२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

अस्पताल भर्ना हुने कोरोना संक्रमितमध्य धेरैजसो गम्भीर अवस्थाका

काठमाडौंं– सकारले यही कात्तिक दुई गते संविधान, जनस्वास्थ्य ऐन र सर्वोच्च अदालतको परमादेशविपरीत कोरोना संक्रमितले उपचारको प्रबन्ध आफैं गर्नुपर्ने विवादास्पद निर्णय गर्‍यो। सरकारको निर्णयसँगै विभिन्न अस्पतालहरुले अस्पतालमा भर्ना हुनुपूर्व धरौटी राख्नुपर्ने निर्णय गरे। यो निर्णयसँगै होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या बढ्यो। 

कोरोना परीक्षणको लागि अस्पताल र प्रयोगशालमाहरुमा लाइन लाग्न छोड्यो। अस्पतालका बेड पनि रित्तिँदै गए। सरकारको निर्णय र दसैंको समय भएकाले पनि आधाभन्दा धेरै संक्रमित होम आइसोलेसनमा बसे। यसको परिणाम केही दिनयता देखिन थालेको चिकित्सकहरुले जनाएका छन्। 

दसैंको समयमा खाली भएका अस्पतालका बेड अहिले फेरि भरिन थालेका छन्। दसैंमा होम आइसोलेसनमा बसेका संक्रमितहरु स्वास्थ्य अवस्था गम्भीर हुन थालेपछि मात्रै अस्पतालमा पुग्न थालेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन्। उनका अनुसार अस्पताल पुग्नेहरुमा पनि धेरैजसो वृद्धवृद्धा छन्। 

‘दसैंको समयमा अस्पतालमा बिरामीको संख्या कम थियो। संक्रमितहरु होम आइसोलेसनमा बसेका रहेछन्। अहिले अस्पतालमा बढी आउन थालेका छन्। त्यसमा पनि वृद्धवृद्धा बढी छन्। उनीहरु अस्पताल आइपुग्दा अवस्था गम्भीर भइसकेको हुन्छ र बचाउन निकै कठिन हुन्छ,’ बास्ताेला भन्छन्।

संख्यात्मक  हिसाबले  अस्पतालमा पुग्नेको संख्या धेरै नबढे पनि गम्भीर बिरामीहरु बढेकाले मृत्युदर बढ्नसक्ने उनकाे अनुमान छ।

त्रिवि शिक्षण अस्पतालमा पनि दसैंको समयभन्दा बिरामीको संख्या बढी छ। त्यहाँ पनि वृद्धवृद्धाको संख्या बढी छ। त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासका अनुसार सरकारको निर्णयले घरमा बसेका संक्रमितमध्ये ६० वर्षमाथिकालाई स्वास्थ्यमा बढी समस्या देखिएको छ। अस्पतालमा भएका संक्रमितमध्ये आधाजसो वृद्धवृद्धा छन्। 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि सिकिस्त अवस्थाका बिरामीको संख्या बढ्दै गएको छ। अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार संक्रमितहरु शरीरमा अक्सिजनको मात्रा निकै कम भएपछि मात्रै अस्पतला पुग्ने गरेका छन्। 

सशस्त्र प्रहरी अस्पताल बलम्बुका चिकित्सक डा. प्रविन नेपालका अनुसार पहिलाको भन्दा अवस्था खराब बन्दै गएको छ। ‘होम आइसोलेसनमा बसेर आएका बिरामीको शरीरमा धेरै नै अक्सिजन कम देखिएको छ। संक्रमितलाई सुरुबाटै उपचार गर्न नपाउँदा र उनीहरुलाई निकै गाह्रो भएपछि अस्पताल आउँदा  बचाउन पनि कठिन हुन्छ,’ उनले भने। हाल एपीएफ अस्पतालमा आधाभन्दा धेरै संक्रमित ६० वर्षमाथिका छन्। साथै उनीहरुको अवस्था अन्य बिरामीको तुलनामा गम्भीर छ।

नेपालमा संक्रमणको पछिल्लो अवस्थालाई विश्वका अन्य मुलुकसँग तुलना गर्दा मृत्युदर न्यून छ। नेपालको ०.६ प्रतिशत मृत्युदर अन्य देशको तुलनामा कम हो। तर, वृद्धवृद्धामा कोरोना संक्रमण भएको अवस्थामा यसले धेरैको ज्यान लिन सक्ने डा. बास्तोला बताउँछन्। उनका अनुसार पछिल्लो अवस्था हेर्ने हो भने ६० वर्षमाथिका वृद्धवृद्धामा ध्यान दिनुपर्ने जरुरी छ। सबै उमेर समूहमा संक्रमण भए पनि वृद्धवृद्धालाई विशेष ध्यान दिएर जोगाउनु आवश्यक रहेकोमा उनी जोड दिन्छन्।

महामारीको सुरुवातमा भएका केही अध्ययनअनुसार चिसो मौसममा कोरोना भाइरस हावामा सामान्यभन्दा बढी समय जीवित रहन सक्छ। संक्रमितबाट भाइरस वातावरणमा निस्किँदा चिसोका कारण लामो समयसम्म सजिलै बाँच्न सक्छ। 

नेपालमा जाडो मौसम सुरु भइसकेको छ। जाडो मौसममा भाइरल संक्रमणले बढी सताउने भएकाले कोभिड संक्रमण पनि बढ्न सक्ने सरुवारोग विषेशज्ञ डा. शेरबहादुर पुन बताउँछन्। ‘चिसो मौसममा शरीरमा भाइरससँग लड्ने क्षमता कम हुन्छ। मौसम चिसो हुँदा स्वास्थ्यमा अन्य समस्या देखिने, भाइरस शरीरबाहिर र भित्र लामो समयसम्म बाँच्न सक्ने कारणले गर्दा जाडो मौसममा फ्लुले बढी सताउँछ,’ डा. पुन भन्छन्।

पुन थप्छन्, ‘जाडोको समयमा संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा हाम्रो कुनै योजना छैन। त्यसैले जाडोमा कोरोना भाइरसको संक्रमण झनै फैलने हाम्रो चिन्ता छ। सामान्यतयाः घरमा परिवारका सदस्यसँग भौतिक दूरी कायम राख्न सकिँदैन। साथै परिवारमा सबै उमेर समूह र स्वास्थ्य अवस्था भएका व्यक्ति बस्ने हुँदा जोखिम बढ्न सक्छ।’ 

कोरोना भाइरस खोक्दा, हाछ्युँ गर्दा, कुराकानी गर्दा श्वासप्रश्वासको माध्यमबाट फैलिने गर्छ। जुन चिसो र सुक्खा मौसममा हावामा बढी समय बाँच्न सक्छ। सामान्यतयाः चिसो मौसममा पानीका कणहरू हावामा सजिलै रहन सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्नेमा चिकित्सकहरुको जोड छ। 

गर्मी मौसममा समेत संक्रमण नरोकिएकाले जाडोयाममा झन् बढ्न सक्ने चिन्ता छ। ‘नेपालमा सबै मौसममा कोरोना भाइरस देखिन अझै बाँकी रहेकाले कुन मौसममा कतिसम्म असर पार्छ भन्ने तथ्यका साथ भन्न गाह्रो हुन्छ,’ डा. पुन बताउँछन्, ‘गत वर्ष जाडोमा देखिएको कोभिड संक्रमण  गर्मी मौसममा घट्ने भनिएको थियो, जुन सम्भव देखिएन। तसर्थ जाडोमा कतिसम्म बढ्छ, अहिले नै अनुमान गर्न सकिन्न।’

Related News

नेपाल र चीनबीच १२ बुँदे सम्झौता
नेपाल र चीनबीच १२ बुँदे सम्झौता
  • २०७७ कार्तिक २८

काठमाडौ – नेपाल र चीनबीच विभिन्न विकास परियोजनाअन्तर्गत १२ वटा...

TOP