हिमाल जोशी, धनगढी – टाउकोमा नाम्लो । पिठ्यूँमा ठूलो जार । बाटैमा हिँड्दै गर्दा उनले भनिन्–‘तल नहरमा पानी लिन जान लागेको ।’ उनी, अर्थात् कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बान्द्रेगडाकी नन्दा बोहरा ।
नन्दाका अनुसार उनको बस्तीमा खानेपानी सुविधा नभएकाले आधा घण्टा हिँडेर नहरबाट खानेपानी ल्याउनु पर्ने बाध्यता छ । उनले भनिन्, ‘यहीँ कतै (बान्द्रेगडा) मा खानेपानीको आयोजना बन्दै छ भन्ने सुन्दैछौँ, खै कहिले पुग्ने हो खानेपानी?’
सोही वडाको हार्टखोलीकी दीपादेवी साउद सिँचाईका लागि बनाइएको कुलोबाट जर्किनले गाइगोरुका लागि बनाइएको कुँडोको भाँडोमा पानी भर्दै थिइन् । उनले भनिन्, ‘हामी त यो कुलोको पानी खाँदैनौ, तर गाई गोरुका लागि यही पानी प्रयोग गर्छौँ ।’ उनले पनि बस्ती भरी खानेपानी समस्या रहेको गुनासो गरिन् ।
साबिकको गोदावरी गाविस वडा नम्बर ८ (हाल वडा नम्बर ४) को हार्टखोली, बन्द्रागढा, फूलबस्ती, बुढीतोला लगायतका बस्तीका मानिस खानेपानीको सुविधा नहुँदा खोला, नहर तथा मुलको पानी पिउन बाध्यता रहेको वडा अध्यक्ष प्रेमबहादुर भण्डारीले बताए ।
हार्टखोली, बन्द्रागढाका बस्तीमा खानेपानीको व्यवस्था नभए पनि ठाउँ–ठाउँमा धारा बनाइएको छ । तर, ती धारामा पाइप जोडिएका छैनन् । सिमेन्टले बनाइएको धारामा टुटी समेत जोडिएको छैन । बान्द्रेगडाका देवबहादुर नेपालीले भने, ‘यहाँ खोलाबाट पानी बोकेर ल्याएर खानुपर्ने अवस्था छ ।’
उनले बस्तीमा राखिएको धाराहरूको छेउमा पाइपहरू राखिएको बताउँदै तर, ती पाइपमा कहिले काँही मात्र पानी आउने गरेको उल्लेख गरे । उनले सिँचाईका लागि बनाइएको नहरबाटै पानीको व्यवस्था बस्तीमा पुर्याइएको बताए ।
गोदावरी नगरपालिकाको हार्टखोली अहिले आन्तरिक पर्यटकको रोजाई बनेको छ । त्यहाँ स्थित कालीखोला (खुटिया नदी) मा नुहाउन तथा पिकनिकका लागि रोजाइ स्थल बनेको छ । हार्टखोलीमा होटल व्यवसाय गरिरहेका डम्बरबहादुर बोहराले भने, ‘यहाँ चैत महिनादेखि अशोजसम्म गर्मी छल्न आन्तरिक पर्यटकहरू आइरहन्छन् ।’ तिहारपछि पिकनिकका लागि आउने गर्छन् । उनले खानेपानी समस्या हु“दा आन्तरिक पर्यटकहरूले पनि समस्या भोग्नुपरेको बताए ।
उनले स्थानीय तह, प्रदेश तथा संघीय सरकारले खानेपानीको व्यवस्था गरिदिए हार्टखोलीमा पर्यटकको संख्या बढ्ने विश्वास व्यक्त गरे ।
बान्द्रेगडाका रत्नी साउदले खोलाबाट पानी ल्याएर पिउ“दा स्वास्थ्य समस्या भोग्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘मानिस, पशुहरूले नुहाएको खोलाकै पानी हामी पिउँदै छौँ । त्यो पानीले गर्दा झाडापखाला, हैजा, आउँ लगायत वर्षौँसम्म बिरामी भएर अन्य रोगको शिकार हुनुपर्ने अवस्था छ ।’
वडा अध्यक्ष प्रेमबहादुरले भने, ‘साविकको गोदावरी गाविसका पहाडी क्षेत्रका स्थानीयहरूको खानेपानीको समस्या समाधान गर्न लागिरहेका छौँ ।’ सो वडामा झण्डै दुई हजार एक सय बढि घरधुरी रहेका छन् ।
उनले पहाडी क्षेत्र भएकाले भूमिगत प्रविधिबाट खानेपानीको व्यवस्था गर्न सम्भव नरहेकोले लिफ्ट प्रविधिबाट खानेपानीको व्यवस्था गर्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘बन्द्रागढामा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट भूमिगत प्रविधिबाट पानीको व्यवस्था गर्न कार्य अघि बढाइएको छ । त्यहाँ अहिले बोरिङ गाडिसकिएको छ ।’ उनका अनुसार सो आयोजना पूर्ण भए झण्डै तीन सय घरधुरी लाभान्वित हुने छन् ।
उनका अनुसार नगरपालिकाले अहिले बुढीतोलामा लिफ्ट खानेपानी आयोजनाको कार्य अघि बढाएको बताए । बुढितोलामा खानेपानीको व्यवस्था गर्न चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन गरिएको उनले बताए ।
उनका अनुसार आयोजनाको काम अघि बढाउने अहिले उपभोक्ता समिति गठन गरिएको छ । बुढितोलाको आयोजनाबाट पाँच सय घरधुरी लाभान्वित हुने बताए ।
उनले सोलारको प्रयोगबाट लिफ्ट प्रविधिको खानेपानी योजना अघि बढाउँदा लागत बढ्न सक्ने बताए । देश सञ्चारबाट
काठमाडौं – सरकारले कानुनविद्हरूको सल्लाह सुझावका आधारमा रेशम चौधरीलाई रिहाइ...