२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिन कांग्रेस लचियो, आन्तरिक छलफल तीव्र

कैलाली– सुदूरपश्चिममा आफ्नो सत्ता बनाउँन प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नागरिक उन्मुक्ति पार्टी(नाउपा)लाई मुख्यमन्त्री दिन लचिलो देखिएको छ ।

सत्ता गठबन्धनले सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले आधाआधा समय गर्ने भागबन्डा मिलाएपछि कांग्रेसले निर्णायक शक्ति नाउपालाई फकाउँने कसरत तीव्र पारेको हो ।

काँग्रेसका नेताहरुले काठमाडौं डिल्लीबजार कारागारमा रहेका पार्टीका संरक्षक रेशम चौधरीलाई समेत भेटेका छन् । भेटका क्रममा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नै नाउपालाई दिनसकिने विषयमा छलफल भएको कांग्रेसका एक नेताले बताए ।

‘मुख्यमन्त्री नाउपालाई दिने विषयमा पनि कुरा छलफल भएको छ । हामी त्यसमा लचिलो छौं,’ कांग्रेसका नेताले भने, ‘अन्य पदका विषयमा समग्रमा टुंगो लागोस् भनेर छलफल जारी छ । सम्भवतः भोलिसम्म ठोस निष्कर्ष निस्कन्छ ।’

सुदूरपश्चिम प्रदेश सरकार बनाउँन २७ सदस्य आवश्यक पर्छ । जसमा काग्रेसका मात्रै १९ सदस्य छन् । नाउपाका ७ मिलाएर २६ सदस्य पुग्छ । त्यसबाहेक स्वतन्त्र र राप्रपामध्ये एउटा सांसद मिसाउँन सकिने विश्वास कांग्रेसको छ ।

नागरिक उन्मुक्ति पार्टीले भने सुदूरपश्चिम सरकारमा पार्टीको सहभागिताबारे निर्णय गर्न २४ घण्टाको समय मागेको छ ।

सुदूरपश्चिममा सरकार गठनमा निर्णायक बनेको नागरिक उन्मुक्तिले भने मुख्यमन्त्री दाबी गर्दै आएको थियो । नागरिक उन्मुक्ति पार्टीका नेता गंगराम चौधरीले सोमबार साँझसम्म निर्णय गरिने बताए ।

‘प्रदेश सरकारको हकमा के गर्ने भन्ने निर्णय गर्न हामीले २४ घण्टाको समय मागेका छौं । आज साँझसम्ममा एउटा टुंगोमा पुग्छौं,’ उनले भने, ‘झुटा मुद्दा फिर्ता लिने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र रेमश चौधरीको रिहाइका लागि पहल गर्ने भरपर्दो प्रतिबद्धता आयो भने हामी सरकारमा जान सक्छौं । साँझसम्म के हुन्छ हेरौं ।’

प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेसँगै प्रदेश सरकार गठनको प्रयासले तीव्रता पाएको छ ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०७९ पुष २५

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP