२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

दार्चुलाको एकीकृत कार्ययोजनाले गति लिँदै

काठमाडौँ – दार्चुलाको छाङरु, व्यास र टिङ्कर क्षेत्रको समग्र विकासका लागि ल्याइएको एकीकृत कार्ययोजना आधाजसो कार्यान्वयनमा आएको छ । कार्ययोजना सञ्चालनमा आएको एक वर्षभित्रै ५० प्रतिशत काम सकिएको जनाइएको छ ।
कार्ययोजनाका अधिकांश शीर्षकको काम चालू आर्थिक वर्ष ०७८÷७९ को अन्त्यसम्म पूरा हुनुपर्नेछ । सरकारले सो क्षेत्रको समग्र विकासका लागि गत वर्ष कार्ययोजना ल्याएको थियो ।

कार्ययोजनाअनुसार अहिले सो क्षेत्रमा भौतिक पूर्वाधारलगायत आधारभूत विकास निर्माणका कामलाई तीव्रता दिइएको छ । केही महिनाअघिसम्म पाँच सय मिटर घोडेटो बाटोको अभावमा छाङरुवासीलाई सदरमुकाम खलङ्गा आवतजावत गर्न भारतीय भूमिको प्रयोग गर्नुपर्ने बाध्यता थियो । अहिले नेपाली सेनाले घाँटीबगरदेखि छाङरु जोड्ने ४५० मिटर घोडेटो बाटोको ट्र्याक खोली सेनाले स्थानीयवासीलाई हस्तान्तरण गरिसकेको छ । बाटो खुलेसँगै बाध्यता भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।
नेपाली सेनाको दार्चुलास्थित विकास निर्माण कार्यदल गणका गणपति रमेश गुरुङले भन्नुभयो, “अहिले भारतीय बाटो प्रयोग गर्न बाध्यता नरहे पनि मानिसहरू आफ्नो इच्छाअनुसार प्रयोग गरेको पाइन्छ । ”

२०७७ साल वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले महाकाली कोरिडोर (दार्चुला–टिङ्कर सडक योजना)अन्तर्गत उत्तरतर्फ रहेको ८७ किलोमिटर सडकखण्ड नेपाली सेनामार्फत निर्माण गराउने निर्णय गरेको थियो । व्यास गाउँपालिका भारत र चीनसँगको सिमानासँग जोडिएको छ ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले त्यहाँ ५० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । गृह मन्त्रालयले सो कार्ययोजना ल्याइएको थियो ।
मन्त्रालयका अनुसार व्यास गाउँपालिका टिङ्करस्थित सशस्त्र प्रहरी बल नेपालको बीओपी भवन निर्माणको ठेक्का भई निर्माण कार्य अन्तिम चरणमा रहेको छ । त्यसैगरी सोही गाउँपालिकाको दुम्लिङस्थित बीओपी निर्माणको लागि जग्गा प्राप्त भइसकेको छ ।
जिल्ला प्रशासन कार्यालय, दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले कार्ययोजनाको बाँकी कार्य जारी रहेको बताउनुभयो । सो क्षेत्रको सुरक्षाका लागि अगाडि सारिएको कार्ययोजनाअनुसार टिङ्करमा नेपाल प्रहरीको चौकी स्थापना भई सञ्चालनमा आइसकेको छ ।

त्यसैगरी सो क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको कार्यान्वयन एकाइबाट अहिलेसम्म ५२ हजार स्याउको बिरुवा रोप्ने कार्य सम्पन्न भएको छ । उहाँका अनुसार टिङ्करमा सीमा प्रशासन कार्यालय स्थापना हुने क्रममा रहेको छ । सो क्षेत्रमा दूरसञ्चारको टावर जडान भई सञ्चार सेवा सञ्चालन भइसकेको छ । त्यसैगरी व्यास गाउँपालिकामा हेलिप्याड निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् ।

व्यास गाउँपालिकाको छाङरु–टिङ्कर घोडेटो बाटो निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ । त्यसका लागि तीन करोड ३२ लाख रुपियाँ बजेट विनियोजन गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो । त्यसैगरी महाकाली नदीमा रहेको सीतापुललगायतका अन्य काठेपुलको निर्माण तथा मर्मत कार्य भइरहेका छन् ।

गृह मन्त्रालयले बनाएको कार्ययोजनामा सो विकासका लागि क्रममा दार्चुला–टिङ्कर सडक निर्माण, खानेपानी योजना नयाँ निर्माण र पुरानोको मर्मतसम्भार, कृषि, टिङ्कर नाकामा भन्सार पुनः निर्माण, सीमा प्रशासन कार्यालय सञ्चालन गर्नेलगायतका छन् ।

गोरखापत्र दैनीकबाट साभार गरिएको

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ मंसिर २६

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP