२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

भूकम्पले विस्थापित अझै त्रिपालमुनि, बर्खाअघि बासको व्यवस्था गरिदिन माग

बाजुरा – गत माघ १० गते गएको भूकम्पका कारण विस्थापित बाजुराका कतिपय पीडितको अझैसम्म पनि त्रिपालमुनिको बसाइँ छ ।

पूर्वमनसुनी प्रणाली सक्रिय भइसकेको अवस्थामा हावाहुरी र असिनापानीको जोखिमका बीच पीडितहरु कष्टकर जीवन बाँचिरहेका छन् । बर्खा लाग्नुअघि नै उचित बसोबासको व्यवस्था गर्नुपर्ने माग सम्बोधनको पर्खाइमा उनीहरु छन् ।

प्राकृतिक प्रकोपका कारण बारम्बार ठूलो धनजनको क्षति हुने गरे पनि बाजुरामा उद्धार तथा राहतको गति निकै सुस्त छ । गत माघ १० गते बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रविन्दु बनाएर गएको ५ दशमलव ९ म्याग्निच्युडको भूकम्पले ठूलो क्षति गर्‍यो ।

भूकम्पमा परी आगर बस्तीका २५ परिवार विस्थापित भए । विस्थापित परिवार हाल त्रिपालमुनि बसिरहेका छन् । अहिले हावाहुरीको मौसम छ । खोला किनारमा पालमुनि बसिरहेका गौमूल गाउँपालिका २, आगरका पीडितलाई बर्खामा आफ्नो हालत के होला भन्ने ठूलो चिन्ता छ ।

स्थानीय भक्त चँदारा आफूहरुलाई राहत भन्दा पनि बास चाहिएको बताउँछन् । भूकम्पले गौमूल गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको थियो । गौमूलको आगर गाउँको सिंगो बस्ती हाल तुसारीघाट खोलाको किनारमा स्थानीय सरकारले जुटाइदिएको टेन्टमुनि बसेको छ । पीडितहरु सरकारले सुरक्षित जमिनसहित घर बनाइदेला भन्ने आशामा छन् ।

‘गर्मीको महिना लाग्यो बस्न गाह्रो छ । हामीलाई सुरक्षित ठाउँ चाहिएको छ,’ गौमूल २, बाजुराकी बेलु चँदारा भन्छिन् । यसैगरी राज्यबाट पाएको टिनले कहाँ घर बनाउने भनेर अर्की भूकम्पपीडित सरिता चँदारा प्रतिप्रश्न गर्छिन् ।

भूकम्पबाट विस्थापित भएका सबैको लगत संकलन गरी बल्ल राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसम्म पुगेको छ । पीडितलाई पुरानै ठाउामा बसाउनसक्ने अवस्था नरहेकोले जग्गाको उचित प्रबन्ध गर्न केन्द्र र प्रदेश सरकारसँग आग्रह गरिएको स्थानीय सरकारले जनाएको छ । ‘जग्गाहरु उपलब्ध गराउने, त्यो ठाउँहरुको खोजी गर्ने जिम्मेवारी स्थानीय सरकारले लिन्छ भने घर

निर्माणका लागि संघीय र प्रदेश सरकारलाई अनुरोध गरेका छौं,’ गौमूल गाउँपालिका बाजुराका अध्यक्ष हरिबहादुर रोकाया बताउँछन् । खोला किनारामा कष्टकर जीवन बिताइरहेका भूकम्पपीडितलाई बर्खा लाग्नुअघि नै मानवोचित बसोबासको व्यवस्था गर्न तीनै तहका सरकारको ध्यान जान जरुरी छ । कान्तिपुर

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०७९ चैत्र २६

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP