२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

बजार कहिले आउछ काेराेनाविरुद्धकाे खाेप ?

काठमाण्डौं- विश्वभरलाई ठप्प प्रायः बनाएको तथा गम्भीर जनस्वास्थ्य संकट उत्पन्न गराएको कोरोना भाइरसविरुद्धको खोपको विकासमा वैज्ञानिकहरुको प्रयास सार्थक बन्ने क्रममा देखिएको छ।

दुई खोपहरुको बिस्तारित परीक्षणमा प्रभावकारिता राम्रो देखिएपछि चाँडै अर्थात यो वर्ष (२०२०) को अन्त्य वा आउँदो वर्षको सुरुमा खोप उलब्ध हुने अपेक्षा वास्तविकतामा आधारित जस्तो लाग्न थालेको छ।

फाइजर र मोदेर्नाले विकास गरेका खोपको प्रभावकारिता क्रमशः ९० प्रतिशत र ९४.५ प्रतिशत देखिएको छ। दुवै खोप अन्तिम चरणको परीक्षणको बिस्तारित विश्लेषणात्मक प्रतिवेदनपछि स्वीकृतिको प्रक्रियामा जाने तयारीमा छन्।

वर्ष दिन पहिले चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वका पाँच करोड ४९ लाख ८८ हजार भन्दा धेरै मानिस संक्रमित भएका छन्। कोभिड–१९ ले विश्वभर हालसम्म १३ लाख २६ हजार भन्दा धेरैको ज्यान लिएको छ।

महामारी नियन्त्रणको अन्तिम तथा प्रभावकारी विकल्पका रुपमा हेरिएको खोप विकासका लागि विश्वभरका वैज्ञानिक तथा औषधि उत्पादक ठूला कम्पनी र सरकारहरु लागि परेका छन्।

संक्रमण फैलिन नदिन वा दर कम गर्नका लागि मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, परीक्षण तथा आइसोलेशनमा बस्नेसहितका उपायहरु प्रभावकारी छन्। खोपले विश्वमा देखिएको जनस्वास्थ्य ‘आपतकाल’ को अवस्थालाई अन्त्य गरि पुनः जनजीवन पूर्ववत सामान्य तर्फ लैजाने आश गरिएको छ।

सामान्य अवस्थामा नयाँ खोप विकास गर्नका लागि वर्षौैँ लाग्छ। तर कोरोना भाइरसविरुद्धको खोप सक्दो चाँडो विकास गर्नका लागि वैज्ञानिकहरु लागि परेका छन् र त्यसमा सफल हुँदै गएको पनि देखिएको छ।

अहिले कोरोना भाइरसविरुद्धका ६७ वटा खोप मानवीय परीक्षणको विभिन्न चरणमा छन् । यस्तै कम्तिमा ८७ वटा सम्भावित खोपहरु जनावरमा परीक्षणको क्रममा रहेका छन्।

कोरोना भाइरस विरुद्धको खोप विकासको काम गएको जनवरीमा सुरु भएको हो र गएको मार्चमा पहिलो पटक मानिसमा परीक्षण थालिएको थियो । अहिले १२ वटा सम्भावित खोपहरु मानवीय परीक्षणको अन्तिम अर्थात तेस्रो (बिस्तारित) चरणमा छन् ।

यी मध्ये केही खोपहरु यो चरणको परीक्षणमा असफल हुने वा स्पष्ट नतिजा बिहीन हुने सम्भावना यथावत छ । तर केही खोपहरु कोरोना भाइरसविरुद्ध लड्न र संक्रमण हुन नदिन सफल हुने अपेक्षा छ र त्यसमा आशलाग्दो नतिजा पनि आउन थालेका छन् ।

अहिले मानवीय परीक्षणको पहिलो चरणमा ३८ तथा दोस्रो चरणमा १७ वटा खोप रहेका छन् । तेस्रो चरणको परीक्षणमा रहेका १२ मध्ये ६ खोपलाई आपतकालीन वा सीमित समूहमा प्रयोगका लागि स्वीकृत प्रदान गरिएको छ । अहिलेसम्म कुनै पनि खोपले सर्वसाधारणमा प्रयोगका लागि औपचारिक स्वीकृति पाएका छैनन् ।

खोपको विकासको क्रममा मानवीय परीक्षणमा आउनु पूर्व सम्भावित खोप मुसा, बाँदरसहितका जनावरहरुमा परीक्षण गरिन्छ । अहिले सो चरणमा कम्तिमा ८७ वटा सम्भावित खोपहरु रहेको न्यूयोर्क टाइम्सले जनाएको छ ।

पहिलो चरणको मानवीय परीक्षणमा सीमित व्यक्तिमा सम्भावित खोपको प्रभाव हेरिन्छ भने त्यसमा सुरक्षित देखिएका खोपको दोस्रो चरणमा केही सय मानिसमा परीक्षण हुन्छ ।

दोस्रो चरणको परीक्षणमा प्रभावकारी तथा सुरक्षित देखिएका खोपको तेस्रो अर्थात अन्तिम चरणको बिस्तारित परीक्षण हुन्छ, जसमा हजारौँ व्यक्तिमा खोप परीक्षण हुन्छ ।

अहिले चीन तथा रुसले तेस्रो चरणको परीक्षणको नतिजा नआउँदै खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएका छन् । विज्ञहरुले यसले गम्भीर समस्या निम्त्याउन सक्ने चेतावनी भने दिइरहेका छन् ।

तेस्रो चरणको परीक्षणमा प्रभावकारी तथा सुरक्षित देखिएको खोप सर्वसाधारणको प्रयोगमा ल्याउनका लागि नियामक निकायले नतिजाको विश्लेषण गरि स्वीकृति प्रदान गर्छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ मंसिर २

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP