२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

सडक निर्माणमा ढिलाइ

बाजुरा – बाजुराको सेरा आटीचौर सडक निर्माण कार्य करिब दुई वर्षसम्म ढिलाइ भएको छ । सो सडक निर्माणको काम तत्कालै पूरा हुने सम्भावना पनि न्यून देखिन्छ ।

२०७९ साल चैत मसान्तसम्म काम पूरा गर्ने गरेर २०७७ असारमा जयदेवी एसएस निर्माण सेवा प्रालिले सेरा आटीचौरअन्तर्गत पर्ने बल्देदेखि धुरालसैनसम्मको पाँच किलोमिटर छ सय मिटर सडक निर्माण कार्यको जिम्मा लिएको थियो।

ठेकेदार कम्पनीले समयमै काम पूरा नगरेपछि अहिले सो सडकमा आवागमन गर्न समस्या भएको बूढीगङ्गा नगरपालिका–२ का स्थानीय बहादुर थापाले बताउनुभयो। सडक स्तरोन्नति नहुँदा बह्मतोला, कुँडी, डुग्री, आटीचौर र डोगडीका स्थानीयले बर्खामा मात्र होइन हिउँदमा समेत सास्ती खेप्दै आउनुपरेको उहाँ बताउनुहुन्छ ।

बाटो अवरुद्ध हुने गरेकाले दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समेत समस्या भोग्नुपरेको छ। आर्थिक वर्ष २०६५÷६६ मा सडक डिभिजन कार्यालय अछामले सेरा आटीचौरसम्मको कच्ची सडक निर्माण गरेको हो। बूढीगङ्गा नगरपालिकाको–२ को बल्देदेखि खप्तड छेडेदह गाउँपालिकाको आटिचौर डोगडी हुँदै बझाङ्ग छोएको यो सडक अहिले निकै अस्तव्यस्त देखिन्छ । पहिला कच्ची सडकमा लगातार चलिरहने गाडी अहिले ठाउँ ठाउँमा रोकिँदै आउने गरेका छन्। डोगडी आटिचौर लगायतका स्थानीयहरू यही सडकबाट दैनिक काम काजका लागि अछामको साँफेबजार र बाजुराको सदरमुकाम मार्तडीलगायतका ठाउँमा आउजाउ गर्ने गर्दछन्।

बाजुराको मार्तडी कोल्टी र मार्तडी भौनेरा सडक निर्माण कार्यमा पनि ढिलाइ भएको छ। यो सडक पनि २०७९ असारसम्म नै पूरा गर्ने गरेर २०७७ असारबाट नै निर्माणको काम सुरु गरिएको थियो। ठेकेदार कम्पनीले कामको जिम्मा लिने र समयमै काम पूरा नगरेपछि यहाँका दर्जनौँ भौतिक संरचना निर्माणको काम अलपत्र पर्दै गएका छन्।

निर्माण व्यवसायी एवं जयदेवी एसएस प्रालिका प्रतिनिधि वीरेन्द्र शाहीले कोरोनाका कारण सामान महँगी हुँदा सडक निर्माणको काममा ढिलाइ भएको बताउनुभयो। उहाँले २०७९ को चैतमा पूरा गर्ने गरेर २०७७ असारमा ठेक्का लिएको यो सडकको ७० प्रतिशतभन्दा बढी काम भइसकेको बताउनुभयो।

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०७९ चैत्र २४

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP