२०८१ बैशाख ५, बुधबार
April 17, 2024, Wednesday
सिमाक्षेत्रमा भारतियको दादागिरी

माछा मार्न गएका चार जना नेपाली भारतीयको नियन्त्रणमा : जनही २० हजार फिरौती माग

कञ्चनपुर- माछा मार्न सीमावर्ती क्षेत्रमा गएका बेलडाँडी गाउँपालिका–४ बैवाहाका चार जनालाई भारतीय व्यक्तिहरुले नियन्त्रणमा लिई सोमबार साँझ अज्ञात स्थलतर्फ लगेका छन्। गाउँपालिकाको वडा नम्बर ५ नजिकको खल्लाबाट चारै जनालाई भारतीयले नियन्त्रणमा लिएका हुन्।

सीमास्तम्भ नम्बर ७८५/२ र ७८६ को बीचमा रहेको खल्लामा माछा मार्नका लागि गएका २६ वर्षीय वीरेन्द्र खत्री, २५ वर्षीय भोजराज रोकाया, ३२ वर्षीय मानबहादुर सुनार र ४० वर्षीय पदम सुनारलाई दुई भारतीयले नियन्त्रणमा लिई भारततर्फ लगेका छन्।

नियन्त्रणमा लिइएका व्यक्तिहरुसँग भारतीय पक्षले जनही रु २० हजार फिरौती रकम मागेको खबर निजका परिवारजनबाट सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) बेलडाँडीमा प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए।

बिओपी झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक गङ्गादत्त बोगटीको कमाण्डमा गएको सात जनाको टोलीले भारतीय एसएसबीको टाटरगञ्जसँग समन्वय गरिरहेको छ। उनले भने, “भारतीयहरुले नियन्त्रणमा लिएका व्यक्तिहरुबारे खोजबिन गरिरहेका छौँ।”

यसैगरी पुनर्वास नगरपालिका–८ मोतियाफाँटबाट भारतको जङ्गलबाट काठ काट्दै गरेको अवस्थामा पृथ्वी बस्तीका ३५ वर्षीय डम्बरे सुनारलाईे हिजो साँझ नै भारतीय वन रक्षक सुमेरनगरको टोलीले नियन्त्रणमा लिई पलियातर्फ लगेको छ।

डम्बरेका बुवा थले सुनारले दशगजा नजिकैको सीमास्तम्भ नम्बर ७६६/७ को नजिकै रहेको नालामा माछा मार्ने क्रममा भारतीय वनरक्षकले नियन्त्रणमा लिएर लगेको भनी इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा निवेदन दिए। 
 

Related News

सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीलाई अघि सार्ने निर्णय
सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीलाई अघि सार्ने निर्णय
  • २०७७ आश्विन ६

दिपायल – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एकीकृत समाजवादीले दीर्घ...

TOP