चतुरेको संयुक्त परिवार छ । सयुक्त परिवार भएपनि सबै एकआफसमा मिलेर बसेका छन् । चतुरेका बुवाका पाँचवटा दाजुभाइ । चतुरेका बुवा सबैभन्दा जेठा हुन् । चतुरे जेठो बुवाको जेठो छोरा हो । चतुरेका एक भाइ र एक बहिनी छन् । चतुरेको बहिनी पुतली हो । पुतली घरको एक्लो छोरी । एक्लो छोरी भएका कारणले होला उसलाई घरका आमाबुवा र दाजुभाइसमेतले धेरै माया गर्छन् । पुतलीप्रतिको माया भएकै कारणले होला आमाबुवाले पुतलीलाई पढ्न स्कुल पठाएका छन् । छोरीहरू अर्काका घर जाने हुन् । अर्काका घर जाने जातलाई खाली किन पढाउने भन्ने सोच अहिले पनि गाउँघरतिर छ । त्यो सोच पुतलीका गाउँ बोगटानतिर पनि छ । त्यस्तो किसिमको सोच गाउँघरतिर भएपनि पुतलीका घरपरिवारले भने पुतलीलाई स्कुल पढ्न पठाएका छन् । उनले बोगटानकै खत्याडी माध्यामिक विद्यालयबाट कक्षा १२ सम्मको शिक्षा उतीर्ण गरिन् । पुतलीका दाजुभाउजू सिलगढीमा बस्छन् । दाजुभाउजू सिलगढीमा बस्ने भएकाले पुतलीको इच्छा पनि दाजुभाउजूसँगै बसेर पढ्ने हुन्छ । बहिनीलाई आफूूसँगै राखेर सिलगढीमै पढाउने सोच दाजु चतुरेको पनि हुन्छ । त्यही सोचअनुसार चतुरेले बहिनीलाई पढ्नका लागि सिलगढी बोलाउँछन् ।
कोलाहलका हिसाबले शान्त, प्राकृतिक हिसाबले रमणीय र सुख शान्तिका हिसाबले आनन्दमय गाउँ छोडेर पढ्नका लागि पुतली जिल्लाको सदरमुकाम सिलगढी आएकी छिन् । सिलगढी आउँदा पुतलीको स्मृतिमा बेलाबेला गाउँको याद आउँछ । उनका सम्झनामा आमाबुवा, घरपरिवार, वनपाखा, गोठाला जाँदाका साथीभाइ, दिदीबहिनी र गाउँघरमा रमाइलो गर्दै बिताएका पलहरू समय समयमा आइरहन्छन् । यसरी गाउँघरको परिदृश्य सम्झनामा आउँदा खेरी पुतली भावुक हुन्छिन् । गाउँको सम्झनाले भावुक भए पनि पुतली पढ्नका लागि भनेर बोगटानदेखि सिलगढी आएकी हुन्छिन् । पुतली भर्खरै प्लस टु पास गरेर कलेज पढ्नका लागि सिलगढी आएकी हुन् । गाउँदेखि सिलगढी पढ्नका लागि पुतलीसँगै उनका साथीहरू गोरे, डम्बरे, दीपा र जीवने पनि पढ्नका लागि सिलगढी आएका हुन्छन् । पुतली र गोरे खत्याडी पढ्दादेखि नै प्रेम सम्बन्धमा थिए । प्रेम सम्बन्धमा रहेकाले गोरे र पुतलीलाई बेलाबेला साथीहरूले जिस्काउँथे । गोरे र पुतली कलेज पढ्ने कुराले निकै खुसी छन् । उनीहरूको खुसीमा उत्सुकता पनि मिसिएको छ ।
गोरे पहिलो पटक सिलगढी नागरिता बनाउन आएको थियो । पहिलो पटक नागरिकता बनाउन आउँदा गोरेसँगै गोरेका दाजु पनि आएका थिए । अहिले गोरे दोस्रो पटक सिलगढी आएको छ । अहिले गोरे साथीहरूसँगै सिलगढी आइपुगेको छ । अहिले सिलगढी आउनुको कारण नागरिकता बनाउन नभएर पढ्नका लागि हो । पढ्नका लागि सिलगढी आएको गोरे साथीहरूसँगै डोटी बहुमुखी क्याम्पसमा भर्ना भएको छ । गोरेका आमाबुवाले रिन कर्ज गरेर भएपनि गोरेलाई धनगढी पढ्न पठाउने सोच बनाएका थिए । बुवाआमाले गोरेलाई सिलगढीभन्दा धनगढी पढ्नका लागि राम्रो हुन्छ, उतै पढ्न जाउँ भनेर भन्छन् । आमाबुवाको सोच बेगर गोरेले सिलगढी मै पढ्ने सोच बनाउँछ । गोरेले सिलगढी मै पढ्ने सोच बनाउनुको कारण पुतली हो । पुतली र गोरेसँगै प्लस टु पढेका थिए । प्लस टु पढ्दा गोरे र पुतली प्रेममा थिए । अहिले पनि गोरे र पुतली एक अर्कालाई धेरै माया गर्छन् । त्यही मायाका कारणले गोरे धनगढी पढ्न छोडेर सिलगढी पढ्न आएको हो । गोरेको प्रेमिका पुतली पनि सिलगढीमै पढ्ने भएकी छ । प्रेमिका पुतली सिलगढीमा पढ्ने भएपछि गोरेले पनि सिलगढी मै पढ्ने सोच बनाएको हुन्छ । त्यही सोचले गर्दा गोरे धनगढी पढ्न गएको थिएन । सिलगढीमा पुतलीका दाजु भाउजू बस्छन् । दाजु भाउजूसँगै पुतली पनि बस्छे । दाजुभाउजू सिलगढीमा बस्ने भएका कारणले पुतली सिलगढीमै पढ्ने भएकी हुन्छे । प्रेमिका पुतली सिलगढीमै पढ्ने भएपछि गोरे पनि धनगढी पढ्न छोडेर सिलगढीमै पढ्न लागेको हुन्छे ।
एकदिन गाउँ छोडेर पढ्नका लागि सिलगढी आएको गोरे रनभुल्लमा परेर शैलेश्वरी मन्दिरको डिलमा उभिएको छ । ऊ डिलमा उभिएर मन्दिर दर्शन गर्न आउने जाने मान्छेहरूलाई हेरेर बसेको छ । साँझपखको समय भएकाले मन्दिर वरपरको वातावरण रमझममय थियो । त्यही रमझम नियालेर गोरे बसिरहेकोे थियो । मन्दिर परिसर वरपर कोही समूहमा र कोही हातमा हात जोड्दै युगल जोडी पनि ओहरदोहर गरिरहेका थिए । युगल जोडी हातमा हात जोड्दै आएको देखेर गोरेलाई पुतलीको याद आउँछ । हातमा हात मिलाएर हिड्ने जोडीभित्र आफू र पुतलीलाई पाउँछ । माउ गुमाएको चल्लाजस्तो भएर मन्दिर छेउको डिलमा उभिएको गोरे घरी नजिकैको क्याम्पसतिर हेर्छ, घरी मन्दिर वरपर ओहरदोहर गर्ने मान्छेहरू तिर हेर्छ, घरी टुडीखेलमा भएको आर्मीको मार्चपासतिर आँखा दौडाउँछ । गाउँबाट सिलगढी पढ्न आएको गोरे मन्दिर वरपरको दृश्य देखेर अचम्मित भएको छ । साँझ छिप्पिदै गएपछि मनोकामना पूरा गर्नका लागि शैलेश्वरी मातासँग गोरेले मनमनै निवेदन चढाउँदै त्यहाँबाट कोठातर्फ फर्कन्छ ।
केही समय पछि गोरे कोठामा आइपुग्छ । गोरेको कोठा थााप्लामा रहेको छ । कोठामा उसको साथी डम्बरे पनि छ । डम्बरे र गोरेसँगै डोटी बहुमुखी क्याम्पसमा पढ्छन् । डम्बरे र गोरे प्लस टु सँगै पढेका साथी पनि हुन् । गोरे र डम्बरे पढ्नमा समेत राम्रा र मेहनती छन् । दुबै पढ्नमा राम्रो मेहनत गर्छन् । दुबै जना बिहान नियमित चार बजे उठ्छन् र पढ्न बस्छन् । रातीको एघार नबजेसम्म सुत्दैनन् । दुबै नियमित कलेज जान्छन् । कलेजका सर मेडमले भनेका इमानदारी पूर्वक मान्छन् । प्रत्येक विषयको नियमित नोट बनाउँछन् । लगनशील भएर पढाइमा ध्यान दिन्छन् । कहिलेकाही गोरेले प्रेमिका पुतलीको पनि नोट बनाइदिन्छ । नोट बनाउँदा गोरेले पुतलीको कपिमा कहिले डेउडा गीत, कहिले सायरी लेखिदिन्छ । पढाइमा राम्रो भएका कारणले पनि गोरे र डम्बरे क्याम्पसका सरहरू सबैका प्रिय छन् । दुबैजना पढाइप्रति चिन्तित छन् । कलेजको पढाइबाहेक दुबैजना नियमित रूपमा आयोगको पनि तयारी गरिरहेका हुन्छन् ।
पढ्नमा राम्रो भए पनि गोरेका परिवारको आर्थिक अवस्था राम्रो छैन । गोरेको परिवार गरिब छ । जेनतेन काम गरेर मुस्किलले खानालाई पुग्छ । परिवार गरिब भएकाले गोरे अनेक समस्याले जेरीजस्तै जेलिएको छ । बेलाबेला आफ्नो घरायसी अवस्था सम्झन्छ । घरमा सकिनसकि काम गर्ने बुढा बाआमा सम्झन्छ । परिवारको अवस्था कमजोर भएका कारणले आफैले आफैलाई कैयौँ दिन कमजोर बनाएको छ । घरको अवस्था सम्झेर कहिलेकाही अवेरसम्म एकोहोरो टोलाएर समय व्यथित गर्छ । गरिब भएका कारणले गोरे अनेक समस्या खेपिरहेको छ । गरिब भएकै कारणले पुतलीका दाजुभाउजूले पुतलीसँगको प्रेम सम्बन्ध स्वीकार गर्न सकेका छैनन् । धेरैपटक कलेजले आयोजना गर्ने वनभोज कार्यक्रममा इच्छा हुँदासमेत गोरे सामेल हुन सकेको छैन । सामेल हुन नसक्नुको कारण पनि उसको कमजोर आर्थिक अवस्था हो । घरको कमजोर आर्थिक अवस्था भएका कारणले अभावैअभाव भोगिरहेको छ । अभावैअभाव भोगिरहेको गोरेभित्र सम्पनताले भरिएको सपना छ । त्यही सपनालाई सम्भव बनाउन सङ्घर्षरत छ । गोरेको धेरै ठुलो सपना पनि छैन, छ त केवल आमाबुवाको दुःख कम गर्नु । घरको आर्थिक अवस्था सुधार गर्नु र आर्थिक अभावबाट मुक्ति पाए हुन्थ्यो भन्ने उसको सपना छ । त्यही सपना पूरा गर्न गोरे कलेजको पढाइसँगै आयोगको तयारी पनि गरिरहेको छ ।
अभावमा बाँचिरहेको गोरेलाई अभावबाट छुटकारा पाउन जसरी भएपनि जागिर खानु पर्ने बाध्यता छ । त्यही भएर गोरेले नियमित आयोगको पनि तयार गरिरहेको छ । गरिब भएका कारणले पुतलीका दाजुभाउजूले समेत पुतलीको गोरेसँगको सम्बन्ध मन पराएका छैनन् । दाजुभाउजूले पुतलीलाई बेलाबेला सम्झाउँछन् तर पुतलीले जति सम्झाउँदा पनि केही मान्दैन ।
एकदिन पुतलीका दाजु चतुरे जिरो प्वाइन्टमा रहेको महेन्द्र होटलबाट रक्सी खाएर आएको हुन्छ । रक्सी खाएर आएको चतुरेले बहिनी पुतलीलाई गाली गर्छ । रिसले आगो भएको चतुरे एकोहोरो पुतलीका सामु रिस ओकल्न थाल्छ । र भन्छ तिमी त्यो गरिब खान लाउन केही नभएको नङ्गासँग बिहे गरेर के खान्छौ ? के लाउँछौ ? आफ्नो भविष्य आफै हेर्नु पर्दैन ? आफ्नो भविष्यको चिन्ता नहुने, आफ्नै मनले जे पायो त्यही गर्ने ? न भनेको मान्ने न अफू जान्ने ? मेरो इज्जतलाई माटोमा मिलाउन खोज्ने ? दाजुभाइ र गाउँका मान्छेहरूबाट तेरो बहिनी यस्तो उस्तो भनेर कुरा मैले सुन्नु पर्ने ? तँ भने मन लाग्दै जे पायो त्यही गर्दै हिन्ने ? तलाई पढाएको खेर गयो । मन लाग्दी गर्नलाई बेकारमा पढाएछु । अहिलेसम्म जे भयो भयो आजदेखि त्योेसँग फोनसोन गरी भने मेरो घरमा कहिल्यै पाइला नटेक्नु । अनि तँ मेरो लागि जिउँदै मरे सरह हो । तेरो लागि मेरो घरको ढोका सदाका लागि बन्द हुन्छ । बरु बिहे गर्ने हो भने बिहे गरी दिन्छु । मेरो साथीको भाइ छ । दशैमा घर आउने हो अहिले विदेशमा छ । लगायतका अनेक कुरा भन्छ । पुतली एकोहोरो चुपचाप सुनिरहन्छे । दाजु चतुरेको कुराले पुतलीको मनमा गहिरो चोट पुग्छ । दाजुको यस्तो कुराले प्रतिक्रिया विहिन बनेकी पुतली एकान्त कोठामा बसेर धुरुधुरु रुन्छे । दाजुबाट अपेक्षा नगरिएको गालीको वर्षातले पुतलीको रुमाल भिज्छ । आँखामा आँशुको वर्षात हुन्छ । पुतली अबेरसम्म रुन्छे । रोएर मन हलुका पार्छे । गोरेलाई रोज्ने कि, दाजुको आदेशको पालना गर्ने भन्ने पुतलीका सामु दुईवटा विकल्प देखिन्छन् । पुतली सोचैसोचको गहिरो तलाउमा डुब्छे । यही कुराले पुतलीलाई रातभर निद्रा पर्दैन ।
गोरे र बहिनी पुतलीको सम्बन्ध चतुरेलाई मन परेको थिएन । मन नपर्नुको कारण गोरेको परिवार गरिब हुनु हो । चियागफमा चतुरेका साथीहरूले चतुरेलाई गोरे र बहिनी पुतलीका सम्बन्धका बारेमा कुरा सुनाएका थिए र भनेका थिए पढ्ने बेला बहिनीलाई लबसबको पछाडि लाग्न दिनु भएन । तपाईँले बहिनीलाई सम्झाउनु पर्यो । उही त कालो त्यसैमा लाग्यो मसो भने झै साथीहरूबाट यस्तोे कुरा सुनेपछि चतुरेको मनमा रिसको विजारोपण हुन्छ । रिसले आगो भएको चतुरेले रक्सी खाएर आएको हुन्छ । रक्सीको नसाले मैमत्त भएको चतुरेले पुतलीलाई गाली गरेपछि त्यहीँ झोकमा गोरेलाई पनि फोन गर्छ ।
ए गोरे तेरो विचार के छ ? जवाफमा गोरेले भन्छ को कहाँदेखि बोल्नु भएको हो ? मैले चिनिनँ ।
के रे को कहाँ किन चाहियो तलाइ ? गाउँमा छँदा के खाउँ के लाउँ भन्नेले दुईचार कलास के पढेको थियो । अहिले नेपाली बोल्ने भएको छ । तेरो विचार चाहिँ के हो ? यति सुनेपछि गोरे अक्कनबक्क हुन्छ । चतुरे भने एकोहोरो बोलीरहन्छ । अहिलेसम्म जे जे गरी गरी । अब आयन्दा मेरी बहिनीलाई फोन गरी भने क्याम्पसमै आएर तेरा काँतला निकाली दिन्छु बुझिस् । तलाई पढ्न मन छ भने विचार गर, होइन भने मसित पङ्गा लिने काम नगरेस् । यदि अझै त्यस्तो गरिस् भने तलाइ सेतीमा मिल्काउन सकेन भने म पनि मेरा बाको चेलो होइन । ठुलो ठुलो स्वरमा भन्नुनभन्नुसमेत भनेर एकोहोरो गोरेमाथि चतुरेले गालीको वर्षा गर्छ । मान्छेका मुखमा सुन्न नसकिने किसिमका गाली एकोहोरो वर्षन थालेपछि गोरेले फोन कट गर्छ । फोन कट भएपनि चतुरेले फोन गर्न छोड्दैन । मोबाइलमा फोन आएको आयेई भएपछि फोन अफ गरेर सुत्छ । सुत्न खोजे पनि गोरेलाई निद्रा पर्दैन । सुत्न खोज्दा आमाबुवाले भनेका कुराहरू उसको आँखा वरिपरि आइरहन्छन् । बुवाआमाले भनेको मानेको भए अहिले धनगढीमा पढिरहेको हुने थिए । पुतली कै कारणले सिलगढी पढ्न आए । सिलगढी पढ्न आएपछि अनाहकमा गाली श्रीरोमणिको गाली खानु परेको छ । चतुरेको गाली, डर, धाक धम्कीले गोरेभित्र डरले डेरा बनाएको छ । आफूमाथि अनेक गालीको वर्षा भएपछि गोरे विक्षिप्त बन्छ । पुतलीलाई प्रेम गरेर आफू उल्झनमा फसेको अनुभूति गर्छ । पुतलीका दाजुको धाक र धम्कीले उसलाई सिलगढी बस्न पनि त्रास हुन्छ । पछिल्लो समय गोरेको दैनिकी पढाइ लेखाइमा बिताउनु पर्नेमा त्रासैत्रासमा बिताइरहेको हुन्छ । चतुरेको धम्कीले गर्दा धनगढी पढ्न नगएकोमा गोरेलाई थकथक लागेको छ । आमाबुबाले भनेअनुसार धनगढी नगएकोमा गोरेलाई पश्चाताप हुन्छ ।
अर्को दिन गोरे क्याम्पस जान डराउँछ । डरले क्याम्पस नजाने कुरा गर्छ । क्याम्पस किन नजाने ? केही डराउनु पर्दैन । कसैले केही गरे हामी छौ भनेर डम्बरेले गोरेलाई ढाडस दिन्छ । डरैडरले भएपनि गोरे क्याम्पस जान्छ । क्याम्पसमा गोरे र पुतलीको भेट हुन्छ । गोरे र पुतलीले एकआफसमा कुरा गर्छन् । दुबैले दाजु चतुरेले भनेका कुराहरू गर्छन् । भेटमा पुतलीले दाजु चतुरेले जे भने पनि आफूलाई कुनै फरक नपर्ने बरु अब परीक्षा सकेपछि भगाएर लैजान भन्छ । पुतलीले भगाएर लैजान भनेको कुरा र पुतलीका दाजुको धम्कीले गोरे परिबन्दमा पर्छ । यो कुराले गोरेलाई तातो दुध निल्नु न ओकल्नु हुन्छ । नलगे त भन्नु नभन्नु भन,े भगाएर लगे झन् के गर्लान् ? केही नगरे त यस्तो गरे झन् भगाएर लगे मलाई जिउँदो कहाँ राख्लान् ? यस विषयमा गोरेले चिन्ता प्रकट गर्छ । जवाफमा पुतलीले दाजुले जे गरे पनि म तपाईँलाई साथ दिन्छु । यसमा दाजुको केही चल्दैन । मात्र परीक्षा सकेपछि भगाएर लैजान भन्छ । जवाफमा गोरेले म गरिब भएँ त्यसैले अब हामी एक हुन सक्दैनौँ । गोरेको मुखबाट यस्तो कुरा सुने पछि पुतलीले गोरेलाई भनी “मैले गरिब भनेर कहिल्यै भनेकी छु र !” माफ गर पुतली अब हामी एक हुन सक्दैनौँ । भन्दै गोरे कक्षा कोठामा जान्छ । गोरेको बोलीले पुतलीलाई थप पीडा दिन्छ । हातमा रहेको मोबाइल समातेर गोरेलाई म्यासेज गर्छे । “नामर्द तिमी मात्रै गरिब रहेन छौँ, तिम्रो मन पनि गरिब रहेछ ।”
पुतली बेलाबेला दाजुले दिएको गाली सम्झन्छे । गाली सम्झँदा पुतलीलाई घरमा बस्न मन लाग्दैन । दाजुले दिएको गालीले पुतलीको मन एकोहोरो भई सकेको हुन्छ । केही समय पछि पुतलीले गोरेलाई फोन गरेर भन्छे “यदि यो अवस्थामा भगाएर लैजानु हुन्न भने मलाई तपाईँभन्दा प्यारो सेती लाग्नेछ । अनि म र मेरा आँसुहरू सेतीसँगै बग्नेछन् सदाका लागि ।” पुतलीले यति कुरा भनेपछि गोरेको मनमा झन् त्रास पैदा हुन्छ । मनमनै सम्झन्छ । निर्दोष पवित्र सेतीलाई कसैले माया पाउनका लागि, कसैले माया छुटाउनका लागि प्रयोग गर्दैछन् । सेतीलाई सेती कै रूपमा बग्न दिनुपर्नेमा मान्छेहरू निर्दोष सेतीलाई काली बनाउन तयार छन् । पुतली र गोरे बिच लामो कुराकानी भएपछि अन्ततः दुबैका बिच परीक्षा सकेपछि भागेर बिहे गर्ने सल्लाहा हुन्छ । भाग्ने सल्लाह गर्दै दुबैजना फोनबाट छुटिन्छन् । हगुल्टोले हान्दा डराएको कुकुर बिजुली चम्कादा पनि डराउछ भने झैँ एकदिन टुडीखेलमा नेपाली सेना भैरवप्रसाद गणको आयोजनामा तिज विशेष कार्यक्रम थियो । त्यही कार्यक्रममा गोरे र चतुरेको देखादेख हुन्छ । गोरे डराउँछ । गोरे डरले कोठामा जाने कुरा गर्छ तर गोरेका साथीहरू डम्बरे र जीवने किन डराउँछौ ? तिमीलाई कसैले केही गर्दैन । केही गर्यो भने हामी पनि तिम्रो साथमा छौँ । त्यसैले नडराउन भन्छन् । साथीहरूले नडराउन भने पनि गोरेको जिद्दीले साथीहरू त्यहाँबाट कोठामा जान्छन् । कोठामा जाँदै गर्दा साथीहरूले गोरेलाई डरपोकको संज्ञा दिन्छन् । साथीहरूले डरपोकको संज्ञा दिएपनि गोरेको मनमा डर र त्रासको साम्राज्य हुन्छ । केही समय पछि गोरे, डम्बरे र जीवने कोठामा पुग्छन् । गोरे जब कोठामा पुग्छ तब शान्तिको सास फेर्छ । उसलाई दुर्घटनाबाट जोगिएको अनुभूति हुन्छ । कोठामा पुगेपछि खाना खाएर डम्बरे र जीवने तिजको मेला हेर्न टुडिखेलमा जान्छन् । गोरेलाई जानका लागि धेरै कर गर्छन् तर जति कर गरेपनि गोरे जाँदैन । चतुरेको धम्कीका कारण गोरे साथीहरूसित तिजको मेला हेर्न नगएर कोठामै बस्छ । गोरे चतुरेको धम्कीले यतिसम्म त्रसित भएको छ कि कोठामा बसेर पढ्नका लागि किताब पल्टाउदा पनि उसको मनभित्र चतुरेले भनेको कुरा खेलिरहन्छन् । कानभित्र चतुरेकै आवाज गुन्जिरहन्छ । त्यही कारणले गोरे धेरै डराएको हुन्छ । धनगढी पढ्न नगएर डोटी पढ्न आएकोमा गोरेलाई थकथकी छ ।
एकदिन कोठामा सँगै बस्दै आएको डम्बरे र अर्को कोठामा नजिकै बस्दै आएको जीवनेले थाप्लाबाट क्याम्पस नजिक कोठा सार्छन् । गोरे डरले एक्लै बस्न सक्दैन । गोरेलाई सिलगढी एक्लै बस्यो भने पुतलीको दाजुले कति बेला के पो गर्ने हो भन्ने डर हुन्छ । त्यही डरले गोरे पनि डम्बरे र जीवनेसँगै कोठा सार्छ । गोरेले जीवने बस्ने घरमै कोठा सार्छ । डरैडरले सिलगढी बसेको गोरेलाई धेरै समय भई सकेको थियो । दिन बित्दै गयो । केही महिना पछि गोरे र पुतलीको परीक्षा हुने समय नजिक आउँछ । गोरे र पुतलीले परीक्षा दिन्छन् । दुबैको परीक्षा राम्रो भएको हुन्छ । भोलि घरबाट निस्कन सजिलो होस् भनेर परीक्षाको अन्तिम दिन पुतलीले आफ्नो झोला तयार पारेर गोरेलाई दिएकी हुन्छे । परीक्षा सकिएकोे भोलीपल्ट गोरे र पुतलीको सिलगढीबाट भागेर कैलाली जाने सल्लाह भएको हुन्छ । सल्लाहबमोजिम नै दुबै जनाले परीक्षा सकेको दिन आआफ्नो तयारी गरी सकेका हुन्छन् । भाग्नको लागि पुतलीले घरमा साथीकोमा जाने बाहाना बनाउँछे । भाउजूलाई साथीकोमा जाने भनेर पुतली घरबाट आएकी हुन्छे । परीक्षा सकिएको भोलिपल्ट गोरे र पुतली अत्तरियाका लागि भनेर नाइट बस चढ्छन् ।
गोरेको नियमित सम्पर्कमा जीवने र डम्बरे हुन्छन् । गोरे र पुतलीले डडेल्धुरा पार गरेपछि डम्बरे र जीवनेले दुबैको फोटोसहित ह्याप्पी म्यारिड लाइफ साथी लेखेर फेसबुकमा पोस्ट गर्छन् । त्यसपछि बधाई दिनेको ओइरो लाग्छ । क्याम्पसका सारा विद्यार्थीहरूले बधाई लेखेर पोस्ट गर्छन् । क्षणभरमै गोरे र पुतली फेसबुकका भित्ताभरी रङ्गिन्छन् ।
उता साथीको रुम जान्छु भनेर गोरेसित भागेपछि चतुरेलाई सही नसक्नु हुन्छ । फेसबुक भरी जताततै गोरे र पुतलीका फोटाहरू, त्यसैमाथि बधाईसहित गरिएका पोस्टले चतुरेको अनुहारमा मलीनता र अन्धो आवेग भरिएको हुन्छ । पेसाले पत्रकार रहेको चतुरेलाई बहिनी भागेर गएकोभन्दा दोब्बर तनाव गोरे र पुतलीका साथीहरूले दाप्पत्य जीवनको शुभकामनासहित फेसबुकमा पोस्ट गरिएका फोटाहरूले भएको हुन्छ । त्यही तनाव सहन नसकेर चतुरेले अनलाइनमा सिलगढीबाट युवती बेपत्ता शीर्षकको समाचार छाप्छ र खोजिकार्य गरी दिन भनेर प्रशासनमा समेत निवेदन दिन्छ । जजसले बधाई पोस्ट गरेका थिए तिनिहरूको इनबक्समा समाचारको लिङ्क पठाउँछ ।
पहाडबाट आएका प्रत्येक गाडीलाई अत्तरियामा पुलिसले चेकजाँच गरिरहेको थियो । गोरे र पुतली बिहान पाँच बजे अत्तरिया पुग्छन् । अत्तरियामा उनीहरूलाई पुलिसले पक्राउ गर्छ । आफूलाई किन समातेको हो ? के कारणले समातेको हो ? हामीले के अपराध गर्यौ ? अपराध गरेको भए खोई अदालतको प्रक्राउ पूर्जी ? हामीले गाडीमा यात्रा गर्न नपाउने ? स्वतन्त्रपूर्वक बाँच्न नपाउने ? मैले आफ्नो मन परेको केटासँग बिहे गर्न नपाउने ? के यो राणा शासन हो ? यस्तै यस्तै प्रश्नहरूको ओइरो आक्रोशपूर्ण तवरले प्रहरी सामु पुतलीले गर्छे । पुतलीको केही कुरा नसुनेर सरासार पुलिसले चौकीमा लग्छन् । पुतलीले चौकीमा समेत आफ्नो आक्रोश देखाउछे । पुलिसले वास्तविकता थाहा पाएपछि पुतली र गोरेलाई छोडिदिन्छन् । त्यसपछि उनीहरू सुखडमा रहेको आफ्नो अङ्कलको घरमा जान्छन् ।
अङ्कलको घरमा बसेर गोरेले साँझ बिहान केटाकेटीहरूलाई ट्युसन पढाउँदै र आयोग तयारी गर्दै बसेको हुन्छ । केही समयपछि परीक्षाको परीक्षाफल प्रकाशित हुन्छ । गोरे र पुतली दुबै राम्रो अङ्क ल्याएर पास हुन्छन् । स्नातक पूरा गरेकोमा गोरे र पुतली निकै खुसी हुन्छन् । उनीहरूले स्नातकोत्तर तह सुखड मै रहेको घोडाघोडी क्याम्पसमा पढ्ने निधो गर्छन् । गोरे र पुतली स्नातक तह पास भएको केही समय पछि लोक सेवा आयोगले अधिकृतका लागि विज्ञापन गर्छ । पुतली र गोरेले पनि दिपायलबाट लोकसेवा आयोगको परीक्षा दिन्छन् । लोक सेवा आयोगले लिएको परीक्षामा गोरे सफल हुन्छ भने पुतली सफल हुन सक्दैन । लोक सेवाको परीक्षामा सफल भएपछि दुबै जना खुसी हुन्छन् । लोक सेवाले लिएका सम्पूर्ण परीक्षा पार गर्दै गोरेको पोस्टिङ जिल्ला प्रशासन कार्यालय सिलगढी, डोटीमा हुन्छ ।
जिल्ला प्रशासन कार्यालय सिलगढी, डोटीमा प्रशासकीय अधिकृतका रूपमा गोरेले आफ्नो कार्य प्रारम्भ गर्छ । गोरे जिल्लाकै स्थानीय भएकाले धेरै चिनजानका सेवाग्राहीहरू कार्यालयमा आउँन्छन् । चिनेजानेका सेवाग्राहीसँग गोरेले खुसी साटासाट गर्छ । सेवाग्राहीको काम इमानदार पूर्वक छिटो छरितो गर्छ । यसकारणले पनि गोरेलाई सेवाग्राही सबैले राम्रो मान्छन् । गोरेले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्छ । कर्तव्यनिष्ठ भएकाले कार्यालयका सबै कर्मचारीले गोरलाई राम्रो मान्छन् ।
केही सेवाग्राही अधुरा कागजात ल्याएर काम गर्न दबाव दिन्छन् । यस्तो अवस्थामा भने गोरेलाई धेरै असहज महसुस हुन्छ । सेवाग्राहीलाई कागजात मिलाउन सहजीकरण गरिदिन्छ । एकदिन अचानक कार्यालयमा चतुरे देखापर्छ । चतुरे आफ्नो नागरिकताको प्रतिलिपि लिन आएको हुन्छ । नागरिकताको प्रतिलिपि प्राप्त गर्नका लागि गर्नु पर्ने सबै काम चतुरेले गरी सकेको हुन्छ । सबै काम गरेर अन्तिममा गोरेको कोठामा चतुरे आइपुग्छ । गोरेले कागजात हेर्छ । मागेको कागजात सबै भएपछि गोरेले नागरिकतामा साइन गर्दै भन्छ । नागरिकता कसरी हराउनु भयो ? सेतीमा त मिल्काउनु भएन कतै ? गोरेको प्रश्नमा चतुरे जवाफविहिन हुन्छ । चतुरे केही नबोली निर्जीव प्राणी बनेर उभिरहन्छ ।
नागरिकताको प्रतिलिपि लिएर चतुरे जिल्ला प्रशासन कार्यालयबाट बाहिर निस्कन्छ । चतुरे कार्यालयबाट निस्किए पनि उसका मनमा अनेक प्रश्नहरू आफैसँग खडा भइरहेका हुन्छन् । बेलाबेला चतुरे नागरिकताको प्रतिलिपि हेर्छ । नागरिकताको प्रतिलिपिमा गोरेको नाम र साइन देख्छ । यसले गर्दा चतुरे आफैसँग रिस पोख्छ । विगतमा आफूले गोरेलाई गरेका गालीगलौज सम्झन्छ । आफूले गरेका गालीहरू आफैमाथि वर्षात भएर वर्षिन थाल्छन् । अनि विगतमा आफूले गल्ति गरेको महसुस गर्छ । मनमनै गोरेसँग माफि माग्छ र विगतका आफ्नै कुराले आफैमाथि रिस पोख्छ । चतुरेले मनमनै अनेक सोचिरहन्छ । चतुरेले विगतमा गोरेलाई गरेको गालीले मन र मष्तिक रन्थनिएको हुन्छ । चतुरेले गोरेलाई विगतमा गाली गर्नु, गाली गरेको गोरे ज्वाँइ हुनु र आफ्नै नागरिकतामा गाली गरेको मान्छेको साइन हुनु आदि कुराले चतुरेलाई थकथकी लाग्छ । चतुरेलाई पल मात्रै होइन, पलपल थकथकी लागिरहन्छ ।
सम्पर्क नं. ९८४८४१४००१
Saudfanendra@gmail.com
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...