२०८१ असार ३०, आईतवार
July 14, 2024, Sunday

बनेन विपत् प्रतिकार्य योजना

धनगढी – बर्खा लागेसँगै बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपत्का घटना दिनप्रतिदिन बढ्न थाले पनि कैलालीका अधिकांश स्थानीय तहले विपत् व्यवस्थापन, जोखिम न्यूनीकरण तथा प्रतिकार्यसम्बन्धी कुनै योजना बनाएका छैनन्।

विपत् आइपरेपछि मात्रै तात्तिने परिपाटीका कारण स्थानीय सरकार अझै तयारीमा नजुटेको भनाइ विपत् प्रभावित स्थानीयवासीको छ। बर्खा लागेसँगै बाढी, डुबान, पहिरोलगायतका समस्या भोग्दै आएका कतिपय पालिकाले समेत यस वर्षका लागि स्थानीय तहमा विपत् प्रतिकार्य योजना बनाएका छैनन्।

विपत्सम्बन्धी पूर्वतयारी, खोज तथा उद्धार र पुनस्र्थापना एवं राहत वितरणका लागि तीनै तहका सरकारसहित जिल्ला प्रशासन कार्यालय, सुरक्षाकर्मी र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले विपत् प्रतिकार्यमा सक्रिय सहभागिता जनाउनुपर्ने हुन्छ।

विपत् प्रतिकार्य योजना चाँडै बनाउने भन्ने कुरा सुन्नमा आए पनि अझै नबनेको कैलारी गाउँपालिकाका विपत् व्यवस्थापन शाखा प्रमुख भुवन बखरियाले बताउनुभयो। “हाम्रो पालिकामा अझै पनि विपत् प्रतिकार्य योजना बनेको छैन,” उहाँले भन्नुभयो, “अब चाँडै बन्छ। यसका लागि आवश्यक तयारी गरिरहेका छौँ।”

बाढी, डुबान र कटानका लागि चुनौती बन्दै आएका मोहना, कटैनी, घुरहा नदी रहेको कैलारी गाउँपालिकाले हरेक वर्ष बाढी तथा डुबान समस्या सामना गर्दै आएको छ। गत वर्ष मात्रै ८२० घरधुरी बाढीका कारण प्रभावित भएका थिए। बाढीबाट विस्थापित केही परिवार अझै वन क्षेत्रमा बस्दै आएका छन्।

प्राकृतिक विपत् जुनसुकै बेला आइपर्ने भएकाले जनधनको क्षति हुनबाट जोगाउन विपत् प्रतिकार्य योजना बनाई सोही अनुसार अगाडि बढ्नुपर्ने हुन्छ। स्थानीय तहले भने विपत् प्रतिकार्य योजनालाई त्यति महत्व दिएको देखिँदैन।

जोशीपुर गाउँपालिकाका विपत् व्यवस्थापन शाखाका सीता सिंहले गत वर्ष नै बनेको विपत् प्रतिकार्य योजनालाई अद्यावधिक गर्न बाँकी रहेको बताउनुभयो। “यस पालिकाले गत वर्ष नै विपत् प्रतिकार्य योजना बनाइसकेको छ,” उहाँले थप्नुभयो, “अब यसलाई नै संशोधन गरेर लागु गर्छौं।”

गत वर्ष जोशीपुरको तीन सय घरपरिवार बाढीबाट प्रभावित भएका थिए। बाढी प्रभावित परिवारलाई विद्यालयमा राखिने गरेको सिंहले बताउनुभयो। जिल्ला विपत् व्यवस्थापन समितिले भजनी, कैलारी, जोशीपुर, जानकी, धनगढी, टीकापुर र घोडाघोडीलाई बाढी तथा डुबानका लागि जोखिम क्षेत्रका रूपमा पहिचान गरेको छ। चुरे र मोहन्याल गाउँपालिका पहिरोको उच्च जोखिममा रहेको जनाइएको छ।

यस जिल्लाको सबैभन्दा बढी डुबान समस्या भजनी नगरपालिकावासीले भोग्दै आएका छन्। यहाँका धेरै बस्ती जलमग्न हुने गरेका छन्। कान्द्रा, काँढा, पथरैया, मोहना नदीका कारण भजनी नगरपालिकाले हरेक वर्ष बाढीबाट ठूलो क्षति बेहोर्दै आएको छ।

अत्यधिक डुबान समस्या रहेको यो नगरपालिकाले स्थानीय विपत् प्रतिकार्य योजना बनाइसकेको जनाएको छ। नगरपालिकासँग जे जस्तो स्रोतसाधन उपलब्ध छ, सोही अनुसार विपत् प्रतिकार्य योजना तयार पारिएको पालिकाका प्रवक्ता विव्रmम चौधरीले जानकारी दिनुभयो।

“खोज तथा उद्धारका लागि काठको डुङ्गा, -याफ्टिङ बोट तयारी अवस्थामा राखेका छौँ,”उनले भने, “बाढी र डुबान क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

विपत् प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन भजनी नगरपालिकाले १० लाख रुपियाँको रासन खरिद प्रक्रिया अगाडि बढाएको छ। गत वर्ष आएको बाढीबाट भजनी नगरपालिकामा नौ हजार घरपरिवार प्रभावित भएका थिए।

Related News

सिमलताल पहिरो: तीन वटै शवको पहिचान
  • २०८० असार २२

चितवन– नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ...

TOP