२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

सुदूरपश्चिमबाट वैदेशिक रोजगारीमा जानेहरूमा सूचना र सिपको अभाव

धनगढी – सुदूरपश्चिमका वैदेशिक रोजगारीमा जानेहरूमा सूचना र सीपको अभाव देखिएको छ। अधिकांश कामदार अदक्ष हुने भएकाले जोखिमपूर्ण काम गर्नुपर्ने छ। गन्तव्य मुलुकको हावापानी, नियम कानून, काम गर्ने वातावारण र संस्कृतिबारे थाहा नहुँदा वैदेशिक रोजगारीमा जाने व्यक्तिले दुःख पाउनुपर्ने अवस्था रहेको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) ले गरेको अध्ययनले देखाएको छ।

सुदूरपश्चिमबाट कामको खोजीमा विदेश जानेहरुमा सबैभन्दा ठुलो संख्या अदक्ष कामदारको रहेको छ। तसर्थ, स्थानीय सरकारले वैदेशिक रोजगारीमा जानेहरूका लागि सिप सिक्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता रहेको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का कार्यक्रम संयोजक दीपक बोहराले बताए।

‘सुदूरपश्चिमबाट वैदेशिक रोजगारीमा जाने अधिकांश कामदार अदक्ष हुने गरेका छन्। तालिम प्राप्त र दक्ष कामदारको राम्रो तलव सुविधा हुने र जोखिम पनि नहुने भए पनि यहाँबाट भने युवाहरू कुनै सिप र तालिम नलिएरै वैदेशिक रोजगारीमा जाने गरेका छन्, उनले भने, ‘वैदेशिक रोजगारीमा जाने युवा अदक्ष हुनुले जोखिमपूर्ण काम गर्नुपर्ने हुन्छ।

यस्तै, गन्तव्य मुलकको कानूनबारे अनविज्ञ हुँदा कानूनी समस्या भोग्नुपर्छ भने श्रम स्वीकृति नलिएरै गन्तव्य मुलुकमा बस्ने गर्नाले पनि समस्या भोग्नु परेको छ। वैदेशिक रोजगारीमा जाने युवाहरूले स्वदेश र विदेशमा विभिन्न चुनौति र समस्या भोग्नु परेको अध्ययनहरूले देखाएको छ।

रकम भुक्तानी गरेपछि लामो समयसम्म गन्तव्य मुलुकमा जान नपाउनु, रकम तिरेको अभिलेख र प्रमाण नपाउने, मेनपावर कम्पनी तथा स्थानीय एजेन्टको चलखेलले गर्दा बढी रकम तिरेर रोजगारीमा जानुपर्ने बाध्यता रहेको सरोकारवालाले बताएका छन्। यस्तै, गन्तव्य मुलुकमा काम राम्रो नपाउनु, कम्पनी बन्द हुनु, स्वास्थ्य उपचार र कानूनी उपचारमा समस्या हुने गरेका छन्।

सिप सिकाउने कुरामा स्थानीय सरकारले प्रभावकारी काम गर्न सक्ने सरोकारवालाले बताएका छन्। स्थनीय तहले विदेश जान तालिम दिनेभन्दा पनि मुलुकभित्रै स्वरोजगार हुने वातावरण निर्माण गर्नुपर्ने धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले बताए। ‘धनगढी उपमहानगरपालिकाले सिपमुलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यका साथ वडाहरूमा स्थानीय सिपको हस्तान्तरण र परिस्कृत गर्न तालिम दिने योजना अगाडि बढाएको छ,’ उनले भने, ‘स्थानीय स्तरमै रोजगारीका अवसर बढाउने लक्ष्य उपमहानगरको छ।’

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७९ चैत्र २४

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP