइल विद्यार्थी र घरमा बस्ने आमाबुवाले मात्र प्रयोग गर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नर्मल रेन्जका मोबाइलमा दुई जीवी र्‍याम, ३२ जीवी इन्टर्नल मेमोरी, नर्मल क्यामेरा आठ एमबी, ब्याट्री पाँच हजार एमएस र डिस्प्ले छ सय पाँच रेन्जको हुन्छ, यस्तो फोनबाट सामान्य काम गर्न सकिन्छ ।”

महँगो मोबाइल व्यवसायी र विशेष गरी धनाढ्य परिवारका विद्यार्थीले खरिद गर्ने उल्लेख गर्दै उहाँले युवायुवतीले मोबाइलमा गेम खेल्न वानप्लसको मि को सेरिज उपयुक्त हुने बताउनुभयो । आइफोनको बिक्री अहिले खासै नभएको भन्दै महतले दसैँ नजिकिए पनि व्यापार भने सरकारी बिदा भएपछि मात्र सुरु हुने जानकारी दिनुभयो । अहिले मोबाइल युवाको व्यक्तित्व झल्काउने वस्तुका रूपमा समेत बुझ्न थालिएको देखिन्छ । मानिस सबै छाडेर पनि मोबाइलबाट भने टाढा हुन नसक्ने अवस्थामा पुगेको छन् । नेपाली समाज सुहाउँदो हरेक किसिमका मोबाइल फोन नेपाली बजारमा उपलब्ध छन् ।

विगत दुई वर्ष कोरोना महामारीले व्यापार चौपट बनाएको उल्लेख गर्दै त्यसको असर अहिलेसम्म हट्न नसकेको टु फोर सिक्स इम्पेक्स प्रालीका सञ्चालक विवश सुवेदी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले व्यापारको अवस्था अन्तिम वर्षको भन्दा कम छ ।”

महँगो मूल्यका मोबाइल खोज्ने उपभोक्ताको सङ्ख्या निकै कम भएको भन्दै उहाँले रु १५ देखि २० हजार रेन्जका मोबाइल नै बढी बिक्री हुने बताउनुभयो । “सामान्य रेन्जका मोबाइलमा छ जीवी र्‍याम, १२ जीवी इन्टरनल मेमोरी, दुई सय २८ जीवी इन्टर्नल मेमोरी हुन्छन् र हाइरेञ्जमा चार जीवी र्‍याम, ६४ जीवी इन्टनल मेमोरी हुन्छन्”, उहाँले भन्नुभयो । उपभोक्ताले आफ्नो क्षमताअनुसार मोबाइल खरिद गर्ने उहाँको भनाइ छ ।

सरकारले लगाएको तीन सय डलर माथिको सामानमा लगाएको प्रतिबन्धले नेपाली बजारमा फोन नै कम आएको ओरेञ्ज फेयर डिलका म्यानेजर विवेक पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले मार्केटमा बिक्री हुने तीन सय डलरभन्दा कम मूल्यका मोबाइल हुन्, पछिल्लो समयमा पुरानो स्टक भएका फोनमा वान प्लसका सेरिज महँगो रेन्जमा आएको छ ।” सामसङ एस सेरिज९ स्टक सकिएर समस्या आइरहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार बजारमा रु १५ देखि ३० हजारसम्म मूल्य भएका मोबाइल बिक्री भइरहेका छन् । “अहिले ग्राहकहरूले क्यामेराको गुणस्तर, र्याम, रोम बढी भएका मोबाइल मात्रै खोज्छन्, आजभोलि धेरै खोजिने भनेकै क्यामेराको हाइ मेघापिक्सल हो”, उहाँले भन्नुभयो । ओप्पो र सामसङ ब्राण्डका मोबाइल नै बढी बिक्री भइरहेको उहाँको दाबी छ । सामसङ कम्पनीका मोबाइल रु २२ हजार देखि रु ५५ हजार रेन्जका बढी बिक्री हुने उहाँले बताउनुभयो ।

त्यस्तै सामसङको उच्च रेन्जमा एस २२ अल्टा आएको र आयातमा समस्या भएकाले उपभोक्तालाई सबै भेरियन्टमा उपलब्ध गराउन नसकेको पौडेलले गुनासो पोख्नुभयो । यसको मूल्य बजारमा रु एक लाख ७० हजारदेखि रु ८० हजारसम्म रहेको बताउनुभयो ।

पौडेलले ओप्पो ब्राण्डको रु ४५ हजार मूल्यको पछिल्लो समय एफ २१ प्रो मोबाइल आएको बताउँदै त्यसमा सोनीको सात सय नौ क्यामेरा प्रयोग भएकाले उत्कृष्ट काम गर्ने दाबी गर्नुभयो । युवाले रोज्ने मोबाइलको मूल्य रु ४० देखि र ६० हजारसम्म पर्ने उहाँको भनाइ थियो ।

बजारमा रु दुई लाख ३५ हजार पर्ने सबैभन्दा महँगा मोबाइल व्यवसायीले खरिद गर्ने उहाँको भनाइ छ । सामसङ, ओप्पो र भिभोमा समस्या कम देखिएको र टिटिएल, लाभाका ब्राण्डमा समस्या धेरै देखिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “तिनीहरूमा सफ्टवेयर इस्यु बढी आउने देखिएको छ ।”

पौडेलले दसैँ विशेष व्यापार सुरु नभइसकेको बताउँदै उपभोक्ताले विभिन्न ब्राण्डको अफर पर्खिरहेको टिप्पणी गर्नुभयो । एक सातादेखि खासै व्यापार नभएको भन्दै उहाँले कम्पनीका अफरबारे थाहा पाएलगत्तै उपभोक्ताको सङ्ख्या ह्वात्तै बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

सामसङ कम्पनीको मोबाइल खरिद गर्न आउनुभएका विद्यार्थी सन्दिप शर्माले १२ जीवी र्‍याम, एक सय २८ जीवी इन्टर्नल मेमोरी, कभर, क्यामेरा उत्कृष्ट, प्रोसेसर जस्ता विशेषता भएको मोबाइल खरिद गर्न खोजेको बताउनुभयो । उक्त विशेषता भएका मोबाइलमा अध्ययन गर्न र गेम खेल्न सजिलो हुने उहाँको विश्वास छ ।

कलेजमा अध्ययनरत रोजिना कार्कीले आफ्नो बजेटअनुसार फिचर राम्रो भएको मोबाइल किन्न बजार आएको बताउनुभयो । बजारमा आएका ब्राण्डमध्ये आफूलाई वान प्लस मन परे पनि रकम अभावले रेड्मी खरिद गर्ने सुनाउनुभयो । “रेडमीमा पनि र्‍याम, रोम र प्रोसेसर उत्कृष्ट छ”, उहाँले भन्नुभयो ।

इलामका ऋषव तामाङले आइफोन १४ सेरिज भर्खरै लन्च भएको भन्दै त्यसबारे बुझ्न आएको बताउनुभयो । आइफोन १४ मा इन्टरनेट उपलब्ध नभए पनि अप्ठ्यारो परे तत्काल उद्धार गर्न सकिने नयाँ प्रविधि आएको उहाँले जानकारी दिनुभयो । वान प्लस, सामसङ, शाओमीको एमआइमा राम्रो फिचर रहेको उहाँको भनाइ छ । “आइफोनबाहेक मलाई रेड्मी (एमवान) नै मन पर्छ, त्यसमा अन्य कम्पनीको तुलनामा एउटै मूल्यमा पनि राम्रो विशेषता रहेका छन्”, उहाँले भन्नुभयो ।रासस

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७९ भाद्र २६

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP