दिपायल । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्तागठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । धनगढी विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले सत्तागठबन्धन आगामी निर्वाचनसम्म कायम रहने विश्वाश व्यक्त गरे।
‘गठबन्धनमा कुनै समस्या छैन, मलाई विश्वास छ यो गठबन्धन पूरा समय जान्छ,’ देउवाले भने। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारले पूर्वाग्रही रूपमा पक्राउ गरेको आरोपबारे सोधिएको प्रश्नमा देउवाले भने, ‘हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, हामीले कहिले होहल्ला गरेनौँ ।’ अदालतको नियमअनुसार लामिछाने पक्राउ परेको धारणा उनले राखे।
गृहजिल्ला डडेल्धुरामा हुने पार्टीको कार्यक्रममा सहभागी हुन सभापति देउवा यहाँ आएका हुन्। डडेल्धुरा जाने क्रममा देउवा आज डोटीको बुडरमा बस्ने कार्यक्रम रहेको कांग्रेस कैलालीका सचिव नृप सुनारले बताए।
करिब एक सातासम्म डडेल्धुरामा रहँदा देउवाले कार्यकर्ता भेटघाट तथा विभिन्न ठाउँमा हुने देवी–देउताका जात्राहरूमा सहभागी हुने कार्यक्रम तय भएको छ । देउवा गृहपालिका गन्यापधुरामा प्रख्यात बडाल जाँत तथा सदरमुकाम अमरगढीको उग्रतारा जाँतमा सहभागी हुने कार्यक्रम रहेको कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले बताएका छन्।
त्यस्तै, गृहपालिका गन्यापधुरा गाउँपालिका तथा आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा भेटघाट गर्ने तथा कांग्रेस जिल्ला कार्यसमिति बैठकमा सहभागी हुने कार्यक्रम पनि तय भएको सभापति साउदले जानकारी दिए ।
देउवा पछिल्लोपटक २०७९ मा भएको निर्वाचनमा चुनाव प्रचारप्रसारका लागि गृहजिल्ला पुगेका थिए । १ र २ मंसिरमा देउवाले धनगढीस्थित निवासमा रहेका पार्टीका नेता–कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको कांग्रेस कैलालीका सचिव सुनारले जानकारी दिए ।
दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...